५ दिनदेखि बन्द रिडी–रुद्रवेणी सडक अझै खुलेन

 असोज १४, २०७७ बुधबार १९:३४:१८ | जनार्दन घिमिरे
unn.prixa.net

फाइल फाेटाे

गुल्मी – पहिरोका कारण पाँच दिनदेखि बन्द गुल्मीको रिडी–रुद्रवेणी सडक अझै खुल्न सकेको छैन । गएकाे शुक्रबार दिउँसो रुरु क्षेत्र गाउँपालिका १ अन्तर्गत विष्णुपञ्जर नजिकै सडक माथिबाट ठूला  चट्टानसहितको पहिरो खस्दा यो सडक बन्द भएकाे थियाे ।  

बन्द सडक खुलाउन जिल्ला प्रशासन कार्यालय गुल्मीको पहलमा डाेजर र एक्स्काभेटर प्रयोग गरी पहिरो हटाउन लाग्दै गर्दा सडक माथिबाट पहिरो खस्ने क्रम नरोकिएपछि सडक खुलाउन थप समस्या भएकाे प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनुभएको छ । 

गुल्मीको सीमा नाका रिडीदेखि बाग्लुङकाे बुर्तिबाङसम्म जिल्लामा सबैभन्दा धेरै सवारी साधन सञ्चालन हुँदै आएको यो सडक बन्द भएपछि केही गाडी वैकल्पिक मार्गको खोजी गर्दै लामो र घुमाउरो बाटो आवत जावत गर्न थालेका छन् भने ठूला मालवाहक गाडी भने सदरमुकाम तम्घास हुँदै गइरहेका छन् ।

सडक माथिबाट अहिले पनि सुख्खा पहिरो खस्ने क्रम रोकिएको छैन । पहिरोले दुई सय मिटरभन्दा लामो सडक पुरिएको र सडक माथिबाट जमिन समेत फाटेका कारण जोखिम झनै बढेको स्थानीय हिमाल श्रेष्ठले बताउनुभयो । 

बन्द सडक कसरी खुलाउन सकिन्छ भन्ने विषयमा बुधबार प्रमुख जिल्ला अधिकारी शर्माको नेतृत्वमा जिल्ला प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानलगायत सुरक्षा निकायका प्रमुखहरुले स्थलगत निरीक्षण गरेका थिए । उनीहरुले सडक तत्काल खुलाउन नसकिए पनि वैकल्पिक मार्गको रुपमा रहेको रातामाटा–जौखोला हुँदै तालखोला जोड्ने सडक प्रयोग गर्न सकिने बताएका छन् । 

अन्तिम अपडेट: चैत ४, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया