सात महिनाको पर्खाइपछि घर फर्कन पाएँ

 असोज १५, २०७७ बिहिबार १५:४१:४३ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

अर्जुन पोख्रेल, सर्लाही ।

हुन त रित्तो हात घर फर्कंदा मन दुःखी हुनुपर्ने हो । तर यसपालि घर फर्कन पाउँदा असाध्यै खुशी लाग्यो । मेरो जीवनमा दुःखको एक अध्याय सकियो झैं लाग्यो ।

समय खराब नहुँदो हो त म यतिबेला घर फर्किएको सात महिना हुन्थ्यो । घरमा परिवारसँग समय बिताएर भविष्यका योजना बुन्ने समयमा म मलेसियाको एउटा कोठामा थुनिन पर्‍यो । मेरो टिकट चैत ११ गतेको थियो । तर त्यसअघि नै कोरोना महामारीका कारण मेरो टिकट रद्द भयो । उडान बन्द भयो । जहाजहरु नेपालले रोक्यो रे भनेको सुन्दा त अब घर फर्कन पाइन्न कि झैं लाग्यो ।

संसारका हरेकजसो देश लकडाउनमा गए । नेपालमा पनि अवस्था त्यही थियो । मलेसियामा पनि । कहिले नसुनेको भाइरसको त्रास यति थियो कि अर्को मानिस देख्यो कि त्यो मानिस नै भाइरस हो झैं लाग्ने । काम भइरहेको भए त सायद ती सात महिना मेरो लागि केही पनि हुने थिएन ।

मेरो जीवनका दुःखको हिसाबमा जोडिने पनि थिएनन् होला । तर ठिक्क भिसा सकिनु, करार सकिनु, घर फर्कन टिकट पनि काट्नु, अनि जहाज बन्द हुनु । कल्पना गर्नुहोस् न, मानिस कसरी बस्न सक्ला एउटै कोठाभित्र महिनौंसम्म । तर बस्नु पर्‍यो । बाध्यताले सिकाउँदो रहेछ । काम थिएन । कमाइ पनि थिएन । केही दिनमा खल्ती रित्तियो । अब के गर्ने त ? उपाय केही थिएन ।

कम्पनीभन्दा अर्को आफ्नो परदेशको ठाउँमा कोही पनि थिएन । राम्रोसँग कम्पनीसँग कुरा राख्यौं । कम्पनीले पनि खान र बस्नको चाहिँ व्यवस्था गरिदिने भयो । अब भोकै नमरिने त ढुक्क भयो । तर वनको बाघले खाओस् नखाओस् मनको बाघले खायो ।

कोरोनाको डर अनि चार जनाको दिन रातका लागि एउटा कोठाको भर । बिस्तारै तनाब हुन थाल्यो । बाहिर पनि कहाँ जानु । भिसा सकिएकाले कतै नजान कम्पनीको निर्देशन थियो । भिसा नसकिएकै साथीलाई पनि पैसा निकाल्न जाँदा प्रहरीले पक्राउ गरिदियो । त्यो घटनापछि त झन डर लाग्यो ।

घर फर्कनका लागि दूतावासमा भन्यौं । सुरुमा त फोन उठेको थियो । पछि भएपछि त न फोन उठ्यो, न हाम्रो आवाज सुनियो । केही समयपछि त चार्टर्ड उडान भयो नि । तर पनि हामीलाई चार्टर्ड उडानमार्फत पठाउन कम्पनीले अस्वीकार गर्‍यो ।

कम्पनीको एउटै भनाइ थियो, ‘पर्ख खुलेपछि पठाउँछु ।’ हाम्रो पनि पर्खाइ नेपालले जहाज खोल्ने दिनकै हुन थाल्यो । भदौं १६ गतेदेखि मलेसियाबाट नियमित उडान खुल्यो । तर कम्पनीले अझै चासो दिएन । दिनहुँ कम्पनीमा गएर घर फर्काइदिन आग्रह गर्न थाल्यौं ।

सात महिनापछि बल्ल मसहित मेरो साथीहरुको पनि जहाज चढ्ने पालो आयो । यी सात महिना कोठैमा बिताउँदा साथमा न एक पैसा बाँकी रह्यो न त वैदेशिक रोजगारीको रहर । टिकट काटेको खबर कम्पनीले दिएपछि असाध्यै खुशी लाग्यो ।

मन चङ्गा भयो । साँच्चै भन्दा त जेलमुक्त भएझैं लाग्यो । जहाज चढेर घर फर्कंदा त आकाशमा उडिरहेको पन्छीजस्तै महसुस भयो । आफूले आफूलाई हलुका पाएँ । अब त दशैँ पनि नजिकिंदै छ । घर आइपुगेको गएको शनिबार हो । वातावरण घमाइलो छ ।

घाम, पानी र हावाले दशैँ ल्याएझैं अनुभव हुन्छ । अब के गर्छुु त थाहा छैन । तर मलेसियाको जुत्ता फ्याक्ट्रीमा गरेको तीन वर्ष गरेको दुःख र सात महिना कोरोना त्रासमा एउटै कोठामा बिताउँदाको दुःख भुलेर केही समय गाउँघरमा रमाउन चाहान्छु ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया