जथाभाबी नियुक्ति : सत्ताको चाला देखेर गतिला मान्छेले आशा मारिसके

 असोज १६, २०७७ शुक्रबार ८:१६:४९ | विमल कोइराला
unn.prixa.net

बिहीबार मुख्यसचिवबाट राजीनामा दिएको दुई घन्टा पनि नबित्दै लोकदर्शन रेग्मीले बेलायतको लागि राजदूतमा सिफारिस पाउनुभयो । बिहीबार नै मन्त्रिपरिषद् बैठकले दुई पटक राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, राष्ट्र बैंकको गभर्नर, राष्ट्रियसभा सदस्य र अर्थमन्त्री भइसकेका डाक्टर युवराज खतिवडालाई अमेरिकाका लागि राजदूतमा सिफारिस गर्यो ।

देशमा अरु योग्य मान्छे नभएजस्तो एउटै मान्छेलाई पटक-पटक नियुक्त गरेको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको छ । सरकारको गुणगान गर्ने र नराम्रा कामको बचाउ गर्नेले अवसर नै अवसर पाउने तर योग्यहरु सरकारको नजरमा नपर्ने भनेर पनि बहस भइरहेको छ । यसै विषयमा पूर्व मुख्यसचिव बिमल कोइरालाको टिप्पणी 

योग्यता भन्दा बफादारीताको कदर

पछिल्ला केही वर्षमा भएका नियुक्तिमा योग्यता भन्दा बफादारिता हाबी भएको देखिन्छ । निजामती सेवामा रहँदा उसले नागरिकको लागि गरेको कामभन्दा पनि सत्तामा रहने या पहुँचवालाको लागि गरेको चाकडीका कारण उसले उच्च पदमा नियुक्ति पाएको देखिन्छ । आफ्नो कार्यकालमा जस्ले धेरै बफादारिता निभाएको छ, उसले कतै न कतै लाभको पद पाएकै छ । जस्ले सत्ताप्रति धेरै बफादारी गर्छ, त्यस्ता व्यक्तिलाई सरकारले गुमाउन चाहँदैन । 

बरु नागरिकको जीवनमा दुःख कष्ट आइपरोस्, तर सत्ताको चाकडी गर्न नछाड्ने प्रवृत्ति भएका मान्छेलाई अहिले निकै राम्रो समय हो । अरु केही योगदान नगरे पनि सत्तालाई रिझाउन सकेमा पद पाइहालिन्छ भन्ने मानसिकता धेरै उच्च पदस्थ कर्मचारीमा पलाएको देखिन्छ । निजामती सेवा बाहिरका व्यक्तिले सत्ताप्रति बफादार नहुँदा अवसर पाउँदैनन्

हामीकहाँ पूर्व प्रशासक बाहेकका व्यक्तिबाहेक अरु अब्बल छैनन्, अरुले काम नै गर्न सक्दैनन्, निजामती सेवा बाहिरका व्यक्तिले ठूला पद सम्हाल्नै सक्दैनन् जस्तो गरेर सोचिन्छ । तर प्रशासक वा पूर्व प्रशासकभन्दा बाहिरका कयौं व्यक्ति अब्बल छन् । प्रशासक र पूर्व प्रशासकले भन्दा धेरै राम्रो काम गरेर देखाउन सक्छन् । 

निजामती सेवा बाहिरका व्यक्ति योग्य भए पनि सत्ताप्रति बफादार हुन नजान्ने या बफादार हुन नचाहने कारणले गर्दा नियुक्ति पाउँदैनन् । बाहिरका योग्य मानिसलाई सरकारले चिन्दैन। 

निजामती पदमा हुँदा सत्तालाई रिझाएबापत ब्याजको रुपमा अन्य नियुक्ति हात पार्ने कर्मचारीको सामु बाहिरका व्यक्तिको केही चल्दैन । नेपालमा योग्यताले मात्रै नियुक्ति पाउन मुश्किल छ । 

पूर्व प्रशासक र निजामतीलाई नियुक्त गरेका ठाउँको नतिजा राम्रो छ त ? सरकारले पूर्व प्रशासक या निजामतीलाई  नियुक्त गर्दा उनीहरुको ज्ञान, सीप, र क्षमताको उपयोग हुँदा राम्रो नतिजा देखिने बताउँदै आएको छ, तर अहिलेसम्म कुन चाहिँ क्षेत्रमा प्रगती भएको छ । कुन चाहिँ निकाय प्रशंसायोग्य भएको छ त ?

पूर्व प्रशासकले चाह्यो भने केही राम्रा काम गर्न त सक्छ, तर उसले आफ्नो जागिरे जीवनमा जसरी कामचलाउ हिसाबले काम  गर्यो, नयाँ जिम्मेवारीलाई पनि कामचलाउ नै सम्झन्छ । नयाँ मान्छेले नियुक्ति पायो भने नयाँ विचार दिन्छ, नयाँ शैलीले काम गर्न खोज्छ । तर सरकारलाई नयाँ विचार र शैली चाहिएकै छैन । नयाँ विचार र नयाँ शैलीमा काम गर्ने व्यक्ति सरकारलाई रुच्दैन । 

नागरिकले दुःख पाएको, विकास निर्माण अलपत्र परेको, काम खर्चिलो भएको, बिचाैलियाले कब्जा जमाएको जस्ता कुरामा सरकारको पटक्कै चिन्ता छैन । सत्तालाई केवल चाकडी गर्ने र आफूलाई फाइदा पुग्ने व्यक्ति मात्रै चाहिएको छ । 

योग्य मानिसमा निराशा, व्यवस्थाप्रति सर्वसाधारणको असन्तुष्टि बढ्दो

हरेक ठाउँमा सरकारले आफ्ना मान्छे मात्रै नियुक्त गर्दा देशमा रहेका अन्य योग्य मानिसमा निराशा बढेको छ । यो देश योग्यहरुको लागि होइन भन्नेमा एउटा तप्का ढुक्क भएको देखिन्छ । यो विषय देशको लागि निकै डरलाग्दो हो । जब देशमा योग्यहरुले भविष्य देख्दैनन्, सत्ताले उनीहरुलाई गन्दैन, उनीहरुको योग्यताको कदर गर्दैन यस्तो अवस्थामा देश बन्छ भनेर आम मानिसले कसरी पत्याउँछ र ?

देश योग्यहरुले र ल्याकत भएकाहरुले सञ्चालन गर्दैनन् र उनीहरुले मौका पाउँदैनन् । ल्याकत होइन, गुलाम हुनुपर्छ । सत्ताको चाला देखेर गतिला मान्छेले आशा मारिसके  । कमजोर र सत्ताको चाकडी गर्नेहरुले अवसर पाउँछन् । 

सरकारले मप्रति बफादार बन्नेलाई अवसर दिन्छु भनिरहेको छ र बफादार हुनेहरुले अवसर पाएका पनि छन् । अब यो देशमा हामीले अवसर पाउँदैनौँ भनेर योग्य मान्छे ढुक्क भइसकेका छन् । 

नागरिकमा अहिले सरकारप्रति मात्रै होइन यो व्यवस्थाप्रति नै निराशा बढ्दो छ । सरकारप्रतिको पत्यार टुट्दै गएको छ । यो राम्रो संकेत होइन । नागरिकमा सत्ताप्रति अविश्वास बढ्दै गयो भने कुण्ठा पैदा हुन्छ र त्यो कुण्ठा विद्रोहमा पैदा भयो भने राम्रो हुँदैन । 

यो कोरोनाको सङ्क्रमणको बेला गरिब, सीमान्तकृत, जागिर गुमाएका तथा अशक्त र सहारा चाहिनेहरुलाई सरकारले भरोसा दिन सकेन । सरकार हाम्रो लागि रहेनछ, सरकार त ठूलाबडा मान्छे र आसेपासेको लागि मात्रै रहेछ भनेर उनीहरुले भनेका छन् । 

अहिले सरकारबाट बिचौलियाबाट मात्रै फाइदा लिइरहेका छन्, बिचौलियाको निर्णयमा सरकार चलिरहेको छ । सरकारलाई बिचौलिया र आसेपासले घुमाइदिएका छन् । योग्य मानिसले कसरी अवसर पाउँछन त ? यस्तै क्रम अझै लम्बिँदै गएमा सरकार त  पतन हुन्छ नै नागरिकले पनि धेरै दुःख पाउँछन् । 

नागरिक खबरदारी भएन, भएको खबरदारी सरकारले सुन्दैन

देशमा सत्ताको मनपरी चल्दा बलियो नागरिक खबरदारी हुनुपथ्र्यो,  सरकारका हरेक बेथितिमा नागरिक समाज एक मुख भएर बोल्नुपर्थ्यो । तर हाम्रो नागरिक समाज पनि विभाजित छ ।

राजनीतिक दलप्रति झुकाब हुँदा नागरिक समाज नै विभाजित छ । यसरी विभाजित भएको नागरिक समाजको आवाज ठूलो स्वरमा मुखरित हुन सक्दैन । पत्रकार जगतबाट, नागरिक समाजबाट केही आवाज त उठ्ने गरेका छन्, तर सरकारले सुन्दै सुन्दैन । 

सरकारले प्रत्येक खबरदारीलाई गालीको रुपमा लिन्छ । हामीबाट भएका गल्तीलाई सुधार्नुपर्छ भनेर सत्ताले कहिल्यै पनि सोचेको पाइएन । बुझ पचाउनेको अघि कसैको केही लाग्दैन । 

(पूर्व मुख्य सचिव बिमल कोइरालासँग अर्जुन पोख्रेलले गरेको कुराकानीमा आधारित)

अन्तिम अपडेट: कात्तिक ३, २०७७

विमल कोइराला

विमल कोइराला पूर्व मुख्य सचिव एवं कवि हुनुहुन्छ ।

1 Comments

  • हरिचन्द्र श्रेष्ठ

    Oct. 2, 2020, 1:10 p.m.

    यसबाट देशमा भ्रष्टाचार मौलाउँदैछ भनेर सबैले बुझ्नु जरुरी छ। अनि यो भ्रष्ट पार्टीहरूलाई छोडेर अहिलेसम्म सरकारमा नआएको पार्टीलाई जिताउन आबस्यक छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया