बाल विवाह बदर र मनोवैज्ञानिक पक्ष

 असोज १६, २०७७ शुक्रबार १३:४०:३३ | मधुविलास खनाल
unn.prixa.net

नेपालमा अहिले पनि २० वर्ष मुनिका केटाकेटीले बिहे गरिरहेका छन् । हिजोको समयमा अभिभावकहरुले बिहे गराइदिने चलन थियो भने अहिले केटाकेटीहरु आफैं भागेर बिहे गर्ने गरेका छन् । बालविवाहले बालबालिकाको समग्र  विकासमा नितान्त नकारात्मक असर गर्छ ।

यसैमा पनि मनोवैज्ञानिक रुपमा अझै बढी असर गर्छ । सामाजिक सञ्जालमा समय बिताउँदा बिताउँदै वा विद्यालयमा पढ्दापढ्दै साथीहरुसँग मित्रता बढ्दै जाँदा थाहा नपाइकनै मित्रता विवाहमा परिणत हुन सक्छ ।  उनीहरुले विवाह भनेको के हो, कति वर्षमा गर्नुपर्छ, मैले चाँडै विवाह गर्यो भने मेरो जीवन के हुन्छ, मेरो स्वास्थ्यमा कस्तो असर पर्छ भन्ने कुरा थाहा पाउँदैनन् । 

बालविवाह बदरले यस्तो मानसिक असर पर्छ

कतिपय ठाउँमा बालबालिकाले विवाह गरेर अभिभावकले फर्काउने र अभिभावकले विवाह गरेर बालबालिकाले नमान्ने खालका घटनाहरु पनि देखिन्छ । यसले बालबालिकालाई मानसिक समस्यातिर धकेल्न सक्छ । 
उमेर नपुगेर बिहे गर्यो र उनीहरुलाई तुरुन्तै परिवार, प्रहरी गएर फर्काइयो भने अबको बाँकी जीवन भनेको बेकार छ, विवाह गर्नु वास्तवमा घातक रहेछ, अब मेरो वैवाहिक जीवन राम्रो हुँदैन होला भन्ने खालको निराशाभाव पैदा गर्छ । 

मित्रता भनेको, विवाह भनेको पीडा दिने विषय हो भनेर उनीहरुले बुझन सक्छन् । कतिपय किशोरीहरुलाई पुरुष भनेको हिंस्रक हुन्छ, यसले नराम्रो व्यवहार गर्छ, पुरुषबाट सुरक्षित हुन सक्दिनँ भन्ने मनोविज्ञान हुन्छ । 

यस्तै कतिपय किशोरहरुमा महिलाहरुप्रति हेर्ने दृष्टिकोण, घरका अभिभावकहरुमा पनि विषेशगरी आमा, महिला अभिभावकहरुलाई हेर्ने दृष्टिकोणमा एकखालको नकारात्मक सोचाइ विकसित भएर जान सक्छ । 

दीर्घकालीन असर

बाल विवाह बदरले बालबालिकाको जीवनमा दीर्घकालिन असर पर्ने सम्भावना धेरै रहन्छ । उनीहरुले जीवनलाई हेर्ने दृष्टिकोण, वैवाहिक जीवनलाई हेर्ने दृष्टिकोण र वैवाहिक जीवनभित्र सुख देख्न नसक्ने खालको असर पर्छ । सानैमा बिहे गर्दा सन्तान छिटो जन्मन्छ, पढाइ रोकिन्छ, आर्थिक रुपमा असर पर्छ भन्ने उनीहरुले बुझेकै हुदैनन् । विवाहपछि श्रीमान श्रीमतीबीच द्वन्द्व, सम्बन्ध बिच्छेद, दोस्रो विवाहजस्ता समस्या अहिले पनि बाल विवाहले निम्त्याईरहेको छ । 

यस्तो अवस्थामा के गर्ने त ?

अहिले नेपालको कानुनले पनि २० वर्षभन्दा मुनिको उमेरमा विवाह गरे बदर गर भन्यो । २० वर्ष मुनिको विवाह विकासको दृष्टिकोणबाट, मनोवैज्ञानिक दृष्टिकोणबाट सबै किसिमबाट यो सही हैन भन्ने भयो । कुरा पनि ठिकै हो । अब यस्तो अवस्थामा केटाकेटीले उमेर नपुग्दै बिहे गर्यो भने यस्तो बेलामा के गर्ने त भन्दा सबैभन्दा पहिले बालबालिकालाई मनोपरामर्श दिनुपर्छ ।

विवाह गरिसकेकालाई अलगअलग राखेर परामर्श दिनुपर्छ । बाल विवाहले उनीहरुको दाम्पत्य जीवनमा आउन सक्ने अप्ठ्यारा र त्यसलाई समाधान गर्नसक्ने सम्भावना, सिपको बारेमा पनि छलफल गर्नु पर्छ । १५, १६ वर्षको उमेरमा के राम्रो, के नराम्रो भनेर उनीहरुले बुझिसकेका हुँदैनन् । यस्तो बेलामा कानुनको पछाडि लागेर, हाम्रो संस्कारको पछाडि लागेर थाहै नपाएर गरेका बालविवाहलाई जबरजस्ती छुट्याउनु हुँदैन ।

कानुनको बारेमा बुझाउनुपर्छ । हामीले यति गरिसकेपछि फेरि दुवैजनालाई सँगै राखेर  उनीहरुको जीवनको बारेमा छलफल गर्नुपर्छ । यति गरिसकेपछि मात्र केटाकेटीलाई छुट्याउनुपर्छ । यति गर्दा पनि उनीहरु छुट्टिन मानेनन् भने उमेर पुगेपछि त्यही केटासँग वा त्यही केटीसँग बिहे गर्ने भन्ने सहमति अनुसार उनीहरुको सम्बन्ध मित्रताको रुपमा कन्भर्ट गरी राख्न सकिन्छ । र उमेर पुगेपछि उनीहरुले विवाह गर्न सक्छन् भन्ने वातावरण सिर्जना गरी केटाकेटी दुवैलाई सहमति गराउन सकिन्छ । 

प्रेममा असफल भएकै कारणबाट बालबालिकाहरुले आत्महत्या गरेको, डिप्रेसनमा गएका घटनाहरु धेरै छन् । यो दुर्घटनाबाट बचाउनको लागि बालबालिकाहरुलाई काउन्सिलिङ गर्नु आवश्यक छ ।

परिवारको भूमिका

राज्यको आआफ्नो नियम र कानुनहरु हुन्छन् । हाम्रो देशको सन्दर्भमा २० वर्ष बिहे गर्ने उमेर उपयुक्त नै हो । पहिलेका बालबालिकाको किशोरवास्थामा  प्रवेश गर्ने उमेर र अहिलेका बालबालिकाको उमेरमा फरक त देखिन्छ । किनभने अहिलेका बालबालिकामा छिटो वृद्वि विकास भएको पाइन्छ । 

२० वर्ष मुनिकोे उमेर भनेको किशोर अवास्था पार गरिसकेको अवस्था हैन । यो बेला दिमागको विकास पनि  राम्रोसँग भइसकेको हुँदैन । व्यवहारिक रुपमा काँचै हुन्छन् । 

अहिलेको प्रविधिले बालबालिकामा जिज्ञासा बढाइरहेको छ । यो स्वभाविक रुपमा उमेरगत विशेषता पनि हो । किनभने यो उमेरमा बालबालिकाहरुले जीवनलाई गुलाबी आँखाबाट हेर्छन् । किशोर अवस्थामा बिपरीत लिङ्गप्रतिको आकर्षण र जिज्ञासा धेरै हुन्छ । 

यो जिज्ञासालाई स्वस्थ तरिकाबाट कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरो हाम्रो परिवार, समाज, विद्यालयले सिकाउन सकेको छैन । अभिभावक भनेका बालबालिकाहरुको साथी पनि हुन् । विवाह भनेको के हो, वैवाहिक जीवन कसरी बिताउन सकिन्छ, हाम्रो जीवन कसरी बितिरहेको छ, यसमा कस्तो समस्या आउँछ लगायतका सबै कुरा अभिभावकले छोराछोरीसँग गर्नुपर्छ । छोराछोरीका मनका कुरा पनि सुनिदिनुपर्छ । 

अर्को कुरा छोराछोरी कहाँ गइरहेका छन्, कस्तो साथी बनाइरहेका छन्, उनीहरुले सामाजिक सञ्जालमा समय बिताइराख्दा कस्ता विषयवस्तु हेरिरहेका छन् भन्ने कुराको निगरानी अभिभावकले गर्नुपर्छ ।अभिभावकले छोराछोरीलाई मायासँगै उनीहरुका लागि समय पनि दिनुपर्छ । बालबालिकाले कुनै नराम्रो काम गरे भने पनि कतिपय गल्तीलाई माफी पनि अभिभावकले दिन सक्नुपर्छ । 

मनोशिक्षा आवश्यक

हाम्रो राज्यले बालविवाह कानुनी रुपमा बर्जित छ मात्र भन्यो । तर, त्यसका लागि के गर्ने भन्ने काम गरेन । कानुनी सचेतना पुगेको छैन । अभिभावकलाई मनोशिक्षा पनि पुगेन र बालबालिकालाई पनि स्वास्थ्य सचेतनाको बारेमा बुझाउन सकिएको छैन । 

राज्यले किशोरकिशोरीलाई नियमित रुपमा स्वास्थय सचेतना दिनुपर्छ । किशोरावस्थामा कस्तो परिवर्तन आउँछ, माया भनेको के हो, मित्रता भनेको के हो भन्नेबारे विद्यालयमा सिकाउनु आवश्यक छ ।

विवाह भनेको के हो, कुन उमेरमा विवाह गर्नुपर्छ, बालविवाह भनेको के हो, किन गर्नु हुँदैन, सन्तान जन्माउनु भनेको के हो, गर्भपतन भनेको के हो, गर्भपतनले स्वास्थ्यमा कस्तो असर पर्छ, कुलत भनेको के हो, यसबाट कसरी बच्ने लगायतका कुरा विद्यालय शिक्षामार्फत लैजानुपर्छ । अनि सबैभन्दा महत्वपूर्ण कुरा अभिभावकलाई मनोशिक्षा दिनुपर्छ । कानुनमात्र बनाएर यस्ता समस्याको न्यूनीकरण हुन सक्दैन ।  

(मनाेपरामर्शदाता तथा बाल मनाेविद मधुविलास खनालसँगकाे कुराकानीमा आधारित)

कार्यक्रम खुल्ला धरती, खुल्ला आकाशबाट 

अन्तिम अपडेट: कात्तिक १३, २०७७

मधुविलास खनाल

खनाल मनाेपरामर्शदाता तथा वाल मनाेविद हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया