पहिरो पीडितलाई मन्त्री अर्यालको सहयोग, माइती गाउँलाई १० लाख २० हजार प्रदान

 असोज १७, २०७७ शनिबार १९:२७:५८ | राधेश्याम खतिवडा
unn.prixa.net

स्याङ्जा - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले केहीदिन अघि आएको अविरल वर्षाका कारण आएको पहिरोमा परि मृत्यु भएका मृतक तथा घाइतेको परिवारलाई राहत वितरण गर्नुभएको छ । 

मन्त्री अर्यालले गएकाे असोज ८ गतेको पहिरोमा परि वालिङ नगरपालिका-१४ मा मृत्यु भएका परिवारलाई शुक्रबार राहत प्रदान गर्नुभएको हो । राहत हस्तान्तरण गर्दै मन्त्री अर्यालले स्वर्गीय माया नेपालीका छोरा भोजराज र छोरी मनिषाले आफ्ना अभिभावक गुमाउनुपरेको पीडा आफूले महशुस गरेको बताउनुभयो । 

मृतकका छोरा र छोरीको अभिभावक सरकार रहेको बताउँदै मन्त्री अर्यालले मनिषाको शिक्षाका लागि आफूले व्यवस्था गर्ने र अभिभावक समेत आफू रहेको बताउनुभयो । पहिरो पीडित भोजराजको बस्ने घर नै पहिरोले पुरेपछि अहिले नजिकैको विद्यालयमा काजक्रियामा रहेका छन् । पीडितको घर सरकारले बनाइदिने भन्दै मन्त्री अर्यालले पहिरो पीडित र विस्थापित परिवारको आवास निर्माणका लागि सरकारले व्यवस्था गर्ने बताउनुभयो । 

अर्यालको माइती गाउँ वालिङ नगरपालिका-१४ तमादीमै पुगेर १० लाख २० हजार प्रदान गर्नुभएको हो । राहत रकम नेपाल सरकारकोतर्फबाट ७ लाख र मन्त्रालयको पहलमा ३ लाख रकम मन्त्रीले प्रदान गर्नु भएको हो । असोज ८ गते घरमाथिबाट आएको पहिरोमा पुरिएर माया नेपालीको ८ जना परिवार र बहिनी उमाकला गरी ९ जनाको मृत्यु भएको थियो । 

यसैगरी मन्त्री अर्यालले कालीगण्डकी गाउँपालिका-४ मा गएकाे असोज ८ गते गौतमडाँडा र असार ३० गते खहरेमा पहिरोले पुरिएर मृत्यु भएका परिवारलाई राहत प्रदान गर्नुभएको छ । पहिरो पीडित परिवारको घरमै पुगेर मन्त्री अर्यालले राहत-प्रदान गर्नुभएको हो । 

मन्त्री अर्यालले असोज ८ गते मृत्यु भएका १७ वर्षीय बिष्णु दमैको परिवालाई केन्द्र सरकारकोतर्फबाट २ लाख, प्रदेश सरकारको तर्फबाट ५० हजार र सहकारीको तर्फबाट ४० हजार राहत प्रदान गर्नुभएको हो । यसैगरी उहाँले पहिरोले घरमा क्षति पुगेको औमायाँ नेपालीलाई २० हजार र अन्य तीन परिवारलाई ५/५ हजारका दरले सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । 

मन्त्री अर्यालले यसैगरी गएकाे असार ३० गते पहिरोमा परेर मृत्यु भएका चार जनाका परिवारलाई सहकारी सङ्घका तर्फबाट २०/२० हजार र विस्थापित चार परिवारलाई १५/१५ हजार राहत प्रदान गर्नुभएको हो । 

राहत प्रदान गर्दै मन्त्री अर्यालले मृतक परिवार र विस्थापित परिवारलाई माया गर्दै आवश्यक सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । पहिरोले प्रभावित परिवारको घर निर्माण गर्न सरकार इँटा बन्ने बताउँदै मन्त्री अर्यालले सरकार सहयोग गर्न कुनै कञ्जुस्याइँ नगर्ने बताउनुभयो ।

 

अन्तिम अपडेट: बैशाख ३, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया