व्यावसायिक कृषकलाई प्रोत्साहित गर्न इन्द्रावती गाउँपालिकाकाे पशु बीमा कार्यक्रम

 असोज १८, २०७७ आइतबार २१:९:११ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – इन्द्रावती गाउँपालिकाले व्यावसायिक कृषकहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले पशुधन बीमा कार्यक्रम सुरु गरेको छ ।  

गाउँपालिकाले बीमा ऐन २०४९ बमोजिम कारोबार गर्न इजाजत प्राप्त संस्थासँग गाउँपालिकामा पालिएका पशु चौपायाहरुको बीमा गरिने भएको हो । बीमा शुल्क दर, बीमाका सर्तहरु, बीमा समितिको निर्देशिका तथा परिपत्र बमोजिम रहेर सम्झौता भएको छ ।  

गाउँपालिकाभित्र पशुधन बीमा गर्न इच्छुक पशुधनीहरुले लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत पशु चौपायको बीमा गर्न सकिने गाउँपालिकाले जनाएको छ । 
यसरी बीमा गर्दा बीमा शुल्कमा अनुदानको व्यवस्थापछि हुन आउने ५० प्रतिशत रकम गाउँपालिकाले अनुदानको रुपमा उपलब्ध गराउने छ भने बाँकी ५० प्रतिशत सम्बन्धित पशुधनीले नै व्यहोर्नुपर्ने छ । 

पशु बीमा कार्यक्रमको लागि इन्द्रावती गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७/०७८ मा १० लाख ५० हजार रुपैयाँ रकम विनियोजन गरेको छ । गाउँपालिकाभित्र चालु आवमा झण्डै १५ सय वटा गाईभैँसी लगायतका ठूला पशुहरु र ३५ सय वटा बाख्रालगायतका साना पशु चौपायाहरुको बीमा गर्न सकिने गाउँपालिकाले बताएको छ । यस बीमा कार्यक्रमबाट गाउँपालिकाभित्र झण्डै १७ करोड रुपैयाँ बराबरको पशुधनको विपद्बाट हुन आउने क्षतिको सुरक्षण हुने गाउँपालिकाले अनुमान गरेको छ । यो बीमा कार्यक्रम एक वर्षको लागी मान्य रहनेछ । 

आइतबार विश्व पशु दिवसको अवसरमा गाँउपालिका अध्यक्ष वंशलाल तामाङको अध्यक्षतामा पालिकाको वडा नम्बर १२ मा भएको उद्घाटन कार्यक्रममा पशुपालक कृषकहरुले गाउँपालिकाको यो कामले पशुपालन कार्यमा थप हौसला थपेको बताएका छन् ।   

इन्द्रावती गाँउपालिका कृषि उपज उत्पादनमा प्रचुर सम्भावना भएकाले बीमा कार्यक्रमले व्यावसायिक रुपमा कृषि कर्म गरिरहेका र पशुपालनमा रहेका किसानहरुलाई ढुक्क हुने वातावरण सिर्जना गर्ने गाँउपालिका अध्यक्ष तथा गाँउपालिका राष्ट्रिय महासङ्घका महासचिव तामाङले बताउनुभयो ।    

अन्तिम अपडेट: चैत १६, २०८०

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया