चौध दिने एकान्तवास, सङ्क्रमितप्रति सामाजिक दृष्टिकोण र मेरो अनुभव

 असोज १९, २०७७ सोमबार १५:५१:३७ | गणेश वली
unn.prixa.net

गएको वर्षको डिसेम्बर महिनामा चीनको वुहान शहरबाट फैलिएकाे काेराेना भाइरसकाे सङ्क्रमण विश्वका विभिन्न शक्तिशाली देश हुँदै नेपालमा प्रवेश गर्‍यो । नेपालमा सङ्क्रमित देखिएसँगै २०७६ चैत ११ गतेदेखि सरकारले लकडाउन निर्णय गरेसँगै चैत ९ गते काठमाण्डौबाट म सुर्खेत फर्किएँ ।

काठमाण्डौमा बसेर एल.एल.एमको अध्ययन तथा अधिवक्ता साथीहरुसँग सहकार्य गरी 'ल फर्म' सञ्चालन गरेका थियौँ । योबाट बचेको समय अनलाइन (सेरोफेरो डटकम) लाई दिन्थेँ । यी सबै कामलाई थाती राखेर कोरोना सङ्क्रमणबाट बच्नको लागि वीरेन्द्रनगर सुर्खेत फर्किएको थिएँ । पत्रकारिता पेसामा आबद्ध भएका कारण लकडाउनको समयमा सामान्य रिपोर्टिङ बाहेक पूरा समय घर परिवारसँग बिताइरहेको थिएँ । लकडाउनको समयमा खेती गर्न परिवारलाई सघाउँदै र अध्ययनलाई प्राथमिकता दिँदै झण्डै पाँच महिना बिताएँ । 

भदौ १६ गते एउटा पारिवारिक बसाइ र छलफलको क्रममा हामी केही आफन्तहरु सँगै थियौँ । केही दिनपछि एक जना आफन्तलाई कोरोना पोजेटिभ भएपछि कन्ट्याक्ट ट्रेसिङमा भदौ २७ गते पीसीआर परीक्षण गरेँ । मसँगै मेराे जीवनसाथी र फुपाजुको समेत पीसीआर परीक्षण गरियो । योभन्दा पहिले मेरो दुई पटककाे पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो । भौतिक दुरी कायम गरेको र बाहिर निस्किँदा सचेतता अपनाउने कारणले रिपोर्ट नेगेटिभ आउनेमा म ढुक्क थिएँ । 

भदौ २९ गते फुपाजु र म भेरी नदीको पुलसम्म घुम्न निस्किएका थियौँ । उहाँको कार मैले चलाएको थिएँ । भेरी पुलबाट फर्किएर वीरेन्द्रनगर प्रवेश गर्नेबित्तिकै वीरेन्द्रनगर नगरपालिका सुर्खेतका स्वास्थ्य शाखाका भूपेन्द्र गिरी सरको फोन आयो । उहाँले मेरो कोरोना पोजेटिभ भएको र अन्य दुई जनाको नेगेटिभ रिपोर्ट आएको जानकारी दिनुभयो ।

मैले गाडी रोकेँ, शरीर काँप्न थाल्यो, शरीर पसिनाले पूरै भिज्यो । एकछिन अघिसम्म रमाइला कुरा गर्दै यात्रा गरिरहेका हामीबीच एक्कासी सन्नाटा छायो । शारीरिक र मानसिक रुपमा आफूलाई कमजोर महसुस गरेँ । मलाई फुपाजुले धेरै सम्झाउनुभयो, घरसम्म छोड्नुभयो । 

होम आइसोलेशनको बसाइ, एक्लो महसुस 

मलाई कोरोना पोजिटिभ भएको जानकारी मलाई र फुपाजुलाई मात्रै थियो । मेरो छोरा, छोरी र माइली बुहारी केही दिनदेखि माइतीमा थिए । श्रीमती अफिस गएकी थिइन् । मैले श्रीमतीलाई तत्काल घर आउन भनेँ तर मलाई पोजिटिभ भएको कुरा सुनाउन सकिनँ । श्रीमती घरमा आएपछि फुपाजु र तिमीलाई नेगेटिभ भएछ भनेर सुनाएँ । उनले आत्तिएर तपाईँको के भो भनेर सोधिन् । म जवाफ नदिएर मौन बसेँ, उनले कुरो बुझिन् ।

उनी आत्तिएर, यो कसरी सम्भव भयो, सधै सँगै बस्ने एक जनालाई पोजिटिभ अर्कोलाई नेगेटिभ कसरी सम्भव हुन्छ यस्तै–यस्तै । मेरो लागि बस्ने छुट्टै कोठाको व्यवस्था गर्न अनुरोध गरेँ र आवश्यक सामग्रीहरु र कोठाको व्यवस्थापनसँगै म एकान्तवास अर्थात् होम आइसोलेशनमा बसेँ । 

आइसोलशनमा बस्दा धेरै समय मैले महाभारतका सिरियल नियमित रुपमा हेर्न थालेँ । कोरोना पोजिटिभ भएको जानकारी फेसबुकमार्फत सार्वजनिक गर्ने निर्णय गरेँ र पछिल्लो समयमा मेरो नजिक रहनुभएका आफन्त तथा साथीहरुलाई पीसीआर जाँच गर्न अनुरोध समेत गरेँ । यस समयमा धेरै आफन्त, नेता, कर्णाली प्रदेश सभाका सभामुख, कृषिमन्त्री, सामाजिक विकासमन्त्री, सांसद, पत्रकार, विभिन्न शुभचिन्तकहरुको लगातार फोन आउने गर्दथ्यो । सबैले स्वास्थ्य लाभको कामनासहित हालखबर बुझ्ने गर्नुभयो ।

कोरोना पोजिटिभ भएका साथीहरुसँग समेत निरन्तर अनुभव आदान–प्रदान र कुराकानी हुँदा आइसोलेशनको बसाए खासै सकसपूर्ण भएन । दिनभर घरमा एक्लै हुन्थेँ, जीवनसाथीले अफिस जानुभन्दा अगाडि मेरो लागि दिउँसोको खाजा र बेसार, गुर्जो, अदुवा र तुलसीसहितको तातो पानी तयार गरेर राखिदिएकी हुन्थिन् । बीचबीचमा फोन गरेर खाजा, पानी खाए/नखाएको यकिन गरिरहन्थिन् । एकान्तवासमा बस्दा मनमा धेरै नकारात्मक कुराहरुले डेरा जमाउने र मन अस्थिर हुँदोरहेछ ।

सामाजिक सञ्जालमा आएका समाचार र सामग्रीहरुले मनोवैज्ञानिक रुपमा मलाई असर पारेको भान हुन्थ्यो तर म सम्हालिन्थेँ । कोरोनाका कारण ज्यान गुमाएका समाचारले यो एकान्तवासको बसाइमा ठूलो त्रास उत्पन्न गर्ने रहेछ । तर त्यही सामाजिक सञ्जालमा आएका सकारात्मक र प्रेरणादायी सामग्रीले आत्मबलसमेत बढ्थ्यो ।

एकान्तवासको क्रममा आफन्त, हितैषी मित्र र आफूले नजिक ठानेका व्यक्तिको सहयोग र सद्भावको अपेक्षा धेरै नै हुनेरहेछ । यो समयमा आफू आबद्ध संस्था र त्यसका पदाधिकारीहरुको सद्भाव र हौसलाको अपेक्षा रहनु अस्वभाविक होइन जस्तो मलाई लाग्थ्यो ।

मेरो जीवनकाे सुरुवाती समयदेखि म सामाजिक क्षेत्रमा विभिन्न परियोजनामा आबद्ध भएर काम गरेसँगै रेडियोमा आबद्ध भएर झण्डै १३ वर्ष काम गरेँ । यस समयमा पनि धेरै साथीहरु कमाउने अवसर मिल्यो । पछिल्लो समयमा ल फर्म सञ्चालन गरी वकालत पेसालाई अगाडि बढाइरहँदा धेरै वरिष्ठ अधिवक्ता दाइ, दिदी र अधिवक्ताहरुसँग नजिकको सम्बन्ध र सहकार्य भयो । कोरोना सङ्क्रमणको समयमा आफूले काम गरेका तीन वटा क्षेत्रमध्ये सबैभन्दा धेरै पत्रकार साथीहरुबाट निरन्तर हौसला पाएँ । विभिन्न परियोजना र संस्थामा काम गर्दाका केही कर्मचारी र शुभचिन्तकहरुले पनि सम्झिनुभयो । तर पछिल्लो समयमा म सक्रिय वकालत पेसा र म आबद्ध बार एकाइका पदाधिकारी र साथीहरुले यस समयमा नसम्झिँदा खल्लो महसुस भयो ।

जीवन भोगाइ र अनुभवहरु के ठूला मान्छेमा मात्र हुन्छन् ?

मैले कोरोना भाइरसबाट सङ्क्रमित नेपालका ठूला नेता, उद्योगपति र कर्मचारीका कुरा पनि सुन्ने र उनीहरुलाई पछ्याउँदै ठूला मिडियाहरुले प्रकाशन गरेका समाचारहरु पढ्थेँ । व्यवसायी विनोद चौधरी कोरोनामुक्त भएपछि आफ्नो फेसबुकमार्फत आफ्नो अनुभव सुनाउनुभएको थियो । उहाँले कडा स्वास्थ्य निगरानीका साथ कोरोनालाई परास्त गरेको मैले बुझेँ । नेपालको ठूलो अस्पताल नर्भिकबाट एउटा स्वास्थ्य टिम उहाँको सेवामा खटिएको उहाँले जानकारी दिनुभयो । साथै उहाँले आत्मबलले नै कोरोनालाई परास्त गर्न सकिने सन्देशले मलाई हौसला समेत प्रदान गर्‍यो ।

यसैगरी क्याप्टेन विजय लामाले समेत स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा कोरोनालाई परास्त गर्नुभयो । तर देशभर मजस्ता हजारौँ नागरिकहरु जसले सामान्य रुघाखोकी, छाती दुख्ने समस्या, गन्ध र स्वाद थाहा नहुने लक्षण हुँदाहुँदै पनि बेसार, गुर्जो, र अदुवा पानीको भरमा होम आइसोलेशनमा कोरोनासँग सङ्घर्ष गरिरहेका छन् । कतिपय नागरिकहरु पालिकाले निर्माण गरेका आइसोलेशनमा सादा दाल, भात र तातो पानीको भरमा कोरोनालाई जित्ने गर्छन् ।

कडा स्वास्थ्य निगरानीमा भएका सङ्क्रमितहरुले कोरोनालाई सामान्य नसम्झिनुहोस् भनेर डर देखाइरहँदा घरमा बसेर होस् वा टिनको तातो छाप्रोमुनि तातोपानी र बेसार खाएर कोरोनासँग लडिरहेकाहरुको अनुभव फरक छ । उनीहरु आत्मबल र आत्मविश्वासले कोरोनालाई परास्त गरिरहेका छन् ।

आइसोलेशनको ११ औँ दिनमा मजस्ता मध्यम र सामान्य वर्गीय कोरोना सङ्क्रमितहरुको आत्मबल बढाउनुपर्छ भनेर मैले झण्डै २० मिनेटको भिडियो रेकर्ड गरेर सामाजिक सञ्जालमा पोस्ट गरेँ । हामी स्वास्थ्यकर्मीको निगरानीमा नभए पनि हल्का लक्षण देखिँदा के–कस्ता जीवनशैली अपनाउनेबारे जानकारी पाऊन् भन्ने त्यो भिडियोको उद्देश्य थियो । जसबारे धेरै साथीहरुले सकारात्मक प्रतिक्रिया देखाउनुभएको थियो ।

होम आइसोलेशनमा कस्तो जीवनशैली अपनाउने ?

कोरोना सङ्क्रमणपछि समाज, सङ्क्रमित, परिवार सबैमा त्रास उत्पन्न हुने रहेछ । समाजमा फलानालाई कोरोना भयो रे । परिवारको सदस्यहरुलाई कार्यालय र बाटोमा हिँड्दासमेत फरक सामाजिक व्यवहारको सिकार हुनुपर्ने अवस्था छ । मानसिक र शारीरिक रुपमा कमजोर सङ्क्रमितप्रति सामाजिक व्यवहार र बुझाइले थप पीडा थप्ने रहेछ ।

मेरो जीवनसाथीलाई कार्यालय तथा पसलमा सामान किन्न जाँदा समेत मलाई नेगेटिभ छ भन्दै हिँड्नुपर्ने र जवाफ दिँदै हिँड्दा उनले समेत मानसिक पीडा सहेको मैले महसुस गरेँ । यो भाइरस कसैले चाहेर हुने हैन र यो दैनिक जीवनशैली अपनाउने क्रममा आकस्मिक रुपमा देखा पर्ने गर्छ भन्ने सचेतना अभिवृद्धि गर्न आवश्यक छ । यसैगरी एउटा तप्का यो रोग केही पनि होइन भन्ने बुझाइबाट अगाडि बढेको छ । यो बुझाइ पनि परिवार, छिमेकी र समाजको लागि घातक हुन सक्छ । यसमा थप सजगता अपनाउन आवश्यक छ । 

कोरोना भाइरसको सङ्क्रमण भएपछि सबैभन्दा पहिले उच्च मनोबल राख्न आवश्यक छ । शारीरिक रुपमा समस्या हुने सङ्क्रमितहरु नियमित स्वास्थ्यकर्मीको निरन्तर सम्पर्कमा रहने र अस्पताल जाँदा राम्रो हुन्छ । सामान्य वा कमभन्दा कम लक्षण देखा परेका सङ्क्रमितहरुले उच्च मनोबल राखी होम आइसोलेशन वा सरकारले तयार गरेका आइसोलेशनमा बसी तातो पानी, बेसार, गुर्जो, अदुवा, तुलसी, अलैँची जस्ता सहजै पाउने जडीबुटीको प्रयोग गर्ने, बाफ लिने र नियमित व्यायाम गरेमा यसलाई सजिलै परास्त गर्न सकिन्छ । 

सम्भव भएसम्म होम आइसोलेशनको बसाइ बिरामीको लागि उपयुक्त हुने मेरो अनुभव र सुझाव छ । जसले परिवारबाट टाढा छैन भन्ने भान हुन्छ र मनोबल पनि बढ्ने हुन्छ । यो समयमा आफन्त र शुभचिन्तकको फोन र प्रत्यक्ष रुपमा आएर दिने हौसलाले सबैभन्दा धेरै औषधिको रुपमा काम गर्ने रहेछ ।

आइसोलेशनमा बस्दा मनोरञ्जनात्मक गीत सुन्ने, चलचित्र हेर्ने, आध्यात्मिक भिडियो, जीवनाेपयोगी सीप जस्ता सामग्रीले थप आत्मबल वृद्धि गर्छ । यसको साथै नियमित बिहान व्यायाम गर्ने, बिहानको घाम ताप्ने जस्ता क्रियाकलाप गर्दा शरीरमा स्फूर्ति आउँछ । कसैले पनि कोरोना सङ्क्रमणलाई हल्का रुपमा लिन हुँदैन भन्ने मेरो सुझाव छ । 

अन्तिम अपडेट: चैत २८, २०८०

गणेश वली

गणेश वली अधिवक्ता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया