बाइक सडकमा, परिचय पत्र भिरमा, मान्छे अझै सम्पर्कविहीन

 असोज २१, २०७७ बुधबार १५:४६:८ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा बेवारिसे अवस्थामा मोटरसाइकल, भिरमा चप्पलसँगै परिचयपत्र फेला परेका सर्लाहीका उत्तम प्रसाईँको मोबाइल नारायणी नदी किनारमा फेला परेको छ । मोबाइलसँगै बैंकको चेक र मोटरसाइकलको कागजपत्र भेटिए पनि प्रसाईँको भने अझैसम्म पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

गएको सोमबार सडक खण्डमा पर्ने ३ नम्बर पुल नजिकै सडकमा बेवारिसे अवस्थामा मोटरसाइकल भेटिएसँगै खोजी गर्ने क्रममा सडकभन्दा २० मिटर तल भिरमा उहाँको परिचयपत्र भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

प्रहरीले खोजी गर्ने क्रममा वेबारिसे अवस्थामा मोटरसाइकल छोडिएको ठाउँबाट तल नारायणी नदी किनारमा प्रसाईँले प्रयोग गर्ने मोबाइल भेटिएको उहाँले बताउनुभयो । प्रसाईँको खोजी कार्य तीव्र पारिएको बताउँदै प्रवक्ता थापाले सडक खण्डको क्षेत्र, नदी किनार र आसपासका बजार क्षेत्रका होटलमा समेत खोजी भइरहेको जानकारी दिनुभयो ।

सर्लाहीको हरिपुर नगरपालिका १ हजार बिघाहा बस्ने प्रसाईँको नाममा सूचना विभागले जारी गरेको प्रेस प्रतिनिधि परिचयपत्र फेला परेको छ । आफ्नी बहिनीसँगै काठमाण्डौमा बस्दै आउनुभएका प्रसाईँ लकडाउनको समयमा सर्लाही जानुभएको थियो । गएको असारमा सर्लाहीबाट काठमाण्डौ गएर एक्लै बस्दै आउनुभएका प्रसाईँ पछिल्लो समय कपडा डिजाइनको काममा आबद्ध भएको पाइएको प्रहरीले बताएको छ ।

हराइरहेका प्रसाईँका आफन्त खोजीका लागि चितवन आएका छन् । चितवनको इच्छाकामना गाउँपालिका ५ मा पर्ने त्यो ठाउँमा र राजमार्गमा रहेका सीसी टिभीको आधारमा पनि प्रसाईँको खोजी भइरहेको प्रहरीले बताएको छ ।

सडक खण्डमा पर्ने ३ नम्बर पुल नजिकै सडकमा बेवारिसे अवस्थामा मोटरसाइकल भेटिएको थियो । सोमबार बिहान ९ः३० बजेको समयमा सडकको छेउमा राेकी राखिएको बा ७५ प ५१२९ नम्बरको डिस्कभर मोटरसाइकल भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

सडक खण्डमा भेटिएको मोटरसाइकल भएको ठाउँबाट २० मिटर तल भिरमा कालो रङ्गको चप्पल र उत्तम प्रसाईँको नाममा सर्लाही युग व्यथा साप्ताहिक लेखिएको परिचय पत्र फेला परेको हो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया