'जिन इडिटिङ' विधि विकसित गर्ने दुई वैज्ञानिकलाई यस वर्षकाे रसायनशास्त्रतर्फको नाेबेल पुरस्कार दिइने

 असोज २१, २०७७ बुधबार १७:३४:४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चिकित्साशास्त्र र भौतिकशास्त्रपछि यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार विजेताहरुको घोषणा भएको छ । यस वर्ष रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जिनोम एडिटिङको तरिका विकसित गर्ने इम्यानुएल कारपेन्टियर र जेनिफर ए डुडनालाई दिइने नोबेल पुरस्कार कमिटीले घोषणा गरेको छ ।

जेनिफर डुडनाको जन्म सन् १९६१ मा वाशिङ्टनमा भएको थियो । उनी युनिभर्सिटी अफ् क्यालिफोर्निया बर्कलीमा प्रोफेसर छिन् । त्यस्तै इम्यानुएल कारपेन्टियरको जन्म सन् १९६८ मा फ्रान्सको जुबिसी–सर–ओर्गमा भएको थियो । उनी जर्मनीको बर्लिनमा म्याक्स प्लङ्क युनिट फर दि साइन्स अफ प्याथोजेन्सकी निर्देशक हुन् । 

नोबेल पुरस्कार समितिको तर्फबाट निकालिएको विज्ञप्तिअनुसार कारपेन्टियर र जेनिफरले जिन टेक्नोलोजीको सबैभन्दा तीव्र उपकरण क्रिस्पर क्यास९ जेनेटिक सिसर को खोज गरेका छन् । यस प्रविधिले जीव विज्ञानमा एक क्रान्तिकारी प्रभाव पारेको छ । 

यी दुई जनाले विकसित गरेको प्रविधिको उपयोग गर्दै शोधकर्ताहरुले जनावर, बोटबिरुवा र सुक्ष्म जीवहरुको डीएनएमा अत्यधिक उच्च शुद्धतासहित परिवर्तन गर्न सक्छन् । 

विश्वको सर्वाेच्च पुरस्कार भनिने नोबेल पुरस्कार प्रत्येक वर्ष चिकित्सा, भौतिक, रसायन, शान्ति, अर्थशास्त्र र साहित्यमा दिइँदै आएको छ । यो वर्ष चिकित्साको क्षेत्रमा यो पुरस्कार हेपाटाइटिस सी भाइरस खोज गर्ने हार्भी जे अल्टर, माइकल ह्युटन र चार्ल्स एम राइसलाई दिने घोषणा गरिएको छ । 

साथै भौतिकशास्त्रको पुरस्कार रोजन पेनरोज, रेनहार्ड गेनजेल र एन्ड्रिया घेजलाई दिइने भएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया