माेबाइल र ल्यापटप किन्न एक वर्षमै ५६ लाखभन्दा धेरै खर्च गर्ने सप्तरीको छिन्नमस्ता गाउँपालिका

 असोज २१, २०७७ बुधबार १९:५५:३० | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – देशमा स्थानीय सरकार आएपछि पालिकाहरुमा व्यापक मात्रामा आर्थिक अनियमितता भएको पाइएको छ । यसै क्रममा सप्तरीको छिन्नमस्ता गाउँपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा मोबाइल र ल्यापटप खरिदमा मात्र पचास लाखभन्दा बढी खर्च गरिएको पाइएको छ ।

सात महिनादेखि विश्वमा कोरोना महामारीका कारण लकडाउन हुँदा नागरिकहरु भोकभोकै बस्नुपर्ने अवस्थामा सप्तरीकाे छिन्नमस्ता गाउँपालिकाले मोबाइल सेट र ल्यापटप खरिदमै गाउँपालिकाका झण्डै आधा करोड बजेट खर्च गरिएको पाइएको हो । 

गाउँपालिकाको जिन्सी शाखाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/०७७ मा गाउँपालिकाले सात थान मोबाइल सेट खरिदमा दुई लाख ८८ हजार १० रुपैयाँ र भिभाे कम्पनीको तीन थान मोबाइल सेट खरिदमा १ लाख ८९ हजार ६ सय रुपैयाँ खर्च भएको जनाएको छ । यस्तै सामसुङ कम्पनीको दुई थान मोबाइल सेट खरिदमा ३२ हजार, नोकिया कम्पनीको ६ थान मोबाइल सेट खरिदमा २४ हजार तीन सय र रेडमी मोबाइल सेट तीन थान खरिदमा एक लाख ३५ हजार रुपैयाँ खर्च भएको जनाएको छ । 

यसैगरी गाउँपालिकाले खरिद गरेका मोबाइल सेटहरु अधिकांश जनप्रतिनिधि तथा कर्मचारीहरुले चलाइरहेको स्राेतले जनाएको छ । तर कतिपय जनप्रतिनिधिहरुले मोबाइल सेट नपाएको गुनासो गरेका छन् । मोबाइल सेट खरिदको नाममा बजेट भने खर्च भइसकेको जिन्सी शाखाको तथ्याङ्कमा उल्लेख छ । 

त्यसैगरी ३५ थान ल्यापटप खरिदमा २६ लाख ७५ हजार तीन सय ४४ रुपैयाँ ९५ पैसा ,एसुस कम्पनीको ल्यापटप १६ थान खरिदमा १४ लाख १५ हजार दुई सय ६२ रुपैयाँ १० पैसा र ३७ थान प्रिन्टर र बिलिङ प्रिन्टर खरिदमा ८ लाख सात हजार ९५ रुपैयाँ ७५ पैसा खर्च भएको जनाएको छ । छिन्नमस्ता गाउँपालिकाले मोबाइल सेट र ल्यापटप खरिदमै कुल ५६ लाख ४६ हजार ६ सय ११ रुपैयाँ खर्च गरिएको गाउँपालिका स्राेतले जनाएको छ । 

तर केही जनप्रतिनिधिहरुले भने अहिलेसम्म गाउँपालिकाबाट कुनै पनि मोबाइल सेट अथवा ल्यापटप प्राप्त नगरेको बताउँछन् । छिन्नमस्ता गाउँपालिका वडा नं ६ का वडाध्यक्ष वीरेन्द्र साह मण्डल र वडा नं २ का वडाध्यक्ष चुनचुन साहले अहिलेसम्म आफूले गाउँपालिकाबाट कुनै पनि मोबाइल सेट अथवा ल्यापटप नलिएको प्रतिक्रिया दिनुभएको छ ।

यस्तै नेकपाका स्थानीय नेता जयप्रकाश यादवले जनप्रतिनिधिहरुले आफूखुसी आधा करोडभन्दा बढीको मोबाइल सेट र ल्यापटप खरिद गरेर आर्थिक अनियमितता गरेको आरोप लगाउनुभएको छ ।

यस सम्बन्धमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम थापाले आर्थिक वर्ष २०७६/०७७ मा गाउँपालिकाले मोबाइल सेट तथा ल्यापटप खरिद गरेको स्वीकार्दै त्यो कर्मचारी र जनप्रतिनिधिहरुले प्रयोग गर्दै आइरहेको बताउनुभएको छ ।  

अन्तिम अपडेट: चैत १३, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया