गाउँलेको श्रमदानमा दोरम्बाको पात्लेमा पहिलो पटक पुग्योे यात्रुवाहक बस

 असोज २२, २०७७ बिहिबार १७:८:५४ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – रामेछापको दोरम्बा गाउँपालिका–१ डडुवाको पात्लेमा  पहिलो पटक यात्रुवाहक बस पुगेको छ ।

पहिलो पटक बस पुगेको खुसीयालीमा गाउँलेले बस र बसका चालकलाई भव्य स्वागत गरेका छन् । गाउँमा पहिलो पटक अरनिको सुपर बस लिएर डडुवाको पात्ले पुगेका चालक र सह–चालकलाई स्थानियवासीले माला, खादा र दहीले स्वागत गरेका हुन् ।

अब  काठमाण्डौदेखि यो गाउँसम्म नियमित रुपमा बस सञ्चालन हुने भएको छ । काठमाण्डौबाट छुटेको बस सदरमुकाम मन्थली, पोखरीडाँडा–देउराली हुँदै डडुवाको पात्लेसम्म पुग्नेछ । यसको भाडा १ हजार २ सय ३० रुपैयाँ कायम गरिएको छ ।

पात्लेमा अरनिको यातायात सेवा समितिले टिकट काउण्टर समेत सञ्चालनमा ल्याउने तयारी गरेको अरनिको यातायात सेवा समिति रामेछापका प्रमुख सुवाष फुँयालले जानकारी दिनुभयो ।

भौगोलिक कारण विकासमा पछाडि परेको दोरम्बा गाउँपालिकाको डडुवाको पात्लेमा सडक मर्मतमा स्थानीय सरकारले चासो नदिएपछि गाउँले आफैंले सडक मर्मत गरेर गाडी पुर्याएका हुन् ।  गाउँलेले दुई सय दिन जनश्रमदान गरेर सडक निमार्ण गरेपछि बस पुगेको दोरम्बा गाउँपालिकाका–१ का सामाजिक अभियन्ता ताराबहादुर मोक्तानले जानकारी दिनुभयो । 

पात्लेसम्म खोलिएको मोटरबाटोको ट्रयाकको मर्मतको लागि वडास्तर र गाउँपालिकामा समेत बजेट माग गर्दा नपाएपछि गाउँलेहरु आफैं मिलेर दुई सय जनाले ८ किलोमिटर सडक मर्मत गरेको उहाँले बताउनुभयो  । डडुवाको पात्लेमा चार सय घर परिवारको बसोबास रहेको छ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया