काठमाण्डौमा महामारी र परोपकारी संस्था

 असोज २३, २०७७ शुक्रबार ११:२:३१ | कुमार रञ्जित
unn.prixa.net

अग्रणी समाजसेवी दयावीर सिंह कंसाकारको एउटै अठोटले ७३ वर्षअघि नेपालमा परोपकार संस्थालाई युगान्तकारी लोकप्रिय साथै टोल-टोलमा पुर्याएर जन-जनका मन-मस्तिष्कमा कहिल्यै नमेटिने छाप छोड्न सफल भयो ।

राणाकालमा ‘परोपकार संस्था’ लाई जन्म दिएका काठमाण्डौ केलटोलका कंसाकारले त्यतिबेला महामारीका रुपमा फैलिएको झाडाबान्ताका बिरामीलाई आफ्नै घरमा ल्याएर उपचार गराउने अठोटसहित भित्र्याएपछि उहाँलाई घर-परिवारबाटै चर्को अवरोधको सामना गर्नु परेको थियो । 

आफ्ना पिताको त्यही अठोट र कर्मले नेपाली जनमानसमा महामारीको समय र वातावरणमा ‘सेवा गर्नुपर्ने’ भावनासहितको लहर चलेको वर्तमानमा ‘परोपकार संस्था ’ का अध्यक्ष हितकर वीरसिंह कंसाकार सम्झिनु हुन्छ ।

उहाँका अनुसार त्यतिबेला काठमाण्डौ उपत्यका साथै बाहिरी जिल्लामा समेत फैलिएको झाडाबान्ताले दैनिक सयौँ मानिसको प्राण हरण गरिरहेको थियो । स्वतः स्फूर्त रुपमा सेवामा खटिएका स्वयम्सेवीहरु सिकिस्त बिरामी बोक्दै वीर र टेकु अस्पताल पुर्याउँदै थिए । दुर्गन्ध र किटाणुको तीव्र सङ्क्रमणबाट बच्न हातले र कपडाका टुक्राले मुख छोप्दै बोक्दै ल्याउँदै गर्दा बिरामीले बोक्ने स्वयम्सेवीकै टाउमा र जिउमै पर्ने गरी बान्ता गर्थे ।

त्यस्तो अवस्थामा पनि स्वयम्सेवीहरुको सेवा कार्य दिनप्रतिदिन बढ्ने क्रम जारी नै रह्यो । यसरी गरिएको सेवा कार्यले परोपकार संस्थालाई उपत्यका बाहिर जिल्ला-जिल्लाका लोकप्रिय बनायो । जसले गर्दा नेपालमा ‘सेवाको अर्को नाम परोपकार’ रहन गयो ।     

काठमाण्डौ महानगरपालिका वडा नम्बर २१ लगनमा रहेकाे मुख्य चोकका बासिन्दा शान्तरत्न शाक्य पनि यतिबेला ७३ वर्ष पहिले काठमाण्डौमा फैलिएको महामारी र त्यतिबेला काठमाण्डौका जनमानसले भोगेको दुःख सम्झिँदै हुनुहुन्छ ।

काेराेना भाइरस सङ्क्रमणका बेलामा साधारण मास्क लगाएर भीडबाट जोगिँदै गल्लीमा हिँड्दै गर्दा भेटिनुभएका उहाँका अनुसार २००४ सालमा काठमाण्डौमा फैलिएको महामारीले जनमानसलाई दिएको दुःख कल्पना नै गर्न नसकिने थियो ।

राजधानीका बौद्ध धर्मावलम्बीका आस्थाको केन्द्र स्वयम्भूमा रहेकाे ज्ञानमाला भजन खलःका पूर्व अध्यक्षसमेत रहिसक्नुभएका ज्येष्ठ नागरिक शाक्यको स्मृतिमा त्यतिबेला काठमाण्डाैमा झाडाबान्ता असाध्यै रुपमा फैलिएको थियो ।

घर-घरमा परिवार-परिवार नै किटाणुले ग्रस्त भइ अशक्त थिए । एक घरबाट एकजना मृतक निकालेर घाटमा अन्तिम संस्कार गर्ने कार्य पूरा नहुँदै अर्को बिरामीको मृत्यु भएर घाट लान तयारी भइसकेको हुन्थ्यो ।

त्यस्तो अवस्थामा टोल समाजका बलिया युवाहरु अशक्त र पीडितहरुको सेवामा अहोरात्र खटिरहेका थिए । त्यस्तै महामारीका बीच व्यक्ति-व्यक्ति मिलेर समूह-समूह र समूह-समूह मिलेर नेपालको इतिहासमै अभूतपूर्व रुपमा ‘परोपकार संस्था ’ ले व्यापकता लिन पुग्यो । 

अहिले जहाँ गए पनि र जुनसुकै सञ्चार माध्यम सुने पनि ‘कोरोना-कोरोना ’ भनेर समाजमा त्रास फैलाइरहेकोमा तीव्र असन्तुष्टि व्यक्त गर्दै काठमाण्डाै महानगर प्रमुखका टोलवासी शाक्यले अहिले देखिएको कोरोना प्रकोप वास्तवमा त्यति ठूलो महामारी नभएकोले सञ्चार माध्यमले पनि त्रास फैलाइरहेको भन्दै आक्रोश पोख्नु हुन्छ । 

वास्तवमै यतिबेला काठमाण्डौवासी त्रसित मानसिकतामा छन् । काठमाण्डौका अधिकांश रैथानेहरु अति जरुरी कामबाहेक घर बाहिर निस्किएका छैनन् । दिनहुँ बिहानै हिँडेर मन्दिर पुग्ने गरेका ज्येष्ठ नागरिकहरु अहिले देख्नै दुर्लभ भएको बताउनु हुन्छ, काठमाण्डौ मरु गणेशस्थानका व्यवसायी राम शङ्कर श्रेष्ठ । 

उहाँले अहिले पनि आफ्नो पसल सधैँझैँ नियमित खोलिरहनुभएको छ । तर विगतमा देखिने गरेका चिरपरिचित अनुहारहरु देखिन छोडेकामा खिन्न हुनुहुन्छ । उहाँको भनाइ थियो- ‘यतिबेला मानिसहरु हिँडिरहेका त देखिन्छन्, तर अधिकांश अपरिचित र बाहिरबाट आएका छन् ।’

अहिले देशमा सङ्घीयताको अभ्यास गर्दै गरेका तीन तह सरकारहरु सक्रिय छन् कि निस्क्रिय छन् भनेर तिनका पदाधिकारीहरुले नै ठम्याउन सकिरहेका छैनन् । गाउँघरदेखि टोल-टोलमा स्वतःस्फूर्त रुपमा स्वयंसेवा गरिरहेका युवाहरुलाई प्रोत्साहित गर्दै व्यवस्थित सङ्गठित रुपमा राष्ट्रिय उर्जा उत्पादन गर्ने ‘ह्याउ’ इतिहासमै शक्तिशाली मानिएको सरकारले देखाउन सकिरहेको छैन ।

केन्द्रीय तह शक्ति बाँडफाँडमा व्यस्त रहेको, प्रदेश सरकार अधिकार प्रयोगमै अलमलिरहेको र स्थानीय सरकार ‘थाल खाउँ कि भात खाउँ’ को अवस्थामा रहेका छन् । राजधानीकै नागरिकको समस्या र अवस्था हेर्दा यस्तै निष्कर्ष निकाल्न सकिन्छ ।

काठमाण्डौको नयाँ सडकमा रहेकाे रणमुक्तेश्वर क्षेत्रका घरमा धारा भएर पनि खानेपानी नआएको २५ वर्ष भइसकेछ । ‘वडाध्यक्षलाई भन्न गए खानेपानी संस्थान देखाउने गरेको र खानेपानी संस्थान गए वडा कार्यालयतिर फर्काउने गरेको’ गायक समेत रहेका स्थानीयवासी रामकुमार सायमी दुखेसो पोख्नु हुन्छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारी समेत रहेका सायमी आक्रोश पोख्दै प्रश्न गर्नुहुन्छ- ‘यस्ता जनप्रतिनिधिलाई परोपकारको अर्थ कसरी बुझाउनु ? जसले कर्तव्य नै बुझेका छैनन् ।’ 

जनप्रतिनिधि स्वाभाविक रुपमै परोपकारी हुनुपर्दथ्यो । तर वर्तमानमा केन्द्रीय सरकारले नै त्यसका लागि वातावरण नबनाएको परोपकार संस्थाका अध्यक्ष हितकार वीर सिंह कंसाकारको विचार छ ।

‘समाजमा दशकौँ अगाडिदेखि परोपकारी कार्य गरिरहेका संस्थालाई दुःख दिइँदैछ, स्वतः स्फूर्त रुपमा सेवा कार्यमा खटिएकालाई हतोत्साही पारिँदैछ भने यस्तोमा परोपकारी सेवा कसरी सुसङ्गठित र व्यवस्थित हुन सक्दछ ?’ उहाँको प्रश्न थियो । 

घरमा भएको धारामा २५ वर्षदेखि पानी नआएर आफ्ना वडाध्यक्षप्रति क्रुद्ध रहेका राजधानीवासी यतिबेला कोरोना आतङ्कले ७३ वर्षअघि जस्तै महामारीको रुप लिन्छ कि भन्ने डरले त्रसित छन् । त्यसैले अहिले राजधानीका गल्लीहरुमा दशैँ नजिकिएको चहल-पहल देखिएको छैन ।  

अन्तिम अपडेट: कात्तिक ३०, २०७७

कुमार रञ्जित

उज्यालोमा कार्यरत कुमार रञ्जित तीन दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया