धनको सपनामा पराईको देशमा फसेका जिन्दगीहरु

 असोज २६, २०७७ सोमबार १२:४२:१२ | मेरो कथा मेरो भोगाई

लेखनाथ सुवेदी, रुपन्देही/हाल पोर्चुगल ।

समयले पनि कस्तो खेल खेल्दो रहेछ । समय, परिस्थिति र नियती पनि कति पीडादायी रहेछ । उ सम्झन्छ अतीतका पानाहरू र धिक्कार्छ आफैंलाई अनि आफ्नै भाग्यलाई । जिन्दगीमा हराएका खुसी खोज्नलाई बारम्बार तड्पिनु पर्ने । भित्रभित्रै जले पनि देखावटी हाँसो र खुसीमा हराउनु पर्ने । मनलाई आँसुको तलाउमा चुर्लुम्म डुबाएर बाँच्नुपर्ने रहेछ यो परको देश, पराईको देश, परदेशमा । 

बिदाको दिन थियो । अलिकति ढिलोसम्म सुतियो । घडीले बिहानको ९ः३० बजाइसकेको थियो ।  उठ्ने बित्तिकै बाहिरको चिसो हावाको आनन्द लिन मन लाग्यो । बाहिर निस्किएँ । 

घर नजिकैको समुद्रको किनारतिर लागें । ‘समर’को अन्तिम अन्तिम समय, बिहानको चिसो हावा, घामको मन्दमन्द न्यानो किरण अनि समुद्र किनारको रौनक अलि फरक थियो । विभिन्न देशका मान्छेहरु आ–आफनै मुद्रामा रमाई रहेका थिए । 

अलि पर एक युगल जोडीहरु मायाको गहिराई नापी रहेका थिए । चिसो मौसम, समुद्रको किनारको छेउमा उफ्रिने स–साना माछाका भुराहरु, अनि मन्द हावा, मधुर सूर्यको न्यानो किरण र फरक फरक समुदायका मानिसहरुको रौनक, जसले केही पलका लागि सबै दुःख, अप्ठ्याराहरू भुलाई फरक आनन्द र अनुभूति दिन्थ्यो । चिसो हावा, रंगिन वातावरणसँगै  मनभित्रका सबै पीरहरु बिर्सिएर म पनि मन्दमन्द मुस्कुराइ रहेको थिएँ ।   म अगाडि बढदै गर्दा चुलबुले नजरहरु कताकता पुगिरहेका थिए ।  

‘ए हजुर तपाईं नेपाली हो ?’ मैले फेरि उनलाई बोलाएँ । 

मेरो आँखा एकोहोरो मुद्रामा  बसिरहेको एउटा युवकतर्फ तानियो  । म उनको नजिक जाँदै थिएँ । नजिकैबाट उनलाई नियालें, उदास पारामा जिन्दगीका सबै रङ्ग हराए जस्तो । पीरैपीरको भर्खरै नुहाएर आए जस्तो,  मलिनो मुहार, तेल सकिएर निभेको दियो जस्तो । सबै खुसी लुटिएर दोबाटोमा अलपत्र परे जस्तो, अनुहार पूरै अँध्यारो देखिन्थ्यो ।   उनको रुप र पोशाकले नेपाली हो कि जस्तो मनमा लाग्यो  । 

‘हजुर नमस्कार, भाइ नेपाली हो ?’ मैले बोलाएँ । 

उनले मलाई पुलुक्क हेरे, तर केही बेलेनन् ।

‘ए हजुर तपाईं नेपाली हो ?’ मैले फेरि उनलाई बोलाएँ । 

करिब २० सेकेण्डपछि उनले जवाफ फर्काए– नमस्कार । म त तपाईँलाई चिन्दिन । 

मैले उनलाई आफ्नो परिचय दिएँ । विदेश यात्राका केही थान दुःखहरु हौसला र प्रेरणाका रुपमा उनलाई सुनाएँ । 

उनले लामो सास फेर्दै भने –   ‘के गर्नु दाजु, जिन्दगीले आज बगर जस्तै बनाएर छाडेको छ । हरियाली जिन्दगी डढेलो लागेको खोरियाझैं उजाड उजाड छ । हामी गरिबहरु सधैं अभावको भूमरीमा पिल्सिनु पर्ने रहेछ । यस्तै छ दाजु मेरो पनि कहानी ।’

उनले आफ्नो परिचय दिए । 

घर : बझाङ ।

नाम : बाबु राजाराम । 

उनले आफ्नो कथा यसरी सुनाए :

मलाई गाउँमा बाबे भनेर चिन्छन् । 

घरमा आमा, श्रीमती र सानो छोरा छन् ।  बुवाले सानैमा छाडेर जानुभयो । बुवा नभएपछि आमाले गाउँमै ज्यालामा काम गर्न थाल्नुभयो । म सानै छँदा बुवाले घर खेत जोडिदिनु भएको रहेछ । आमाले दुःख गरेर हुर्काउनुभयो । मेरो पढाई पनि राम्रै थियो । विद्यालयको पढाई सकें ।

सबै साथीहरु उच्च शिक्षाको लागि सहर पसे । मलाई पनि सहर बसेर पढ्ने रहर भयो । आमासँग सल्लाह गरें । म केही गर्छु र पढ्छु भनेर सहर पसें । सहरको बसाइ, पढाई खर्च आमाले दिनभरी कमाएको ज्यालाले भ्याएन ।  काम  गर्छु भनेर काम खोजें, काम पनि पाइएन ।

१२ को पढाई सकेर गाउँ गएको थिएँ । गाउँको छिमेकी  बमबहादुर भर्खर विदेशबाट आएको रहेछ । गाउँमा विदेशको चर्चा निकै हुन्थ्यो । उसले विदेशमा यस्तो हुन्छ उस्तो हुन्छ भनेर निकै मिठा कुरा सुनायो ।

सबै छिमेकीहरु उसका कुरा सुनेर मख्ख पर्थे ।  भर्खर आएको उसको  हातमा टल्किने घडी, महङ्गो मोबाइल, टिलिक्क टल्कने जुत्ता, सुकिला कपडा, उसको फूर्तिफार्तीले  जोकोहीलाई पनि लोभ्याउँथ्यो । 

पैसो कमाउने, सुकिलामुकिला कपडा लगाउने, मिठो मसिनो खाने, धेरै सम्पत्ति कमाउने सपना मेरो मन पनि पलायो । आमा घरमा एक्लै भएको हुँदा विदेश जानुअघि बिहे गर्ने कुरा आमाले गर्नुभयो । आमाकै रोजाइमा बिहे पनि गरें । बिहेपछि विदेशको प्रक्रियामा लागें । 

यूरोप जाने र कमाउने साेंच बनाएँ । मेरो विदेशबाट आएकै साथीको साथी रहेछन् एक जना । उनले पोल्यान्डको भिसा मिलाउने रहेछन् । यो काम गरेबापत उनले आठ लाख रुपैयाँ लिने रहेछन् । जग्गा धितो राखेर उसलाई आठ लाख रुपैयाँ बुझाएर यहाँ आएँ । भिसा लाग्न झण्डै २ वर्ष  लाग्यो । तर पोल्याण्डमा भनेजस्तो नभएपछि म साथीहरुको पछि लागेर पोर्चुगल आइपुगेँ ।

तलबको पैसा पनि समयमा नपाइने । विदेश आएदेखि आमा, श्रीमती र छोरालाई एक जोर कपडा फेरिदिन पनि सकेको छैन । साहुको ऋण र ब्याज बढेको बढ्यै छ । सम्झ्यो भनि छाती भातभती पोल्छ । 

यहाँ पनि नयाँ मानिस आएको थाहा पाउनै नहुने रहेछ । यहाँ आएपछि साथी पनि साथी जस्तो नहुँदो रहेछ । लिगल इन्ट्री, फिनान्स, सोसियल, सेफ गराउँदा म नेपालीबाटै पटकपटक  ठगिएँ । 

काम लगाएबापत पैसा, कोठा खोजिदिएको पैसा, पाइला पाइलामै ठगिएको छु । महिनाभरी काम ग¥यो कोठाभाडा, पानी, बत्ती, इन्टरनेट, खाना, मेट्रो खर्च, काडको कागजी प्रक्रियाको लागि कहिले के के महिनाभरी कमाएको तलब मुश्किलले दुईसय युरो नि नबच्ने ।

तलबको पैसा पनि समयमा नपाइने । विदेश आएदेखि आमा, श्रीमती र छोरालाई एक जोर कपडा फेरिदिन पनि सकेको छैन । साहुको ऋण र ब्याज बढेको बढ्यै छ । सम्झ्यो भनि छाती भातभती पोल्छ । 
परको देश, पराइको देश यहाँ हाम्रो दुःख बुझिदिने कोही छैन । नेपाल फर्कौं घर खेत साहुले लिन्छ  । यहाँ हरेक पल मर्दै बाँचेको छु । 

कोरोनाले काम पनि गयो ।  अहिले काम पनि छैन, ७ महिना भयो खाली बसेको । 
***
यति भन्दै गर्दा उनी भक्कानिए र मेरो अँगालोमा आए ।

मैले सम्झाएँ – यस्तै हो भाइ हामी परदेशीको जीवन । न कामको भर, न ठाउँको भर । नआत्तिनु सबै कुरा ठिक हुन्छ । भगवानले हेर्ने छन् । सबै सामान्य हुनेछ । नरुनु भनेर सम्झाउनु बाहेक मेरो केही उपाय थिएन । 
खल्ती छामे ८० युरो रहेछ । भाइ यो राख्नु नेपाली १० हजार हुन्छ । म सकेको र जानेको सहयोग गर्नेछु । म यही नजिकै बस्छु भनेर मैले मेरो फोन नम्बर पनि दिएँ । 

स्वदेश फर्किएर समाज देखाउने तडकभडक र झुटा सपनाहरुले आज हजारौं अब्बल बाबु राजारामहरु देश र परिवारबाट टाढिएर काहलीलाग्दो रंगहीन जिन्दगी परदेशमा बिताउँदै छन् । 

भाइ बेला मौकामा फोन गर्नु है भन्दै म कोठातिर लागें ।

दिनभर आँखाभरी बाबु राजारामको तस्बिर खेलिरहयो । विदेशमा पैसाको रुख हुन्छ, मोजमस्ती हुन्छ भनेर छिमेकमा झुटो हल्ला फैलाउने उसको छिमेकी बामेप्रति रिस उठेर आयो । 

परदेशमा आफूले भोगेको वास्तविकता बताउन लाज मान्ने त्यो छिमेकीलाई  बधाई छ । तिमीहरूले स्वदेश फर्किएर समाज देखाउने तडकभडक र झुटा सपनाहरुले आज हजारौं अब्बल बाबु राजारामहरु देश र परिवारबाट टाढिएर काहलीलाग्दो रंगहीन जिन्दगी परदेशमा बिताउँदै छन् । 

अन्तिम अपडेट: कात्तिक ४, २०७७

तपाईको प्रतिक्रिया