मसानकाली चोक : जहाँ राजपरिवारलाई  गोप्य रुपमा जलाइन्थ्यो

 असोज २७, २०७७ मंगलबार ८:५१:३० | कुमार रञ्जित
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको प्राचीन हनुमानढोका राजदरबारभित्रको “कणेल चोक” भित्र जनसाधारणका लागि प्रवेश निषेध गरिएका धेरै चोकहरुमध्ये एउटा अत्यन्तै गोप्य चोक हो- “मसानकाली चोक” । 

दरबारको मूल ढोकाबाट प्रवेश गर्ने बित्तिकै ठूलो आयताकार “नासल चोक” मा पुगिन्छ भने त्यहाँबाट पश्चिमतर्फ “कणेल चोक” र त्यहाँबाट पनि भित्र पश्चिमतर्फ नै “मसानकाली चोक” रहेको छ । 

हनुमानढोकामा पूर्व राजाहरु त्रिभुवन, महेन्द्र र वीरेन्द्रका नामबाट सञ्चालित तीनवटा सङ्ग्रहालयहरुमा पुगेका आन्तरिक तथा बाह्य पर्यटकहरुले “कणेल चोक” सम्म माथि झ्यालबाट देख्न पाएका हुन सक्छन्, तर त्यसको पनि पश्चिमतर्फ भित्रपट्टि सधैँ बन्द अवस्थामा राखिने गरिएको “मसानकाली चोक” भने कतैबाट देखिन सकिने ठाउँमा छैन । 

राजाको प्रत्यक्ष शासनमा चलाइने गरेको पञ्चायती व्यवस्थामा केही सीमित इतिहासका अध्येताले राजदरबारको स्वीकृति लिएर त्यहाँभित्रका केही तथ्य प्रकाशनमा ल्याएका थिए । त्यस मध्येका एक प्रमुख व्यक्ति गौतम बज्र बज्राचार्य हुनुहुन्थ्यो । २०३० को दशक सुरुमै उहाँको “हनुमानढोका राजदरबार” पुस्तक प्रकाशनमा आएको हो । त्यसमा पनि उहाँले “मसानकाली चोक” बारे विस्तृतमा लेख्नुभएको वा स्पष्ट तस्बिर प्रकाशनमा ल्याउनुभएको थिएन । 

सर्वसाधारणका लागि रहस्यमयी रहँदै आएको “मसानकाली चोक” वास्तवमा राजदरबारभित्रै हत्या गरिएका वा कुनै महामारीका कारण मृत्यु भएका साथै सर्वसाधारणलाई जानकारी गराउन नहुने विभिन्न कारणले प्राण त्यागेका राजापरिवारका सदस्यहरुका लाश जलाउने चोक थियो भन्ने कुरामा इतिहासकारहरु एकमत छन् । त्यसैले पनि त्यस चोक राजदरबार नारायणहिटी सरेपछिका दिनहरुमा बन्द रहने गरेको थियो भन्न सकिन्छ । 

२०५८ साल जेठ १९ गते नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डभन्दा केही महिनाअघि त्यस चोकबारे जिज्ञासा राख्दै निरीक्षण गर्ने अनुरोध गर्दै तत्कालीन अवस्थामा त्यहाँको हेरचाह अड्डाका प्रमुख रहनुभएका तेजरत्न ताम्राकारकहाँ पुग्दा प्राप्त पहिलो प्रतिक्रिया थियो, “राजदरबारबाट अनुमति लिएर आउनोस् ।” पटक-पटक अनुरोध गरेपछि उहाँले “बाहिर हल्ला गर्न नपाइने र फोटो खिच्न नपाइने” शर्तमा आफ्नै साथमा हामीलाई “मसानकाली चोक” हेर्न दिनुभएको थियो । 

त्यसबेला “कान्तिपुर” राष्ट्रिय दैनिकमा साप्ताहिक रुपमा हनुमानढोका राजदरबारका विविध पक्षबारे लेख्ने गरिरहनुभएका अग्रज पत्रकार अशोक श्रेष्ठ र चित्र कलाकार एकाराम सिं साथै अन्य केही साथीहरुका साथ “मसानकाली चोक” मा प्रवेश गर्दा हामीलाई साँच्चै सुनसान र डरलाग्दो मसानमै पुगेको महशुस भएको थियो ।

चारैतिर कलात्मक आँखीझ्यालहरु रहेर पनि कहिल्यै सफा नगरिएका धुलाम्य काठ, बाँस साथै इँटाका थुप्राहरु, जताततै अस्तव्यस्त झारपात उम्रिएको, कहिल्यै सफा नगरिएको जस्तो देखिने चोकको बीचमा सानो दुई तले “मसानकाली” को मन्दिर, त्यसको अगाडि एउटा इनार र एउटा अग्लो रुख मात्रै थियो ।

हामी सिधै “मसानकाली” मन्दिर गयौँ । त्यहाँ धेरै अघिदेखि पूजा नगरिएको जस्तो देखिन्थ्यो । सानो आकारमा भए पनि मसानकालीको मूर्ति आफ्ना अवयव साथै हातहतियार सहितको आकृतिमा थियो । इनारभित्र हेर्दा पानी गहिरो र स्थिर थियो । 

भन्ने गरिएको थियो कि गोप्य रुपमा राजपरिवारका सदस्यहरुको दाहसंस्कार गरिएपछि खरानी त्यसै इनारमा खसालेर बगाइन्थ्यो । रोचक कुरो त के थियो भने त्यस इनार बाहिरबाट हेर्दा स्थिर देखिए पनि भित्री रुपमा पानी दक्षिण-पश्चिमतर्फ बगिरहेको हुन्थ्यो, र त्यो पानी विष्णुमती नदीमा गएर मिसिन पुग्छ भन्ने गरिन्छ ।

रुख हनुमानढोका पुगेका जोकसैले महादेव-पार्वती डबलीतर्फबाट देखिने गरी अग्लिएको थियो, जुन अहिले पनि देख्न सकिन्छ । त्यस रुखबारे पनि आश्चर्यजनक कुरा भन्ने गरिएको छ कि जतिसुकै हावा आए पनि त्यसबाट झर्ने पातहरु “मसानकाली चोक” भित्रै झर्दछ, बाहिर सडकतर्फ एक पात पनि झरेको देखिँदैन । वास्तवमै त्यस रुखबाट झरेका पातहरु कहिल्यै सडकतर्फ देखिएको छैन भन्ने अनुभवी वीरेन्द्र भक्त श्रेष्ठको भनाइ थियो ।  

देशमा गणतान्त्रिक व्यवस्था आएपछि र खासगरी २०७२ सालको वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षति पुर्याइएपछि हनुमानढोका राजदरबारका धेरै संरचनाहरुमा मर्मत र सरसफाई गरिएका छन् ।

त्यसक्रममा धेरै संरचनाहरु नयाँ स्वरुपमा देखिएका छन् । तर गोप्य रुपमा रहेको “मसानकाली चोक” बारे सत्य तथ्य अझै सर्वसाधारणको जानकारी र पहुँचभन्दा टाढै छ । यदि त्यसलाई नयाँ ढंगबाट अध्ययन र अनुसन्धान गर्न दिने हो भने धेरै ऐतिहासिक तथ्य र घटनाहरु प्रकाशमा आउनेतर्फ कार्य गर्न सम्बन्धित निकायहरु उदार हुनसकेका छैनन् ।  

बडादशैँ चाड नजिकिएपछि काठमाण्डौको पुरानो मल्लकालिन राजदरबार रहेको हनुमानढोका क्षेत्र र त्यस परिसरमा रहेको अग्लो तलेजु मन्दिरलगायत त्यहाँका कयौँ गोप्य पुरातात्विक तथा सांस्कृतिक सम्पदाहरुको पनि स्वाभाविकै रुपमा चर्चा हुने गर्दछन् ।

त्यहाँभित्र रहेका सयौँ सांस्कृतिक साथै पुरातात्विक सम्पदाहरु अझै देशवासीका लागि अध्ययन गर्न बाँकी अवस्थामै छन् । वर्षको एकदिन दशैँको महानवमीका दिन मात्रै सर्वसाधारणलाई दर्शनका लागि खोल्ने गरिएको कारण त्यसदिन दिनभरि अत्यन्तै भीड हुने गरेको तलेजु मन्दिर यसवर्ष कोरोना भाइरसको महामारीका कारण नखुल्ने निश्चित जस्तै छ । केही अति आवश्यक विधि र विधान पूरा गर्न सीमित पुजारी र गुथियारहरुका लागि मात्रै खोलेर सर्वसाधारणका लागि बाहिरबाटै दर्शन गर्ने व्यवस्था मिलाउनुपर्ने अवस्था छ । 

इतिहासमा वंशावलीका आधारमा मिथिलाका कर्णाटवंशी राजा नान्यदेव आत्मरक्षाका लागि काभ्रेको बाटो हुँदै भक्तपुर पुग्दा आफ्ना कुलदेवी तलेजु भवानी साथमै ल्याएका थिए भनेर पढाइने गरिएको छ । त्यसै देवीलाई पछि काठमाण्डौमा पनि ल्याइएको थियो । 

मल्ल राजा प्रताप मल्लले भव्य र विशाल मन्दिर बनाएर वर्तमान स्वरुपमा ल्याउनुका साथै त्यहाँ सुनको तुलादान समेत गरेको प्रमाणसहित नेपाल संवत् ७८४ को पौभाःका रुपमा चित्र प्रकाशित छ, जुन अहिले फ्रान्स, पेरिसको एउटा म्युजियममा रहेको भनिन्छ । त्यसपछिका शासकहरुले पनि तलेजुलाई आराध्य कुलदेवीकै रुपमा सम्मान दिएर बेलाबखत जीर्णोद्धार गर्दै आएका धेरै प्रमाणहरु पाइएका छन् । 

हत्या गरिएका राजा वीरेन्द्रले तलेजु मन्दिर पूर्ण रुपमै जीर्णोद्धार गर्ने योजना बनाएका भए पनि त्यसलाई पूरा गर्न नपाउँदै नारायणहिटी हत्याकाण्ड भएर वंशनाश हुन पुग्यो । त्यसपछि राजा हुनुभएका ज्ञानेन्द्रले तलेजु मन्दिरको माथिल्लो तलासम्म सरसफाई गराएर केही महत्वपूर्ण भागको जीर्णोद्धार गराउनुभएको थियो ।

केही निश्चित पुजारीले नित्य पूजा गर्दै आएको साथै रातदिन सेनाको कडा पहराभित्र रहेको तलेजुमा वर्षको एकदिन पनि “हिन्दूहरुका लागि मात्रै प्रवेश” दिने गरिएको छ भने तस्बिर लिन पनि प्रतिबन्ध गरिएको छ । त्यसै कारण तलेजु र दरबार क्षेत्रप्रति आम मानिसमा अत्यन्तै चासो हुनु स्वाभाविक हो ।

तलेजुको पश्चिमतर्फ रहेको मूल ढोकाबाट प्रवेश गरेपछि ऐतिहासिक भव्य त्रिशूल चोकमा पुगिन्छ । त्यहाँबाट उत्तरतर्फ हेर्दा अग्ला एघार फलकहरुमाथि ठडिएको तलेजु मन्दिर भेटिन्छ । त्यसको चारैतर्फ काष्ठकलाको अनुपम उदाहरण बनेको पञ्चमुखी हनुमानको गोलो पाँचतले मन्दिर, अन्य विभिन्न काष्ठकलाका सम्पदाहरु, तीनवटा अग्ला–अग्ला ढुंगे स्मारकमाथि सुनका मूर्तिहरु, सिंहलगायत कलाकृतिबीच प्रताप मल्लको स्पष्ट पढ्न सकिने अभिलेखहरु रहेका छन् । ती मध्ये एउटा पछाडितर्फ ढल्किसकेको छ । हेर्दै अनुमान गर्न सकिन्छ कि त्यो ठाउँ कुनै समय राज्यकातर्फबाट युद्धको तयारी गर्ने स्थान हो ।

त्यहाँ रहेको अग्लो रुखको फेद हुँदै तलेजु मन्दिरमाथि उक्लिँदा देखिने ऐतिहासिक कलाकृतिहरु म्युजियममा हेर्दा जस्तै राम्ररी पाइला-पाइलामा भेटिन्छन् । त्यस्ता कलाकृतिलाई अधिकांशले दशैँको भीडभाड र पूजाआजाको चटारोका कारण उत्सुकता भएर पनि देख्न पाइएन भन्नेहरु धेरै छन् । त्यस कारण केही गम्भीर मानिसहरुले मात्रै राम्ररी हेरेका पाइन्छन् । तर तस्बिर लिन नदिइने हुँदा बाहिर त्यति प्रचारमा आएको देखिँदैन । 

तलेजु मन्दिर उक्लिँदा बीचमा एउटा ऐतिहासिक ‘जधुं’ रहेको छ, जसलाई हिजोआजका भाषामा भन्नुपर्दा “पानीको ट्याङ्की” भन्न सकिन्छ । त्यसले गर्दा कुनै समय त्यहाँ पुग्ने गरेका दर्शनार्थीहरुका लागि पानी पिउने व्यवस्था मन्दिरमाथि पनि राम्रै गरिएको अनुमान गर्न सकिन्छ । त्यहाँबाट तलेजु मन्दिरको चारैतर्फ जति हेरे पनि नपुग्ने भव्य पाकेको इँटाका मृत्तिका कला (टेराकोटा) का ढोकाहरु देख्न सकिन्छ, जुन संसारमै दुर्लभ भनेर विज्ञहरुले भन्ने गरेका छन् ।

त्यसैगरी त्यहीँ रहेका स-साना मन्दिरहरुमा राखिएका टुँडालहरु पनि त्यतिकै आकर्षक देखिन्छन् । आश्चर्यजनक कुरा त के छ भने कहिल्यै कोही नपुग्ने त्यस्तो मन्दिरभित्रका मूर्तिहरु पनि फुटाइएका छन् । त्यसो कसरी हुन्छ ? भन्ने प्रश्नमा त्यहाँका सम्बन्धितहरुले “बाँदरहरुले फुटाउने गरेको” भन्ने गरेका छन् । 

यसप्रकार हनुमानढोका र तलेजुभित्र हेर्न सकिने र बुझ्न सकिने इतिहास, संस्कृति, कला र लिपिसित सम्बन्धित सम्पदाहरु धेरै छन् । जसलाई सम्बन्धित विषयमा रुची राख्नेहरुले क्रमशः अनुशीलनपछि प्रकाशमा ल्याउन सक्छन् । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

कुमार रञ्जित

उज्यालोमा कार्यरत कुमार रञ्जित तीन दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

1 Comments

  • संजिब अधिकारी

    Oct. 15, 2020, 3:38 p.m.

    न्यान्य देवको प्रसंग गलत भयो , हरीसिंह देव हुनसक्छ सच्याउनु होला

  •  0 Reply

तपाईको प्रतिक्रिया