क्वरेण्टीनमा बस्न नमान्दा राजा पनि महामारीको शिकार भएका थिए

 असोज २८, २०७७ बुधबार १०:७:२५ | दिनेशराज पन्त
unn.prixa.net

तीन सय वर्ष अगाडि काठमाण्डौमा मल्ल राज्य थियो । त्यसमा भास्कर मल्ल भन्ने राजा थिए । त्यतिबेला महामारी आयो । त्यसलाई मानिसहरुले प्लेग भनेर भन्छन् । त्यसबेला आएका विदेशी यात्रीहरु विशेषगरी पादरीहरु, जो तिब्बत हुँदै नेपाल आएका थिए, उनीहरुको बयानमा पनि पाइन्छ ।

हाम्रा भाषा वंशावलीमा पनि पाइन्छ । त्यो महामारी करिब सात वर्षसम्म चल्यो । त्यस महामारीले भक्तपुर, पाटनमा दुःख दिएको र सबैभन्दा बढी काठमाण्डौमा दुःख दिएको भनेर लेखिएको छ ।

त्योबेला काठमाण्डौमा भाष्कर मल्ल राजा थिए । उनलाई महामारीले छुन्छ भनेर उनका भाइ भारदारहरुले उनलाई सहरबाहिर लगेका थिए । त्योबेला सहर भनेको अहिलेको नयाँ सडकको छेउमा रहेको ढोका, भोटाहिटी क्षेत्र थियो । रानीपोखरी पनि सहरभन्दा बाहिरको हो । उनलाई स्वयम्भू नजिकैको किमडोल भन्ने ठाउँमा लगेर राखिएको थियो । 

एकदिन काठमाण्डौ सहरका कुनै मानिस राजालाई भेट्न पुगे । राजाले उनलाई सहरतिरको अवस्था के छ भनेर सोधे । उनले पहिलेको भन्दा एकदम राम्रो छ भनेपछि राजा हनुमानढोका दरबार फर्किए । रानी र अरुलेसमेत नजानु भन्दा पनि मानेनन् र दरबार गएरै छाडे । केही दिनपछि महामारीका कारण उनको मृत्यु भएको भन्ने बयान पाइन्छ ।

त्यतिबेला काठमाण्डौभित्र बस्नेलाई महामारीले बढी असर गरेको थियो । यसको अर्थ त्यतिबेला पनि जहाँ जहाँ बढी मानिसहरु बस्थे, जहाँ बाक्लो बस्ती थियो त्यहाँ महामारीले बढी असर गरेको थियो ।

इतिहासको बयानमा त्यतिबेला काठमाण्डौ राज्यमा १८ हजारभन्दा बढी मानिसहरु मरे भन्ने उल्लेख छ । अहिले हामी कोरोनाका कारण नेपालमा ६ सयले ज्यान गुमाए भन्दा आत्तिरहेका छौं । त्यतिबेला त्यो संख्या एकदमै ठूलो थियो ।

बयानमा कतै घरका सबै जना मरे र मलामी जानको लागि पनि मानिस भेटिएनन् भन्ने पनि उल्लेख गरेको देखिन्छ । कुनै घरमा कोही पनि बितेनन् होला । तर पनि हिसाब गर्दा एक घर बराबर एकजना बितेको देखिन्छ । 

यस्तै अहिलेभन्दा दुई सय वर्ष पहिले अर्थात वि.सं. १८६२ मा राजा गिर्वाणयुद्ध वीर विक्रम थिए । उनी वि.सं. १८५४ मा जन्मिएका हुन् । उनलाई उनका बुवा रणबहादुरले डेढ वर्षकै उमेरमा राजा बनाए । हालीमुहाली रणबहादुरकै थियो । उनी स्वामी महाराजको रुपमा बसेका थिए । उनलाई बिफर आएको हुनाले काठमाण्डौका ससाना बच्चाहरु सबैलाई सर्छ भनेर सबैलाई काठमाडौ बाहिर निकालेको बयान पाइन्छ । त्यसबेला राजाले अन्याय गरे भन्ने बिरह व्यथा समेटिएको गीत लेखिएको पनि पाइन्छ । 

मलाई पनि तीन वर्षको उमेरमा बिफर आएको थियो । मेरो बाबुबाजेको पुरानो घर भनेको न्युरोडको गल्ली ओटुबहाल हो । मलाई याद भएअनुसार मलाई झुलभित्र राखिएको थियो । यो त पछिसम्म पनि घरघरमा देखिन्थ्यो । 

जस्तो ठूलो–ठूलो भूकम्प सय–सय वर्षम जान्छ भन्ने छ नि, त्यस्तै यस्ता महामारी पनि सय–सय वर्षमा आउने गरेको पाइन्छ । हामीले १८९० मा पनि ठूलो भूकम्प गएको पायौं । १९ सय ९० मा पनि ठूलो भूकम्प गएको पायौँ । २०७२ मा पनि भूकम्प गयो । हामीले प्रकृतिको धेरै नै दोहन गरेकाले १८ वर्ष अगाडि नै भूकम्प आएजस्तो लाग्छ । 

महामारी पनि धेरै आए, तर अहिलेको कोरोनाको जस्तो श्वासप्रश्वास सम्बन्धी समस्या देखिने खालकै महामारीको बयान भने पाइएको छैन । हाम्रोमा देवता रिसाएर महामारी आयो भन्ने बयान पाइने हो । युरोपियनहरु पनि यहाँ आएको र उनीहरुले प्लेग भनेर लेखेको हो ।

इतिहासको पाठ

हिजो हामी एक, दुई जना सङ्क्रमित हुने बित्तिकै लकडाउन गरेर डराएका थियौं । अहिले ६ सयभन्दा बढीको ज्यान गइसक्दा पनि अमेरिकामा त एक लाख नाघेको छ, फलानोमा त यस्तो छ भनेर चित्त बुझाउँदैछौं ।
त्यसैले नकारात्मक र सकारात्मक भन्ने कुरा व्यक्ति व्यक्ति अनुसार फरक हुन्छ । यो मानिसले त्यसलाई कसरी लिन्छ भन्नेमा भर पर्ने कुरा हो ।

पहिले पनि महामारीहरु लामै समयसम्म रहेको पाइन्छ । कोरोना महामारी कहिलेसम्म रहन सक्छ भनेर भन्न सकिंदैन । कसैले एक महिना कसैले दुई महिनामा जान्छ भने । सरकारले पनि सुरुमा अचानक लकडाउन गर्यो । धेरैले त्यो गर्ने बित्तिकै कोरोना गइहाल्ने हो भन्ने पनि सोचे । त्यतिबेला मानिसहरुले आनन्द पनि माने । 

अहिलेको समाजको अवस्था भनेको बाह्य सम्पर्क धेरै भएको हो । त्यसैले विश्वमै नरोकिकन त नेपालमा मात्रै रोकिने कुरै भएन । रुसबाट यति खोप आउने भइसक्यो । तर हाम्रो आधिकारिक निकायले हाम्रो कुरा भएको छैन भनिरहेको छ । परस्पर विरोधी कुराहरु आइरहेका छन् । अमेरिकाले रुसले बनाएको ठीक छैन, चीनले बनाएको ठीक छैन भन्ने खालका कुराहरु भइरहेका छन् ।

पहिलेको कालामा मानिसमा न्यायप्रति, धर्मप्रतिको आस्था भएकाले जति बिग्रियो बिग्रियो तर त्यसले अरुलाई बिगार्ने भन्ने कुरा कम हुन्थे । तर अहिलेको अवस्था हेर्दा त कोरोना व्यापारको रुपमा पनि देखिने हुनसक्छ । हामीकहाँ परीक्षण गर्ने धेरै बनिसक्यो, तर परीक्षण गर्ने जनशक्ति धेरै छैन । यस्ता धरै कुराले असर गर्छ ।

यो व्यापारको युग हो । अलिअलि धर्म र न्याय लोप हुँदै गएको समय छ । त्यसैले शासकले प्रमाणित भए पनि नभए पनि यो काम गर्दा पैसा खाएको भन्ने आशंक गरिएको छ । अहिले त हरेक कुरामा तरबार बेचुवा र घ्यू बेचुवा भएको छ ।

यस्तो समयमा सरकारले अरु क्षेत्रका बजेटलाई पनि घटाएर कोरोना उन्मुख भएर परीक्षणको दायरा बढाउनुपर्छ । घरभित्रै बस्ने, लकडाउन गर्ने भन्ने कुरा पनि त्यति प्रमाणिक हो जस्तो लाग्दैन । 

यस्तो अवस्थामा आम मानिसले पनि सतर्कता अपनाउनुपर्यो । स्वास्थ्य सम्बन्धी सुरक्षाका मापदण्ड सबैले प्रयोग गर्नुपर्यो । भौतिक दूरी लगायतका कुराहरुको पालना गर्नुपर्यो । अहिलेको अवस्थमा पनि भोजभतेर भनेर डान्स गर्ने, अँगालो मार्ने गरिरहेको देखिन्छ, त्यसमा नियन्त्रण ल्याउनुपर्यो । हाम्रो संस्कार भनेको त नमस्कार गर्ने हो । अँगालो मार्ने होइन । हाम्रो त जुठो खाने पद्धती पनि होइन । यी कुरालाई हामीले पालना गर्नुपर्यो ।

अहिले स्यानिटाइजरमा पनि शंका उठ्छ । त्यो प्रमाणिक छ कि छैन भन्ने कुरा ख्याल गर्नुपर्छ । आजसम्म बियर मुखमा नपरेकोले पनि रक्सीको मिसिएको स्यानिटाइजर हातमा राख्नुपरेको छ । त्यसैमाथि त्यसमा मिथानोल जस्तो विषादी पनि परेको छ ।

हामी त बिहान सबेरै नुहाउँछौं । धोती फेरेर पूजा गर्छौं । खाली खुट्टा हिँड्छौं । पहिले हात पखाल्ने मात्र हुन्थ्यो । अहिले साबुनपानीले हात धोइरहेको छौं । 

पहिले महामारीकै कारण चाडपर्व रोकिएको भन्ने त मैले पढेको छैन । अहिले त सरकारले पनि सबै कुरा छोडेको छ, मन्दिर किन छाडेको छैन ? स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मन्दिर जान पनि दिनुपर्छ । एक अर्कालाई भेट्दा पनि सुरक्षित ढंगले भेट्न जानुपर्यो । महत्वपूर्ण कुरा सचेतना अपनाउने हो । सबैले आआफ्नो ठाउँबाट सचेतना अपनाएमा, नियम पालना गरेमा, सरकारले परीक्षण र उपचारलाई जोड दिएमा महामारी नियन्त्रणमा आउँछ ।

(इतिहासविद् पन्तसँगको कुराकानीमा आधारित)

अन्तिम अपडेट: कात्तिक ६, २०७७

दिनेशराज पन्त

पन्त इतिहासविद् हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया