सप्तरीमा तस्कर पक्राउ गर्ने क्रममा प्रहरी र स्थानीयबीच झडप, हवलदारसहित २ प्रहरी घाइते

 असोज २८, २०७७ बुधबार १७:५:३२ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीको राजविराज नगरपालिका १३ काे मुसर्नीयाँमा मङ्गलबार राति तस्कर पक्राउ गर्ने र जोगाउने विषयमा विवाद हुँदा प्रहरी र स्थानीयवासीबीच दोहोरो झडप भएको छ । झडपका क्रममा प्रहरीले चार राउण्ड हवाई फायर गरेको थियो ।

झडपमा प्रहरी हवल्दारसहित दुई प्रहरी घाइते भएका छन् । मङ्गलबार राति १० बजे राजविराज नगरपालिका १३ को मुसर्नीयाँमा रहेकाे नहरमा भारतीय बजारबट तस्करी गरी ल्याएको सामान बरामद गर्न गएको प्रहरीमाथि आक्रमण भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सप्तरी र प्रहरी चौकी बाेदेबरसाईनबाट प्रहरी सहायक निरीक्षक (असई) को नेतृत्वमा खटिएको प्रहरी टोलीले राति १० बजे घेरा हालेपछि तस्करहरुले स्थानीयसँग गुहार मागेका थिए । तस्करहरुलाई जोगाउन झण्डै ७०/८० जना स्थानीय व्यापारी र सर्वसाधारणले घरेलु हतियारसहित प्रहरीलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रप्रसाद धमलाले बताउनुभयो ।

स्थानीयवासीले घेरा हालेर लाठी र भालाले आक्रमण गरेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन चार राउण्ड हवाई फायर गरेको थियो । यसैगरी जिल्ला प्रहरी कार्यालय सप्तरीबाट थप प्रहरी पठाएर स्थितिलाई नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घटनामा एक प्रहरी हवल्दार र एक प्रहरी जवानको टाउको फुटेको छ । उनीहरुको राजविराजकाे गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको टाउकोमा सात वटा टाँका लागेको र एक जनाको अवस्था सामान्य रहेको एसपी धमलाले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २३, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया