व्यङ्ग्य - मन्त्रिपरिषद्मा जुन नाम हेरे पनि महिला !

 कात्तिक १, २०७७ शनिबार १०:२५:९ | मिलन तिमिल्सिना
unn.prixa.net

काठमाण्डौ - स्थिर सरकारको अस्थिर मन्त्रिपरिषद् ! मन्त्रीहरु एघारौँ पटकसम्म फेरबदल भैसकेका छन् । तर, पार्टीको चित्त बुझाउने आमुल हेरफेर हुन त बाँकी नै छ । मन्त्रीको पद हो, पालैपालो खानै पर्यो । 

त्यसैले, कहिले यसको पालो, कहिले उसको पालो ! कोही पालो पर्खने, कोही पालो मिच्ने, कोही अरुलाई पालै दिन नखोज्ने ! तर पनि प्रधानमन्त्री के.पी. शर्मा ओली पोलिटब्युरो, अध्यक्ष, सचिवालय सबका सबलाई तीनछक्क पार्दै मन्त्रीहरु फेर्न र थप्न सफल हुनुभएको छ । 

यसरी अनुहार फेरिँदा महिलाहरु धेरै फेरिएनन् या थपिएनन् भनेर धेरैले सरकारको आलोचना गरेका छन् । तर मन्त्रिपरिषद्को लामो सूची माथिदेखि तलसम्म हेर्ने हो भने जता पनि नाम चाहिँ महिलाका जस्तै लाग्छन् । अनुहार कस्तो छ भन्ने कुरा छाडौँ, नाम हेरौँ। आखिर अनुहार र काममा के छ र ? जे छ नाममै छ । महिला भनेर चित्त बुझाउन सकिने केही नामको चर्चा गरौं । 

मन्त्रिपरिषद्को लामो सूची माथिदेखि तलसम्म हेर्ने हो भने जता पनि नाम चाहिँ महिलाका जस्तै लाग्छन् । अनुहार कस्तो छ भन्ने कुरा छाडौँ, नाम हेरौँ। आखिर अनुहार र काममा के छ र ? जे छ नाममै छ । 

सबैभन्दा माथिको नाम हेरौं, केपी । कसैले केपी मात्रै भन्यो भने पनि केटीजस्तो सुनिन्छ । केटी भनेको महिला । केपी भन्दा केटी सुनियो भने योभन्दा बढी समावेशी र उदार प्रतिनिधित्व अरु के हुन सक्छ ? नामलाई छोडेर थर हेरौं।

वली मात्रै भन्दा चर्चित गायिका तथा समाचारवाचिका कोमल वलीको सम्झना आउँछ । वली भन्दा कोमल वलीको सम्झना आयो भने पनि यसलाई मन्त्रिपरिषद्मा महिला समावेशिताको गज्जबको नमूना मान्न सकिन्छ । अझ केपीको छोटकरी रुपलाई कविता पाठक या कन्या पहाडी भनेर व्याख्या गर्न सकियो भने महिला सहभागिता खोज्नेलाई अझ बढो सन्तोष मिल्छ ।

अब मन्त्रिपरिषद् सूचीको दोस्रो नाम हेरौं । काम र ठाउँ हेरफेर भए पनि दोस्रो नम्बरको नाम हेरफेर भएको छैन । पद घटुवा, बढुवा जेसुकै होस् पावर र पैसा घटेको छैन । नम्बर पनि उही, नाम पनि उही -ईश्वर । ईश्वर पुरुष मात्र होइनन्, महिला पनि हुन्छन् । देवी पनि ईश्वर, देवता पनि ईश्वर । त्यसैले आफूलाई पायक पर्ने हिसाबले ईश्वरलाई देवता या देवी मान्न सकिन्छ । ईश्वरलाई देवीको रुपमा लिइयो भने मन्त्रिपरिषद्मा अर्को शक्तिशाली महिलालाई देख्न पाइन्छ ।

अब बालुवाटारमा एकाएक चर्चा भएर अर्थ मन्त्रालयको बागडोर सम्हाल्न पुगेका अर्का नयाँ मन्त्रीको नाम सम्झौँ -विष्णु । विष्णु भनेका पनि ईश्वर । ईश्वरका अनेक रुप । विष्णुका पनि बहुरुप । विष्णु केटाको मात्रै होइन, केटीको पनि नाम हुन्छ । अनुहार नहेरेर नामको मात्रै कुरा गर्ने हो भने ईश्वरपछिका विष्णुलाई पनि महिलाको प्रतिनिधित्वको रुपमा मान्न सकिन्छ ।

नाम हेर्दा महिलाजस्तो लाग्ने अर्काे सूची हो शक्ति । नामअनुसारको कर्म । सँगै मन्त्री भएका अरु लाखापाखा लागिसके पनि शक्ति र भक्तिका कारण उही ठाउँमा टिकिरहन सफल नाम -शक्ति । शक्ति पुरुषको मात्रै होइन, महिलाको पनि नाम हुन्छ । त्यसैले शक्ति नाम देखेर मन्त्रिपरिषद्मा महिलाको शक्तिशाली उपस्थिति छ भनेर रमाउन सकिन्छ ।

अब महिला नै मन्त्रालय सम्हाल्न पुगेका यसअघिका र अहिलेका मन्त्रीको नाम हेरौं । पहिलेका मन्त्रीको नाम पार्वत । पहिले पार्वतलाई सबैले पार्वती नै ठाने । नाम पार्वत, मन्त्रालय महिला भनेपछि मान्छे पुरुष हो भन्ने कसैलाई लागेन । मन्त्री नियुक्त गर्नेहरुलाई पनि लागेन होला । त्यसैले महिलाकै नामसँग मिल्ने नाम खोजेर महिला मन्त्रालयमा राखियो । अनुहार जस्तो होस्, नाममा महिला छ । त्यसैले महिला नै हुनुपर्ने ठाउँमा जो आए पनि मान्छेहरुले नाम हेरेर चित्त बुझाए ।

अहिले त्यही ठाउँमा अदलीबदली भएर आएका नयाँ नाम त झन् सरासर महिलाकै हो भन्न धेरै सोच्नै पर्दैन । नयाँ मन्त्रीको नाम उच्चारण गर्दा लिंग भेद कल्पना पनि गर्न मिल्दैन । पछिल्तिर जोडिएको नाथलाई छोडी अघिल्तिरको मात्र नाम हेरौं - लिला । प्रभुको लिला, प्रधानमन्त्रीको लिला । नाम नै लिला । लिलालाई कसरी महिला हो नभन्ने । सुन्नेबित्तिकै महिला लाग्ने नाममा अनुहार पुरुष देखेर कोहोहोलो गर्नेहरु बरु अबुझ हुन् । मन्त्रिपरिषद्मा महिला भएनन् भनेर विरोध गर्नेहरुले बुझून् -नाम देख्दामै महिला जस्तो लागेर महिला राष्ट्रपतिले नियुक्त र शपथ गर्नुभएको हो । 

प्रधानमन्त्री र राष्ट्रपतिलाई थाहा छ मन्त्री फेर्ने काम सजिलो छैन । तर नागरिकको मुहार फेर्ने काम मन्त्री फर्ने भन्दा निकै कठिन छ । कठिन काम पछिकालाई थाँती राखेरै पनि यो देशको प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओली पटकपटक मन्त्रीहरुको अनुहार फेर्न सफल हुनुभएको छ । आफु त परियो नेपाली नागरिक । सरकारको पारा देखेर वाक्क दिक्क भैरहेको आफ्नै अनुहार नयाँ मन्त्रीका अनुहारको चमक बादलभित्रै पनि उज्यालिन थालेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया