परदेशीलाई दशैँको न्यास्रो

 कात्तिक ३, २०७७ सोमबार १५:४०:२४ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

अमित प्रकाश पाण्डे/अर्घाखाँची, हाल यूएई

भोलि त घर लिप्ने हो भनेर गाउँका दाजुभाइ–दिदीबहिनी डोको बोकेर कमेरो र रातोमाटो लिन जाने दशैँ आइसक्यो ।

यसपालि खसी कसको घरमा काट्ने र कस्तो कपडा किन्ने भन्ने कुराको कुनै चटारो छैन । यसपालि छ त मनभरी पीडा, आँखाभरी आँसु । न त घर जान नै सकिन्छ, न त परदेशमा गाउँले दाजुभाइ–दिदीबहिनी तथा विभिन्न सामाजिक संस्थासँग मिलेर नै दशैँ मनाउन सकिन्छ । कोरोना महामारीले चाडपर्वहरु कागलाई बेल पाक्यो हर्ष न विष्मात् बनाइदिएको छ हामी परदेशीलाई ।

परिवारको खुशी र भविष्यका अनगिन्ती सपनाहरु पूरा गर्ने आशाले सात समुन्द्र पारी ल्याइ पुर्यायो । दशैँ तिहार जस्ता महान पर्वमा घर गएर बुवा–आमाको आशिष लिँदै टीका र जमरा लगाउने मन नभएको त कहाँ हो र ? तर न त भनेको बेला जहाजको टिकट पाइन्छ, न त अहिलेको अवस्थामा घर जान नै सहज छ । महामारीका कारण अनेकौं कठिनाइ भोगेर बल्लतल्ल आफू कार्यरत कम्पनीमा काम नियमित भएको बेला बिदा माग्न पनि मनले मान्दैन ।

तीन चार महिनामा हुने कमाइ त घर जाने हो भने एकतर्फी टिकटमै सकिन्छ । नेपाल पुगेपछि पनि फेरि अनेकथरी जाँचको महँगो शुल्क तिर्नुपर्छ । यसरी थुपारिएको अनेकथरी शुल्कले परदेशीलाई पीडा माथि पीडा थपेको छ । त्यसैमाथि उता गएपछि आउन पाइने हो कि होइन, कुनै निश्चित छैन । आफ्नै देशमा छँदा जे जस्तो भए पनि परदेशमा चित्त बुझाउन सकिंदैन रहेछ । त्यसैमाथि चाडपर्वको समय ।

अरुबेला त काम गर्यो, विभिन्न बहाना बनायो, मन बुझायो । तर चाडपर्व आउँदा भने मन भक्कानिन्छ । कतिबेला घर जाउँ र कति बेला परिवार भेटौँ अनि दुःखसुखका कुरा गरौँ जस्तो हुन्छ । परिवारसँगै बसेर खाना खान पाए हुन्थ्यो भन्ने कुरा मनमा बिझाइरहन्छ । त्यसपछि एकान्तमा रुनुबाहेक अरु केही हुँदैन ।

देशको फितलो कानुन तथा देशभित्रै रोजगारीका अवसर नहुँदा हरेक चाडपर्वले मजस्ता हजारौँ युवालाई रुवाउँछन् । परदेशमा ईद, रमदानमा छुट्टी मिले पनि आफ्नो महान पर्वमा बिदा नपाउँदा मन खल्लो हुन्छ । कम्पनीको काम सकेर कोठमा पुगेपछि फेसबुक खोलिन्छ । गाउँघरमा टीका लगाएकार सेल्फी खिचेका फोटाहरु देखिन्छन् । त्यही हेरेर चित्त बुझाइन्छ ।

केही वर्ष पहिलेको दशैँमा त मैले पनि यसरी नै टीका लगाएको थिएँ भनेर याद गरिन्छ । बस् त्यति त हो परदेशमा गर्ने भनेको । कसले कति दक्षिणा दिए भन्दै गन्न थालिहाल्ने मलाई आज दशैँको सम्झानाले निकै पिरोलेको छ । आमाको निकै याद आउँछ ।

‘कान्छा पोहोर पनि आइनस् यसपालि पनि खै कोरोना भन्छन क्वरेण्टीन भन्छन के आउलास् र’, आमाले फोन गर्दै भन्नुहुन्छ, ‘माया मारिस् है, मुख देख्नै नपाई परलोक गइन्छ जस्तो छ ।’ आमाले यसो भन्दा मुटुमा गाँठो पर्छ तर पनि आमालाई सम्झाउनै पर्यो । ‘अहिले यता पनि अलि अप्ठ्यारो छ, भनेको बेला टिकट नि पाउँदैन यो कोरोना अलि कम भएपछि आउँछु नि आमा, पीर नगर्नुस है’ भनेर सम्झाउँछु ।

अन्तिम अपडेट: कात्तिक ८, २०७७

1 Comments

  • Deepakbhusal

    Oct. 20, 2020, 8:59 a.m.

    अति सुन्दर ...दशैंको शुभकामना /

  •  0 Reply

तपाईको प्रतिक्रिया