चिया बगानको जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा
मंसिर ७, २०८१ शुक्रबार
दशैँमा कोरोना फैलने डर र सावधानीको विषयमा चर्चा गर्नुअघि वीरगञ्जमा कसरी कोरोना नियन्त्रणमा ल्याउन सक्यौँ भनेर कुरा गरौँ ।
पहिले सङ्क्रमण निकै फैलिएको वीरगञ्जमा अहिले अवस्था सामान्य हुँदै गएको छ । कोभिड केन्द्रीत गरेर सुरुमा सञ्चालनमा ल्याइएका गण्डक कोभिड अस्थायी अस्पताल र वीरगञ्ज हेल्थ केयर कोभिड अस्पताल बन्द छन् ।
सबैभन्दा पछि नेशनल मेडिकल कलेज अन्तर्गत रहेको बाबा कोभिड अस्पताल झण्डै डेढ सय बेडको हामीले खोलेका छौँ । त्यस अस्पतालमा पनि अहिले ३० देखि ३५ जना कोरोना बिरामी मात्र छन् । भनाइको अर्थ अहिले भर्ना भएका बिरामीको सङ्ख्या एकदमै कम छ । भेन्टिलेटरतिर बिरामी छैनन् । आईसीयूमा दुईचार जना गम्भीर बिरामी छन् । यो हाम्रो लागि सुखद पक्ष हो ।
कोभिड विरुद्धको लडाइँ सफलतापूर्वक लडेर हामी आज यो अवस्थामा आएका हौँ । धेरै मानिसको आरोप पनि छ कि परीक्षण घटेर यस्तो भएको हो । तर परीक्षण घटेको भए पनि कोही सङ्क्रमित भएर अथवा लक्षण देखिएको खण्डमा अस्पताल पुग्थे र त्यसको उपचार हुन्थ्यो ।
भनाइको अर्थ पहिले रोग समाजमा जुन हिसाबले फैलिएको थियो, त्यो अहिले घटेको छ र बिरामीको सङ्ख्या पनि घटेको छ । वीरगञ्जमा एकदमै मात्रामा बिरामी छन् र अवस्था सामान्य छ । वीरगञ्जमा कोभिड सङ्क्रमणलाई कम गर्न हामीले बिरामीको कन्ट्याक्ट ट्रेसिङ गर्ने र लकडाउन गर्ने गरेका थियौं ।
मानिसको ‘मुभमेन्ट’ भयो भने यो रोगको सङ्क्रमणलाई रोक्न सकिँदैन । त्यसकारण हामीले वीरगञ्जमा साउन महिनाभर लकडाउन गर्यौँ। यो लकडाउनले हामीलाई चेन ब्रेक गर्न फाइदा भयो । जो जो पोजेटिभ आए उनीहरुको कन्ट्याक्ट ट्रेसिङ र उपचार गर्दै गयौं ।
म काठमाण्डौको डाक्टरलाई के भन्न चाहन्छु भने, ढिलो उपचार गर्दा कोभिडसँग सकिँदैन । यसलाई सुरैमा उपचार गरिहाल्नुपर्छ । भनाइको अर्थ हामीले जुन अक्सिजन घट्ने कुरा गर्छौँ, सामान्यतया ९० प्रतिशतसम्म अक्सिजन आयो भने हामी त्यसलाई सामान्य मानिरहेका हुन्छौँ।
९० भन्दा तल गएपछि मात्र उपचार थाल्छौँ । तर कोभिडको केसमा हामीले ९५ प्रतिशतमै उपचार गर्न तत्परता देखायौँ भने कोभिडका बढी बिरामी बचाउन सक्छौँ। हामीले पनि त्यही गर्यौं । अक्सिजनको मात्रा ९४ र ९५ प्रतिशत जति हुँदै हामीले उपचार थाल्यौँ र सबै बिरामी निको हुँदै गए । त्यसले गर्दा बिरामीको मृत्युदर घट्दै गयो । त्यसपछि हामीलाई पनि हौसला मिल्यो । अनि हामीले ९५ प्रतिशत भन्दा तल पुग्नासाथ उपचार गर्ने प्रण गर्यौं । यही गरेर हामीले बिरामीलाई चाँडो ठीक गर्यौं र सङ्क्रमणदर पनि घटायौँ ।
पहिलाको मान्यता भनेको हामी अक्सिजनको मात्र ९० प्रतिशत हुनसम्म कुर्थ्यौँ । त्यसले गर्दा बिरामी अचानक गम्भीर भएर ८५, ८०, ७० सम्म पुग्ने र आईसीयू, भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आउन सक्थ्यो । त्यसैले हामीले यस तथ्यमा एक प्रकारको अनुभव विकास गरेर त्यसैअनुसार काम गर्दा फाइदा भेटेको हो ।
कोभिडमा कन्ट्याक्ट क्याम्प भन्ने कुरा एकदमै महत्वपूर्ण छ । कोभिड सङ्क्रमितसँग तपाईँको सम्पर्क कति लामो समयसम्म भयो भन्ने सबैभन्दा महत्वपूर्ण कुरा हो । दश मिनेटभन्दा माथिको कन्ट्याक्ट भयो भने सर्ने सम्भावना एकदमै बढी हुन्छ ।
सङ्क्रमित र सङ्क्रमित नभएको मानिस यदि आमनेसामने छन् र यो बीचमा दुवैजनाले राम्रोसँग मास्क लगाएका छौं भने सङ्क्रमण हुने दर दुई प्रतिशतभन्दा पनि कम हुन्छ । तर मास्क राम्रोसँग नलगाएको वा लगाउँदै नलगाएको भएमा सङ्क्रमणको जोखिम उच्च हुन्छ ।
‘मास्क ह्याण्ड्लिङ’ हामीहरुको समस्या हो । एकआपसमा बोल्न खोज्दा हामी कि त मास्क खोल्छौं कि त चिउँडोमा लगाउँछौँ । यो बानी नै सबैभन्दा ठूलो घातक हो । यसैबाट सङ्क्रमण एकजनाबाट अर्कोमा सर्छ। त्यसकारण मास्कलाई कसरी प्रयोग गर्ने भन्ने कुरा नै सबैभन्दा चुनौतीको विषय हो । मास्कको प्रयोगमा हामी खेलाँची गर्छौं । यो प्रवृत्ति सुधार्नुपर्छ ।
‘सपिङ’ गर्दा पनि ध्यान दिऔँ
अहिले चाडबाडको बेला छ । हामी किनमेल गर्न बजार जान्छौं । किनमेल गर्दा सामान छान्नेदेखि सामानको मोलामोलाइ गर्ने बेला हाम्रो सम्पर्क १५ देखि २० मिनेटसम्मको हुन सक्छ । त्यो भन्दा बढी पनि हुन्छ ।
व्यापारी वा ग्राहकमध्ये कोही सङ्क्रमित हुन सक्छ । त्यस्तो अवस्थामा पसलले भीडलाई कसरी व्यवस्थापन गरेको छ जस्ता कुराले फरक पर्न सक्छ । पसलमा जानुभन्दा अगाडि हात धुने र स्यानिटाइजरको व्यवस्था गरेको छ कि छैन भन्ने कुराले पनि फरक पार्छ । यस्तै अलिकति पनि लक्षण भएको व्यक्ति छ भने उसलाई सामान किनबेच गर्न रोक्नुपर्छ ।
कोभिड-१९ भाइरस कुनै पनि प्रकारको धातुजस्तो वस्तुमा ४० देखि ४८ घण्टासम्म टिक्छ । कपडामा पनि झण्डै दुई दिनसम्म रहने अध्ययनले जनाएको छ । हामीले किनेर ल्याएका सामानलाई ५/६ घण्टासम्म घाममा छाड्ने हो भने भाइरसहरु मर्छन् कि भन्ने कुरा पनि वैज्ञानिक मान्यता छ । यसकारण सामान किनेर ल्याएपछि घरमा कसरी भित्र्याउने र कसरी राख्ने भन्ने कुरामा ध्यान दिनुपर्छ ।
धुन मिल्ने छ भने साबुन सरफले धोएर सुकाएर भित्र लैजान सकिन्छ । यस्तै धुन मिल्दैन भने ५/६ घण्टा घाममा सुकाएर भित्र लैजान सकिन्छ ।
गाडीमा यात्रा गर्दा
यात्रा गर्नु भनेकै भीडभाड गर्नु हो । यात्रा गरेको ठाउँभित्र कोही सङ्क्रमित छ भने फैलने सम्भावना धेरै हुन्छ ।
दशैँमा टाटा सुमो अथवा गाडी रिजर्भ गरेर घर जाने हाम्रो प्रवृत्ति छ । त्यस्तो सानो गाडीमा बन्द कोठा हुन्छ, एकआपसमा हामी टाँसिएर बस्छौँ । त्यसैमाथि ५/६ घण्टा भन्दा बढीको यात्रा हुन्छ । यस बीचमा कन्ट्याक्ट धेरै हुन्छ भने त सर्ने सम्भावना पनि धेरै हुन्छ । त्यसैले सरकारले भनेजस्तै जो जहाँ हुनुहुन्छ, त्यहीँबाट दशैँ मनाउनुस् ।
जीवनमा एउटा दशैँसँग सम्झौता गर्दा सङ्क्रमण फैलिनबाट रोकिन्छ भने हामीले त्यो गर्नुपर्छ । हुन सक्छ यो दशैँसँग हामीले सम्झौता गरेनौं भने आगामी दिनका दशैँहरु हामीले नदेख्न पनि सक्छौं । यस्तै निजी गाडी छ आफ्नो परिवार मात्रै जान्छु भन्ने पनि हुन्छन् ।
सामान्यतया श्रीमान श्रीमती छन् भने सँगै भइरहेको अवस्थामा एउटामा छ भने अर्कोमा हुन सक्छ । बाइकमा जाने हो भने केही फरक पर्दैन । परिवारका सदस्यहरु सँगै गइरहेका छन् भने सामान्य स्वास्थ्य मापदण्डहरु पालना गरेर जान सकिन्छ ।
टीका लगाउँदा
टीका लगाउँदा पनि ध्यान दिनुपर्छ । टीका लगाउने र टीका थाप्नेमध्ये कोही सङ्क्रमित छन् कि छैनन् भन्ने कुरामा ध्यान दिनुपर्यो । कसैलाई अलिकति पनि खोकी लागेको छ या रुघा लागेको छ भने सकेसम्म टीका नै नलगाएको राम्रो हुन्छ ।
यस्तै सुरुमा सबैले राम्रोसँग साबुनपानीले हात धुने र मास्क लगाएर टीका लगाउन सकिन्छ । घरमा धेरै मानिस छन् भने वा एउटाले धेरै मानिसलाई लगाउनुछ भने एउटालाई लगाइसकेपछि हात धोएर वा स्यानिटाइजर लगाएर अर्कोलाई लगाउन सकिन्छ ।
मैले देखेअनुसार जो ‘ओभर कन्फिडेन्ट’ हुन्छन् उनीहरु नै कोभिड सङ्क्रमित भैरहेका छन् । हामीले कोरोना सङ्क्रमितको उपचारमा खटिँदा जहिले पनि होसियारी अपनायौँ, त्यही भएर कहिल्यै सङ्क्रमित भएनौँ । तर हाम्रै सर्जन साथीहरु कतिपयले बिरामीमा लक्षण पनि छैन केही हुँदैन भनेर सावधानी अपनाउनुभएन र उहाँहरु सङ्क्रमित हुनुभयो ।
जबकी रुघाखोकीको बिरामी हेर्ने भनेका फिजिसियन डाक्टरहरु हुन्, उहाँहरु कम सङ्क्रमित हुनुभयो तर सर्जन डाक्टरहरु बढी सङ्क्रमित हुनुभयो । त्यसैले आफूभन्दा अगाडि बसेको मानिसमा कोभिड छ भन्ने ठान्नुहुन्छ भने मात्रै तपाईँ सङ्क्रमणबाट बच्नुहुन्छ ।
बाटोमा हिँड्दा तथा कसैलाई भेट्दा
सामान्यतया बाटोमा हिँड्दा एकअर्कासँग नछोइयोस् भनेर ध्यान दिनुपर्छ । बाटोमा हिँड्दा कसैसँग लगातार सम्पर्क हुँदैन । कसैसँग छोइए पनि चार पाँच सेकेण्डसम्म होला, त्यतिमै संक्रमण भइहाल्छ भन्ने हुँदैन । त्यसैले बाटोमा कसैसँग छोइयो भन्दैमा डराउनुपर्दैन ।
तर जब कसैले आफ्नो मान्छे हो यसलाई त कोरोना लागेको छैन भनेर ढुक्क भएर चियाकफी खान्छ, सँगै बसेर गफ गर्छ त्यस्तोलाई कोरोना सङ्क्रमण बढी भएको देखिन्छ । मैले यस्तो बिरामी पनि पाएको छु, जो चार महिनासम्म घरबाहिर कतै निस्केन ।
एक दिन वीरगञ्जकै एकजना नेताले उहाँलाई कोरोना बारेकै बैठकमा छलफल गर्न बोलाउनुभयो । उहाँको घरमा छलफल गर्न जानुभयो । नेताजीले कफी पिउन भन्नुभयो । कफी पिउन मास्क खोल्नुभयो, सँगै कफी पिउनुभयो । त्यहीँबाट ती व्यक्तिमा पनि कोरोना सङ्क्रमण भयो । भनेपछि त्यो मान्छे, जो चार महिनादेखि घरबाहिर निस्केको थिएन, एकदिन गएर सङ्क्रमित भएर आयो भनेपछि कति विरक्त लाग्यो होला । त्यसपछि त्यो व्यक्ति आईसीयूसम्म पुग्यो र २७ दिन आईसीयूमा पुगेर फक्र्यो ।
सामान्य रुघाखोकी र कोरोनामा फरक
कोरोनाको खोकी जहिले पनि सुख्खा प्रकारको हुन्छ । यसमा नाकमा पानी तथा सिँगान बग्ने हुँदैन । स्वास फेर्न गाह्रो हुन्छ । छातीमा एकदमै गह्रुँगो अनुभव गर्छ । आफ्नो फोक्सोमा बाक्लो तरल पदार्थ अथवा लेदो प्रकारको केही जमेको छ र त्यसैकारण हावा छिरेन कि भन्ने अनुभूति हुन्छ । तर उनीहरुको नाकबाट सिँगान बग्दैन, स्वाँस्वाँ बढी हुन्छ ।
कोरोनाको खोकी एकदमै लामो समयसम्म रहन्छ । खोक्न खोज्दा पनि खोक्न सक्दैन । बढ्दै बढ्दै गएर पछि बोल्न पनि गाह्रो हुन्छ । कहिलेकाहीँ बोल्न खोज्दा अथवा भनौं आफ्नो नाम उच्चारण गर्न लाग्दा पनि उसलाई खोकी बीचैमा आइ दिनसक्छ । शब्द बोल्दा गाह्रो हुँदैन, तर वाक्य बोल्दा गाह्रो हुन्छ ।
तर मौसमी फ्लूमा रुघा बढी लाग्छ । नाकबाट सिँगान बग्छ । त्यो भनेको हामीमा भइरहने सामान्य एलर्जी र भाइरल इन्फेक्सनले गर्दा हो । अन्त्यमा अहिले दशैँको समय छ । सबै मानिसहरु लामो समयपछि घर जान पाइयो भनेर घार जाँदै हुनुहुन्छ, कति गइ पनि सक्नुभयो ।
यो महामारीको समय हो । हामी भावनामा नबगौँ । सक्दो दशैँसँग सम्झौता गरौं । अहिले काठमाण्डौमा कोरोना छ, दशैँको नाममा काठमाण्डौ रित्तिनेछ । भनेपछि काठमाण्डौबाट बाहिर जानेहरुले देशका कुना कन्दरासम्म कोरोना फैलाउँछन् । त्यसकारण सकभर हामी गाउँ नजाउँ, जहाँ छौं त्यहीँ बसौँ । त्यस्तै अवस्था छ भने एकदमै सावधानी अपनाएर जाऔँ, सकेसम्म होम आइसोलेशनमा बसौं ।
(वीरगञ्जको नारायणी अस्पतालका फिजिसियन डा. सिंहसितको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
डा .निरज सिंह वीरगञ्जको नारायणी अस्पतालका फिजिसियन हुनुहुन्छ ।