व्यङ्ग्य - यसपालि दशैँमा जता फर्के पनि फाइदा !

 कात्तिक ८, २०७७ शनिबार १०:१२:२९ | मिलन तिमिल्सिना
unn.prixa.net

काठमाण्डाै - कोरोनाले गर्दा दशैँ खल्लो भयो । पोहोर पराजस्तो भएन । नयाँ लुगाफाटा, मरमसला, सरसामान किन्न पाइएन ।

नयाँ नोट साट्न पाइएन । पिङमा मच्चिन पाइएन । माइत मावल र ससुराली त परको कुरा, आफ्नै घर पनि जान पाइएन । जमघट र रमाइलो  गर्न पाइएन । नुन नहालेको तिउनजस्तै खल्लो भयो दशैँ । दशैँ आए, नआएको उस्तै भयो । 

धेरैलाई यस्तै लागेको छ । तर दशैँ नरमाइलो र खल्लो मात्र होइन, कोरोनाकै कारण यसपालि दशैँमा जता फर्के पनि फाइदा नै फाइदा छ । कसरी भन्नुहोला । ल हेर्नुहोस्, यसरी । पहिलो कुरा त पहिलेजस्तो यसपालि दशैँमा नयाँ लुगाफाटा किन्न परेन । लुगाफाटा किन्ने पैसा जोगियो । नयाँ नोट साट्न परेन । राष्ट्र बैंकले नै नयाँ नोट नसाटेपछि साट्छु भनेर पनि पाइएन । नयाँ नोट नै साट्न नपरेपछि पुरानो नोट जोगियो । किनमेलमा समेत खर्च गर्न नपरेपछि नोट खल्तीमै रहने भयो ।

अर्को कुरा

दशैँ मान्नकै लागि शहरबाट गाउँ जान परेन । बसमा उभिएर, खाँदिएर, चेपिएर, हेपिएर यात्रा गर्नुपर्ने झण्झट बेहोर्नु परेन । बसभाडा पनि जोगियो । टिकट नपाउने, टिकट पाए पनि सिट नपाउने, सिट पाए पनि बस्न नपाउने, चालक र सहचालकसँग कचकच गर्नुपर्ने सबै हैरानीबाट ढुक्क भइयो ।

दशैँ मान्न गाउँ जान परेको भए घरमा बाआमालाई काम सघाउनु पर्दथ्याे । घाँस भकारो, पानी पँधेरो, भाँडा धोइपखाली लगायतका लुतेधन्दा जाँगर नभए पनि गर्नुपथ्र्यो । सक्दिनँ, गर्दिनँ भनेर सुख पाइँदैन थियो । शहरमा सुखले कटाएको ज्यान गाउँमा दुई, चार दिन बस्दा उकुसमुकुस हुन्थ्यो । तर दशैँ मान्न जानै नपरेपछि घरधन्दा गर्नुपर्ने झण्झटबाट पनि मुक्ति मिल्यो ।

सबैभन्दा ठूलो कुरा दक्षिणा जोगियो । दशैँमा लिने दक्षिणाभन्दा दिने दक्षिणा धेरै हुन्थ्यो ।  माइती, मावली, ससुराली नजिकै भए त ठिकै हुन्थ्यो । तर टाढाको छ भने कहिलेकाहीँ त बसभाडा पनि उठ्दैनथियो ।

बल्लतल्ल दोब्बर भाडा तिर्दै, कोचिँदै टीका थाप्न पुग्यो, फर्कंदा गोजी रित्तै । अनि घरमा आफूले टीका लगाएर दक्षिणा दिनुपर्ने छुट्टै । यसपालि पाउनेभन्दा धेरै खर्च गरेर दक्षिणा लिन जानु पनि परेन, अरुलाई दक्षिणा दिन पनि परेन । दक्षिणाको लागि हुने खर्च पनि जोगियो ।

दशैँ भनेको मिठोमसिनो खाने, नयाँ लुगा लगाएर अरुलाई देखाउने र रमाइलो गर्ने चाड हो । हिजोआज मिठो खानकै लागि दशैँ पर्खनुपर्ने अवस्था छैन । हप्तामा एक दिन जसको घरमा पनि मासु पाक्छ । त्यसमाथि कोरोनाले खानलाई रोक्दैन । घरमा बसेर जति जे खाए पनि भयो ।

अब कतै जान नपरेपछि नयाँ लुगा चाहिने कुरा पनि भएन । माइत, मावल, ससुराली र अरु आफन्तकोमा जान नपरेपछि किन चाहियो नयाँ लुगा ? आफ्ना घरकाले मात्र देख्ने भएपछि पुरानै लुगाले पनि काम चलिहाल्छ । दशैँमा रमाइलो गर्न पाइएन, दिन कसरी कटाउने भन्ने चिन्ता पनि होला । तर रमाइलो आफूले गर्नैपर्छ भन्ने छैन । रमाइलो गर्न सरकार छँदैछ ।

प्रधानमन्त्रीदेखि मन्त्री र सरकारी कर्मचारीले दिनहुँजसो केही न केही उपद्रो गरेर रमाइलो गरिरहेकै छन् । सामन्तवादको अवशेष पनि देख्न सक्दैनौं भन्नेहरुले रअ का सामन्तसँग कानेखुसी गरेर जग हँसाएकै छन् । अब मिलिसक्यौं, मनमुटाब छैन भन्ने सत्तारुढ पार्टीका नेताहरु कहिले बालुवाटार र कहिले कर्णालीमा पालैसँग भिडेर मनोरञ्जन दिइरहेकै छन् ।

दशैँ भत्ता लिने र फिर्ता गर्ने मन्त्री र सांसदहरुको मजाक चलिरहेकै छ । यहीबेला सरकारले कोरोनालाई पनि दशैँ बिदा दिएको छ । ५ दिन कोरोनाको जाँच पनि नगर्ने, मतपरिणाम सार्वजनिक गरेजस्तो हरहिसाब पनि नभन्ने । दशैँको मूडमा रहेका नागरिकलाई कोरोना लाग्न दिन पनि भएन । कोरोनाको जाँच पनि नहुने, यति पुग्यो, यति मरे भन्ने सुन्न पनि नपरेपछि सबैलाई आनन्द पनि हुन्छ । रमाइलो, मनोरञ्जन र आनन्द सँगसँगै । दशैँको लागि सरकारले दिएको उपहार हो, यो ।

दशैँमा खर्च पनि गर्न नपर्ने, अनि घरमै बसीबसी सित्तैमा मनोरञ्जन र आनन्द पनि लिन पाइने भएपछि अरु के चाहियो ? त्यसैले यो दशैँ पहिलेकोभन्दा झनै उल्लासमय भएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया