सगरमाथा क्षेत्र रहेकाे खुम्बु गाउँपालिकाले पर्यटक आवागमनमा अनिश्चितकालीन राेक लगायाे

 कात्तिक ८, २०७७ शनिबार १७:५७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

सोलुखुम्बु – सगरमाथा क्षेत्र रहेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले पर्यटक आउन अनिश्चितकालीन रोक लगाएको छ । कोरोना सङ्क्रमणको जोखिमका कारण व्यवसायीले सेवा दिन नसक्ने बताएपछि गाउँपालिकाले पर्यटक आउन पूर्णरुपमा रोक लगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले जानकारी दिनुभयो । 

आन्तरिक हवाई उडान सुरु भएसँगै खुम्बुमा आन्तरिक पर्यटकको सङ्ख्या बढिरहेको बेला गाउँपालिकामा एक जनालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि पर्यटकलाई नै रोक लगाएको उहाँले बताउनुभयो । 

यसअघि पनि गाउँपालिकाले लुक्ला विमानस्थलमा ओर्लने सबैलाई ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ भएको रिपोर्ट अनिवार्य गरेको थियो । तर एक जनामा सङ्क्रमण देखिएपछि आवागमन नै बन्द गरेको भट्टराईले बताउनुभयो । 

गाउँपालिकाले खुम्बुमा हेलिकप्टर तथा जहाजको सेवा दिने सबै एअरलाइन्सलाई पत्र पठाएर यात्रु नल्याउन भनेको छ । विभिन्न एअरलाइन्सले ल्याएका आकर्षक प्याकेजका कारण खुम्बु घुम्न जाने नेपालीको सङ्ख्या बढिरहेको थियो । 
  
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया