खुमलटार स्रोत भन्छ, ‘बालुवाटार जाँदैमा त्यस्तो कुनै जादु नै भइहाल्ने हैन क्यारे !’

 कात्तिक १४, २०७७ शुक्रबार १६:३३:२६ | टेकमान शाक्य
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यकारी भुमिकामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहने र सरकार सञ्चालनको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मालाई दिने सहमति भएसँगै केही समय नेकपाभित्रको विवाद मत्थर भयो भनियो । त्यो समझदारीले देशभर नेकपा पङ्क्तिमा केही आशा पलायो ।

तर एकाएक कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भयो । शाहीविरुद्ध परेको अविश्वासको प्रस्ताव रोक्न अध्यक्ष प्रचण्ड निरन्तर प्रधानमन्त्री निवास बालुवाटार धाइरहनुभयो । 

कर्णाली प्रदेशको विवाद समाधानका लागि भन्दै अविश्वासको प्रस्तावको मुख्य प्रस्तावक प्रधानमन्त्री ओली पक्षधर मानिने यामलाल कँडेल, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायत कर्णालीका नेकपा नेताहरुलाई काठमाण्डौ बोलाइयो । कर्णालीका नेताहरु दुई अध्यक्ष र अरु नेताहरुसँग पनि छुट्टाछुट्टै भेटघाटमा व्यस्त भए । तर काठमाण्डौले कर्णालीको विवाद समाधान गर्न नसकेपछि छलफल कर्णालीतिरै सोझियो । काठमाण्डौको छलफलले मुख्यमन्त्री शाहीको पद त जोगियो तर नेकपाभित्रको विवाद भने झन् बल्झियो । 

गएको  कात्तिक ४ गते दुई अध्यक्षबीच केहीबेर कुराकानी भए पनि समस्या समाधानका लागि कुरा मिलेन । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कर्णाली विवादबारे चार बुँदे समझदारी बनेको भनेर विज्ञप्ति प्रकाशित गरेलगत्तै प्रचण्ड सचिवालयबाट सहमति नै नभएको भन्दै खण्डनसहितको अर्को विज्ञप्ति प्रकाशित भयो ।

अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले विज्ञप्ति निकालेर कुनै सहमति नै नभएको बरु समस्या समाधानका लागि छलफल कर्णालीतिर नै सोझिएको जानकारी गराउनुभयो । दुई अध्यक्षका सचिवालयले दुई थरी विज्ञप्ति निकालेको घटनाले नै नेकपाभित्रको विवाद थप उत्कर्षमा पुगेको प्रस्ट्याउँछ । सचिवालयले मात्रै होइन, दुई अध्यक्षले छुट्टाछुट्टै सर्कुलर जारी गर्नुभयो । 

कर्णाली प्रदेशको विवाद समाधानका लागि प्रयास हुँदै गर्दा प्रधानमन्त्री ओली र पार्टीको कार्यकारी भूमिकामा रहनुभएका अध्यक्ष प्रचण्डबीच मन्त्रिमण्डल फेरबदलबारे पनि निकै चरणमा छलफल चल्दै थियो । दुई अध्यक्षबीच कर्णाली प्रदेश विवादको विषयसँगै शक्ति सन्तुलनबारे कुरा हुँदै थियो । छलफल चल्दै गर्दा प्रधानमन्त्री ओलीले एकाएक आफुखुसी मन्त्रिपरिषद् हेरफेर गरेको भन्दै अध्यक्ष प्रचण्ड थप असन्तुष्ट बन्नुभयो ।

गएको असोज २८ गते मन्त्रिमण्डल हेरफेर भएसँगै अध्यक्ष प्रचण्डले बालुवाटार धाउन नै छाड्नुभएको छ । मन्त्रिमण्डल पुनर्गठनपछि कात्तिक ४ गते सामान्य छलफल भएपछि अध्यक्ष प्रचण्ड त्यसपछि बालुवाटार धाउन छाड्नुभएको हो । बालुवाटार गएर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीसँग जति छलफल गरे पनि उहाँले आफ्नो हठ नछाड्ने भएकोले तत्कालका लागि छलफल नै नगर्ने मनस्थितिमा अध्यक्ष प्रचण्ड पुग्नुभएको छ ।

नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’ लाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकोले कन्ट्याक ट्रेसिङमा परेर अध्यक्ष प्रचण्ड बालुवाटार नजानुभएको भनिए पनि प्रचण्ड निकट एक नेता भन्नुहुन्छ, ‘कन्ट्याक ट्रेसिङमा परेर जान नपाउनु एउटा कारण हो तर ओलीको आफ्नै हठ पनि अर्को कारण हो ।’

‘राजदूत नियुक्तिदेखि सरकार हेरफेरसम्म प्रधानमन्त्री ओलीले एकलौटी गर्नुभयो’, अध्यक्ष प्रचण्ड निकट स्रोतले भन्यो, ‘उहाँसँग बालुवाटार गएर भेट्नुको पनि अब कुनै अर्थ रहेन र भेटेर त्यस्तो कुनै जादु नै हुने सम्भावना पनि छैन ।’

बालुवाटार गएर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई भेट गर्दा एकखालको समझदारी हुने तर उहाँले आफ्नो ‘पारा’ नछाड्ने भएकोले बालुवाटार धाइरहनुको कुनै आवश्यकता नरहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताउनुभयो ।

प्रचण्डलाई फकाउन ओलीका ‘दूत’हरु खुमलटार धाउँदै

नेकपाका अध्यक्ष प्रचण्डलाई भेट्न पछिल्ला दिनहरुमा ओली निकट नेताहरु खुमलटार धाइरहेका छन् । शुक्रबार पनि प्रधानमन्त्री ओली निकट मानिने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुग्नुभएको थियो । पार्टीका आफ्ना अध्यक्षलाई भेट गर्न जानु कुनै नौलो कुरा नभएको र भेटघाटमा खासै त्यस्तो धेरै कुराकानी भने नभएको परराष्ट्रमन्त्री ज्ञवालीले उज्यालोलाई भन्नुभयो ।

यसअघि पनि प्रधानमन्त्री ओली निकट मानिने नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र महासचिव विष्णु पौडेल अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुग्नुभएको थियो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले छलफलका लागि बालुवाटार बोलाइ रहनुभएको भए पनि छलफलमा एउटा कुरा भन्ने र व्यवहार अर्कै देखाउने प्रवृत्तिले अध्यक्ष प्रचण्ड बालुवाटार नजाने मनस्थितिमा पुग्नुभएको खुमलटार स्रोतले जनाएको छ ।

प्रचण्ड पनि आन्तरिक छलफलमा 

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्ना निकट व्यक्तिहरुलाई छलफलका लागि खुमलटार पठाउन थालेलगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आन्तरिक छलफल सुरु गर्नुभएको छ । खास गरेर पूर्व माओवादी वृतका नेताहरु, वरिष्ठ नेता माधवकुमार नेपाल, अर्का वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेताहरुसँग आउँदा दिनमा कसरी अघि बढ्ने भन्नेबारे अध्यक्ष प्रचण्डले आन्तरिक छलफल सुरु गर्नुभएको हो ।

अध्यक्ष प्रचण्डले एकैपटक भेटेर भन्दा पनि पालैपालो नेताहरुलाई खुमलटार बोलाएर अथवा कतिपय नेताहरुसँग फोनबाटै कुराकानी गरिरहनुभएको प्रचण्डको सचिवालयले जनाएको छ । पार्टी जोगाउन प्रधानमन्त्री ओलीसँग विभिन्न चरणमा समझदारी गरेको भए पनि उहाँले आफ्नै तरिकाले काम गर्न थाल्नु भएकोले समस्या थप बल्झिएको प्रचण्ड निकट नेताहरुको भनाइ छ ।

यसबीचमा प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधव नेपाललगायत नेताहरुलाई आफ्नो पक्षमा पार्न खोज्नुभएको भए पनि त्यो सफल हुन सकिरहेको छैन । प्रधानमन्त्री ओलीलाई विश्वास गरिहाल्ने अवस्थामा आफू नरहेको नेता नेपालको भनाइलाई उद्धृत गर्दै उहाँ निकट एक नेताले बताउनुभएको छ । 

केन्द्रीय कमिटी बैठक प्रभावित

यसअघि गएको भदौ २६ गतेको स्थायी कमिटी बैठकले कात्तिक १५ गते अर्थात् शनिबार केन्द्रीय कमिटी बैठक बस्ने निर्णय गरेको थियो । चैतमा हुने भनिएको एकता महाधिवेशन तयारीबारे छलफल गर्न स्थायी कमिटीले केन्द्रीय कमिटी बैठक डाक्ने निर्णय गरेको हो । तर दुई अध्यक्षबीचको झगडाले शनिबारको केन्द्रीय कमिटी बैठक एक महिना पछाडि सरेको छ ।

आउँदो मङ्सिर १५ गते बैठक बस्ने सर्कुलर केन्द्रीय सदस्यहरुलाई प्राप्त भएको छ । बैठक सर्नुको मुख्य कारण कोरोना भाइरसको सङ्क्रमण र अन्य तयारी पूरा नभएको जनाइएको छ ।

भदौ २६ को बैठकले कार्यकर्ताको लगत तयार पार्नेलगायत साङ्गठनिक एकता र महाधिवेशनको तयारीसम्बन्धी गर्ने कामको सूची र समय तालिका बनाएको थियो । पार्टीभित्रको विवादले कुनै पनि काम सम्पन्न नभएकोले पनि बैठक प्रभावित भएको नेकपाका नेताहरुले बताएका छन् । त्यो बैठकले साङ्गठनिक एकता र महाधिवेशनको प्रतिवेदन बनाउने जिम्मेवारी दुई अध्यक्ष ओली र प्रचण्डको काँधमा आएको थियो ।

पछिल्ला दिनमा दुई अध्यक्षबीच संवाद नै हुन छाडेपछि केन्द्रीय कमिटी बैठक नै प्रभावित हुन पुगेको नेताहरुको भनाइ छ ।  

अन्तिम अपडेट: चैत १६, २०८०

टेकमान शाक्य

टेकमान शाक्य उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

1 Comments

  • Himal Sharma

    Oct. 31, 2020, 12:12 p.m.

    KP oli is not fit for country and party. He should retired from both post. He is medically unfit for both position. Is there any leader there to replace him?? What a joke of democracy!!!!!!

  •  0 Reply

तपाईको प्रतिक्रिया