बिहानैदेखि बैंकको ढोका कुर्दै वृद्धवृद्धा

 कात्तिक १८, २०७७ मंगलबार १५:५५:४० | दयाराम आचार्य
unn.prixa.net

सामाजिक सुरक्षा भत्ता लिन लाइनमा कुर्दै वृद्धवृद्धा

नवलपरासी – ८६ वर्षीया टीकामाया चन्द ठकुरी हातमा लौरो समातेर बैंकको पिँढीमा टुसुक्क बस्नुभएको छ । बिहान ४ बजेदेखि उहाँ पिँढीमा बस्नुभएको हो । उहाँ बसेको घरको दोस्राे तलामा मेगा बैंकको कार्यालय रहेको छ । बिहानीको समयमा चिसोको आभास हुन थालेको छ तर उहाँलाई कुनै परवाह छैन ।

सिमेन्टको भुइँमा बसेर उहाँ बैंक खुल्ने प्रतिक्षामा रहनुभएको छ । भत्ता बुझ्न उहाँ बिहानै ४ बजे बैंक परिसरमा आउनुभएको हो । कावासोती नगरपालिका १ काे कोइलापानीदेखि भत्ता बुझ्न उहाँ बजार झर्नुभएको हो । झण्डै सात किलाेमिटर बिहानै पैदल हिँडेर आउनुभएको उहाँलाई बैंक चाँडै खुलेर भत्ता बुझ्न पाए हुन्थ्यो भन्ने लागेको छ ।

सामाजिक सुरक्षा भत्ताकाे लागि बिहानैदेखि लाइनमा लागेका वृद्धवृद्धा

उहाँ जस्तै ६२ वर्षीया फूलकुमारी सुनार पनि बिहान ४ बजेदेखि बैंक खुल्ने प्रतिक्षामा हुनुहुन्छ । ‘१० बजे आए पालो आउँदैन, पैसा पाइँदैन, त्यसैले बिहानै आएको हो’, फूलकुमारीले भन्नुभयो । अन्य ज्येष्ठ नागरिकसमेत बिहानै ४ बजेदेखि बैंक खुल्ने प्रतिक्षामा रहनुभएको छ ।

कोभिड–१९ को जोखिम हुन सक्ने भन्दै बैंकले दैनिक ३० जनालाई मात्र कुपन प्रदान गर्दै आएको छ । एक दिनमा तीस जनाको मात्रै पालो आउने भएपछि वृद्धवृद्धाहरु बिहानैदेखि कुपन लिन बैंकको गेटमा लाइनमा बस्ने गरेका छन् । बिहान ६ बजे तीस वटा कुपन वितरण गरिसकेको बैंकका सुरक्षाकर्मीले बताए । अब आउनेले कुपन नपाउने सुरक्षाकर्मीले बताए पनि अन्य कुपन नपाएकाहरु पैसा निकाल्न पाइन्छ कि भनेर लाइनमै थिए । 

कोभिड–१९ को सङ्क्रमण जोखिम बढेकाे भन्दै बैंकले धेरै कुपन नबाँडेको जनाएको छ । तर बिहानै जम्मा भएका ज्येष्ठ नागरिकको भिडले झनै जोखिम बढाएको छ ।

कावासोती नगरपालिका १ का वडाध्यक्ष नारायण पन्तले बैंकले जिम्मेवारीपूर्वक काम नगर्दा समस्या भएको बताउनुभयो । ‘बैंकले ज्येष्ठ नागरिकलाई प्राथमिकता दिनुपर्ने थियो तर कुनै प्रतिक्रिया दिँदैनन्’, वडाध्यक्ष पन्तले भन्नुभयो ।

कावासोती १ मा ६ जनाले सामाजिक सुरक्षा भत्ता पाउनेछन् । बैंकले सही व्यवस्थापन नगरिदिँदा कोराेनाकाे जोखिमसमेत देखिने अवस्था आएको उहाँले बताउनुभयो । आफूले बैंकसँग समन्वय गर्न खोज्दा खासै चासो नदिएको उहाँको भनाइ छ । सामाजिक सुरक्षा भत्ता बैंकबाट वितरणको व्यवस्था भएकोमा कोभिडको जोखिमको समयमा ज्येष्ठ नागरिकलाई प्राथमिकता दिइ वितरणको व्यवस्था गर्नुपर्ने वडाध्यक्ष पन्तले बताउनुभयो ।

कावासोती नगरपालिका २ का वडाध्यक्ष लक्ष्मीप्रसाद पौडेलले आफू मातहतकाे वडा कार्यालयले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता दशैँअघि नै बैंकमा पठाएको बताउनुभयो । तर बैंकले यसको सही व्यवस्थापन नगर्दा समस्या आएको उहाँले बताउनुभयो । आफ्नो वडामा सामाजिक सुरक्षा भत्ता बुझ्न भने समस्या नआएको उहाँले दाबी गर्नुभयाे ।

अशक्त, बढी उमेरका व्यक्तिको संरक्षक कायम गरी सिफारिसका आधारमा भत्ता लिन सक्ने बनाउँदा समस्या नभएको उहाँले बताउनुभयो । बैंकहरुले सामाजिक सुरक्षा भत्ता बुझ्ने ज्येष्ठ नागरिकलाई सहजरुपमा पैसा निकाल्न सक्ने व्यवस्था गर्नुपर्ने उहाँको सुझाव रहेको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया