प्रचण्डलाई गुटगत भेला र ओलीलाई आवेग छाड्न नेताहरुको सल्लाह

 कात्तिक १९, २०७७ बुधबार ८:६:१७ | टेकमान शाक्य
unn.prixa.net

काठमाण्डौ – पार्टी एकता भएदेखि नै मतभेद बल्झँदै गएको सत्तारुढ नेकपामा फेरि विवाद बढेको छ । दुई अध्यक्षबीचको हानथाप र आरोप प्रत्यारोपले पार्टी नै विभाजन हुने हो कि भन्ने आशंका भैरहँदा नेताहरु विवाद मिलाउन अग्रसर भएका छन् । 

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले छलफलमा एउटा सहमति गर्ने र व्यवहार अर्कै देखाउने गरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड असन्तुष्ट हुनुहुन्छ । पहिले बालुवाटार गैरहने प्रचण्ड केही दिनअघि प्रधानमन्त्री ओलीसँग छलफल गर्नुको अर्थ नै नरहेको निष्कर्षसहित प्रधानमन्त्री निवास बालुवाटार जान नै छाड्नुभएको थियो । प्रचण्ड बालुवाटार आउन छाडेपछि ओलीले प्रचण्डलाई फकाउन आफ्ना निकट नेताहरुलाई ‘दूत’ का रुपमा निरन्तर खुमलटार पठाइरहनुभयो । 

त्यसको एक/दुईदिनमै अध्यक्ष प्रचण्ड लामो समयको संवादहीनतालाई तोड्दै प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभयो । बालुवाटार पुगेलगत्तै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई बैठक डाकेर छलफल गर्न आग्रह गर्नुभयो । तर प्रचण्डले गुटगत भेला गरेको भन्दै ओलीले बैठक बोलाउन अस्वीकार गर्नुभयो । दुवै अध्यक्षबीच आरोप प्रत्यारोप भयो । आरोप प्रत्यारोपकै क्रममा ओलीले ‘यसरी एकैठाउँमा बस्न सकिन्न, बरु सल्लाह गरेरै अलग–अलग होऔँ’ भनेको भन्दै प्रचण्डले आफू पक्षका नेताहरुसँग यसबारे छलफल गर्नुभयो ।

मन्त्रिपरिषद विस्तार, भारतीय गुप्तचर संस्था रअका प्रमुखसँगको भेट र कर्णालीभित्रको विवादका कारण विवाद बढेको बेला ओली–प्रचण्डको यो छलफलले झनै आगोमा घिउ थप्ने काम गर्यो । त्यसपछि नेकपाभित्रको विवाद सतहमा छताछुल्ल देखियो । शीर्ष नेताहरुले नै पार्टी विभाजनसम्म हुन सक्ने सार्वजनिक अभिव्यक्ति दिन थाले । तर आइतबार एक्कासी चर्किएको विवाद केही मत्थर हुन थालेको छ । विवाद मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले समेत चासो दिनुभएको छ भने दोस्रो तहका नेताहरु सक्रिय भएर लागेका छन् ।

शितल निवासको चासो, बामदेव गौतमको भूमिका महत्वपूर्ण

नेकपा भित्रको विवाद चुलिँदै गएसँगै राष्ट्रपति विद्यादेवी भण्डारी पनि सक्रिय हुनुभएको छ । उहाँले मंगलबार नेकपा उपाध्यक्ष बामदेव गौतमलाई शितल निवास बोलाएर विवादबारे चासो व्यक्ति गर्नुभएको हो । भेटमा राष्ट्रपति भण्डारीले पार्टी एकता जोगाउनका लागि विशेष भूमिका निर्वाह गर्न गौतमसँग आग्रह गर्नुभएको थियो । जवाफमा उपाध्यक्ष गौतमले त्यसका लागि आफूले सक्दो भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिनुभएको उहाँको सचिवालयले जनाएको छ । यसअघि पनि राष्ट्रपति भण्डारीले विवाद उत्पन्न भएको समयमा दुई अध्यक्ष र अरु शीर्ष नेताहरुसँग पनि परामर्श गर्ने गर्नुभएको थियो ।

प्रचण्ड–माधव नेपाल समूहमा रहनुभएका उपाध्यक्ष गौतमले केही समयदेखि मध्यमार्गी बाटो रोज्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने प्रस्ताव राख्नुभएका गौतम पछि भने आफ्नो प्रस्तावबाट पछि हट्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले दुवै पद नछाड्ने र छाड्नैपरे पार्टी नै विभाजन गर्ने संकेत गर्नु भएपछि उपाध्यक्ष गौतम आफ्नो प्रस्तावबाट पछि हट्नुभएको हो । त्यतिबेला उहाँले ६ बुँदे प्रस्ताव अघि सारेर पार्टी एकताको लागि पहल गर्नुभएको थियो ।

‘प्रधानमन्त्री ओलीले आवेगमा नभई विवेकमा काम गर्नुपर्छ’

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले आ–आफ्नो बाटो लाग्ने भन्ने कुरा गलत रहेको बताउनुभएको छ । यो विषय आजको इतिहासको आवश्यकता र औचित्य दुवै नरहेको भन्दै उहाँले आवेगमा आएर नभई विवेकमा काम गर्नुपर्ने बताउनुभयो । विवेक प्रयोग गरेर महाधिवेशनसम्म पार्टीलाई लैजानुपर्ने एवं सरकार र पार्टीलाई जोड्दै नागरिकको पक्षमा काम गर्नु नै आजको आवश्यकता भएको उहाँको तर्क छ । 

‘रअ’ का प्रमुख सामन्त कुमार गोयलसँगको भेटपछि प्रधानमन्त्री ओलीको बिरोध भैरहेको छ । यस्ता विषयमा पार्टीभित्र मात्रै नभइ प्रतिपक्षको समेत धारणा लिएर अघि बढ्नुपर्ने नेता पौडेलको भनाई छ । कुनै पनि कुरामा निर्णय गर्दा आपसी समझदारी हुनुपर्ने भन्दै उहाँलै प्रधानमन्त्री ओलीले आफूखुसी काम गर्न छाड्नुपर्ने बताउनुभयो ।

यस्तै नेता पौडेलले आपसी छलफल र सल्लाह गर्दैमा गुटबन्दी गरेको भनेर भन्न नमिल्ने बताउनुभएको छ । उज्यालोसँग कुरा गर्दै उहाँले भन्नुभयो, – ‘सुझाव लिन दुबै अध्यक्षले शीर्ष नेतालाई आवश्यकता अनुसार भेट्ने कुरालाई सहज रुपमा लिनुपर्छ । पार्टीको आन्तरिक लोकतन्त्र भनेकै यही हो ।’ 

‘अध्यक्ष प्रचण्डले गुटगत भेला बन्द गर्नुपर्छ’

प्रधानमन्त्री निवास बालुवाटारसँगै नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड निवासमा पनि नेकपाका नेता/कार्यकर्ताको भेला हुने गरेको छ । यस्तो भेला र छलफलले पार्टीमा राम्रो सन्देश नजाने केही दोस्रो तहका नेताहरुबो बुझाई छ । नेता प्रदीपकुमार ज्ञवालीले खुमलटारमा सीमित नेताहरुसँग भेटघाट गरेर धारणा बनाउने अनि बारम्बार प्रधानमन्त्री ओलीलाई दबाब दिईरहने अध्यक्ष प्रचण्डको कार्यशैली ठिक नभएको बताउनुभयो ।

उज्यालोसँग कुरा गर्दै उहाँले नेकपाभित्रको विवाद तत्काल समाधान गर्ने हो भने सबैभन्दा पहिले अध्यक्ष प्रचण्डले गुटगत भेला बन्द गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कार्यकारी अध्यक्ष जस्तो गहन जिम्मेवारी पाउनुभएका प्रचण्डले सीमित नेताहरुसँग भेला गरेर प्रधानमन्त्री ओलीमाथि दबाब सिर्जना गर्ने काम मात्रै गर्नुभएको छ, उहाँ सबैजनाको अध्यक्ष भएको हैसियतले त्यसैअनुसारको काम गर्नुपर्छ, आ–आफ्नो जिम्मेवारी सबैले पालना गरे समस्या नै आउने थिएन ।’ 

यस्तै अध्यक्ष प्रचण्डले पार्टी एकीकरणका लागि बाँकी काम सम्पन्न गर्नका लागि आवश्यक गृहकार्य गर्नतिर बडी ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । खिचातानीमा मात्रै अल्झिरहने भन्दा पनि यसअघिका सहमतिले जे म्याण्डेट दिएको हो त्यसैअनुसारको भूमिका निर्वाह गर्न उहाँको आग्रह छ । 

भदौ २६ को सहमति कार्यान्वयन महत्वपूर्ण

यसअघि पार्टीभित्र विवाद बढ्दै गएपछि भदौ २६ गतेको स्थायी कमिटी बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दएको थियो । प्रधानमन्त्री ओलीलाई पूरै कार्यकालसम्म निरन्तरता दिने भनिएको थियो । सरकारलाई थप प्रभावकारी बनाउन सबैले अहिलेको सरकारलाई सहयोग गर्ने पनि सहमतिमा उल्लेख छ ।

त्यस्तै पार्टीभित्रको वैचारिक, राजनीतिक समस्या समाधानका लागि चैतमा महाधिवेशन गर्ने र सबै ध्यान महाधिवेशन केन्द्रीत हुनुपर्ने सहमति गरेको थियो । त्यसका लागि कार्यकारी अध्यक्ष प्रचण्डको काँधमा ठूलो जिम्मेवारी रहेको छ । तर, सहमति अनुसार शीर्ष नेताहरु चल्न नसक्दा समस्या भैरहेको दोस्रो तहका नेताहरुको बुझाई छ ।

गएको भदौ २६ मा जे सहमति भएको थियो, त्यसैअनुसार दुई अध्यक्षले काम गरिदिएको भए अहिले यो समस्या नै नआउने परराष्ट्रमन्त्रीसमेत रहेका नेता ज्ञवाली बताउनुहुन्छ । 

अर्का नेता देवेन्द्र पौडेल पनि सहमतिअनुसार नै अघि बढ्न नसक्दा समस्या भएको तर त्यसको दोष प्रधानमन्त्री ओलीलाई जाने बताउनुहुन्छ । छलफल र सहमति एउटा गर्ने अनि व्यवहार अर्कै देखाउने प्रवृतिले समस्या जटिलतातिर धकेलिएको पौडेल बताउनुहुन्छ । प्रधानमन्त्री ओलीले सहमति नलत्याउने र अध्यक्ष प्रचण्डले पनि आफ्नो जिम्मेवारीमा आएको काम अक्षरस पालना गर्ने हो भने समस्या त्यति ठूलो नभएको नेताहरुहरुको भनाई छ ।
नेकपाले केन्द्रीय कमिटी बैठक आउदो मंसिरसम्मका लागि स्थगित गरेको छ । कोरोनाको कारण देखाउँदै मंसिरमा सारिएको बैठकमा प्रस्तुत गर्ने प्रस्तावहरु तयार गर्ने र पार्टी पहिलो महाधिवेशनतिर केन्द्रीत भयो भनेर सन्देश दिनका लागि पनि अध्यक्ष प्रचण्डको भूमिका महत्वपूर्ण हुने नेताहरुको भनाई छ ।

मन्त्रिपरिषद फेरबदलका क्रममा केही तिक्तता भए पनि पार्टी एकीकरणका बाँकी काम गर्नका लागि अध्यक्ष प्रचण्डलाई कुनै समस्या नै नरहेको नेता ज्ञवाली बताउनुहुन्छ । तर, त्यसका लागि अर्का अध्यक्ष केपी शर्मा ओलीको पनि साथ आवश्यक रहेको अरु नेताहरुको तर्क छ ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

टेकमान शाक्य

टेकमान शाक्य उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया