ढुक्क हुनोस् नेकपा फुट्दैन, किनकि ....... !

 कात्तिक २०, २०७७ बिहिबार ९:४५:५१ | मिलन तिमिल्सिना
unn.prixa.net

अस्तिताकासम्म सत्तारुढ नेकपा नफुटोस् भनेर कामना गर्नेहरु हिजोआज भन्न थालेका छन् : ‘आ फुटे नि फुटोस् ! जुटेर पो के भएको छ र ?’ पछिल्लोपटक दुई अध्यक्षका दुई थरी कुरा र आपसी आरोप-प्रत्यारोप सुनेका धेरैलाई नेकपा फुट्ने नै भयो भन्ने लागेको छ । तर ढुक्क भए हुन्छ, कम्तिमा अर्को चुनावसम्म नेकपा कुनै हालतमा पनि फुट्दैन । 

यो कुरामा ढुक्क हुन सकिन्छ कि नेकपालाई न फुटेर लाखापाखा लाग्न सजिलो छ, न जुटेर अघि बढ्न नै । किनकी एकीकरणपछिको पार्टीलाई जेट र आफूहरुलाई पाइलट दावी गर्ने दुवै अध्यक्षलाई तत्काल ‘आकाशको जेट’बाट तल झरे ‘बाटोको टेम्पो चलाउन’ बाध्य होइन्छ भन्ने थाहा छ ।

गुटउपगुटका कानेखुसीमा कसले के भन्यो भन्ने कोठे अनुमान र स्रोतहरुका हवाला दिंदै गरिने अड्कलबाजीलाई छाडेर दुई शीर्ष नेताका अहिलेसम्मका व्यवहार र बाध्यता मात्रै बुझे पनि यो कुरामा ढुक्क हुन सकिन्छ कि नेकपालाई न फुटेर लाखापाखा लाग्न सजिलो छ, न जुटेर अघि बढ्न नै । किनकी एकीकरणपछिको पार्टीलाई जेट र आफूहरुलाई पाइलट दावी गर्ने दुवै अध्यक्षलाई तत्काल ‘आकाशको जेट’बाट तल झरे ‘बाटोको टेम्पो चलाउन’ बाध्य होइन्छ भन्ने थाहा छ ।

जेटको ककपीटबाट झरेर टेम्पोको ह्याण्ड्ल समाउन खोजेको दिन दुबै अध्यक्षको सबैथोक सकिन्छ, केही बाँकी रहँदैन । ‘पाइलटको ककपीट’मा रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुबैलाई ‘जेट’बाट झरेर आ आफ्नो बाटो हिँड्न आँट छैन । प्रचण्डलाई त झनै छैन । 

नेकपाको कटुसत्य के हो भने ओलीको ओत लागेकै कारण प्रचण्डको ओज अझै चम्किलो छ । ओलीको ओत छोडेर हिँडेको दिन न राजनीतिक राप रहन्छ, न सत्ताको ताप । अर्को सत्य के हो भने यो राप र ताप विना बाँच्ने प्रचण्डको आदत छैन । ओलीलाई छाडेका दिन अहिलेको जस्तो हैसियत र सेवा सुविधा मिल्दैन । मोहन वैद्य र बाबुराम भट्टराईको हालतमा पुगिन्छ भन्ने कुरा पनि प्रचण्डलाई राम्रैसित थाहा छ । 

अर्को सत्य हो, अहिले पनि पूर्व माओवादीका धेरै नेताहरु ओलीलाई नेता मान्न तयार छन् । तर पूर्व एमालेका कुनै पनि नेता प्रचण्डलाई ओलीकै दर्जाको नेता मान्न तयार देखिँदैनन् । माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम लगायतका नेताहरु ओलीको कार्यशैलीको बिरोधमा मात्रै प्रचण्डको कित्तामा उभिएका हुन् । ओलीको विकल्पमा प्रचण्डलाई नेता मानेर पछि लागेका होइनन् ।

प्रचण्डको पछाडि हिँड्न पूर्व एमालेका नेताहरु त तयार छैनन् नै, पूर्व माओवादीका अधिकांश नेताहरु पनि ओलीको साथ छोड्न हुन्न भन्ने पक्षमा छन् । रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, देवेन्द्र पौडेल लगायत नेताहरुका कुरा सुन्दा प्रचण्डको पछि लागेर हिँड्न आँट गर्नेहरु धेरै छैनन् भन्ने प्रष्ट हुन्छ ।

अर्को सत्य के हो भने ओलीकै ओत लाग्दा मात्र प्रचण्डलाई पार्टीको भावी अध्यक्ष र प्रधानमन्त्री हुन सजिलो छ । ओलीले अब पार्टी अध्यक्ष र प्रधानमन्त्री नहुने घोषणा गरिसकेका छन् । ओली अघि नसरेपछि सबैभन्दा ठूलो पार्टी नेकपालाई एक्लै हाँक्ने लाइनमा अहिलेसम्म प्रचण्ड मात्रै छन् ।

हेलाँहोचो सहेरै भए पनि ओलीलाई साथ दिन सकियो भने आफू पछिका लाइनमा रहेका नेपाल, खनाल, गौतम लगायतका प्रतिष्पर्धीलाई पन्छाउँदै ठूलो पार्टीको एकलौटी अध्यक्ष बन्ने अवसर प्रचण्डलाई मिल्नेछ । ओलीसँग झगडा नै गरेर भए पनि महाधिवेशन र अर्को चुनावसम्म पर्खनुको विकल्प तत्काल प्रचण्डसँग छैन ।  

ओलीसँग झगडा नै गरेर भए पनि महाधिवेशन र अर्को चुनावसम्म पर्खनुको विकल्प तत्काल प्रचण्डसँग छैन । 

प्रचण्डलाई राम्रोसँग थाहा छ, अहिले नै पार्टी फुटाएर हिँड्दा यसअघिको माओवादी जत्रो पार्टी पनि आफूसँग हुँदैन । त्यसैले ओलीको कार्यशैली मन नपर्ने नेताहरुलाई आफ्नो निवासमा बोलाएर ओलीले यसो गरे, त्यसो भने भनेर दुखेसो पोख्नुबाहेक प्रचण्डले अर्को कदम चाल्न सकेका छैनन् । ‘तपाईंले भनेको म मान्दिनँ, जेसुकै गर्नुहोस्, चित्त बुझ्दैन भने सल्लाहले नै आआफ्नो बाटो लागौं’ भनेर ओलीले प्रष्ट भन्दा पनि प्रचण्ड आफ्नो बाटो हिँड्न आँट नगर्नुको एउटै कारण हो–यसरी बाटो लाग्नु आफ्नै लागि घातक छ ।

त्यसो त ओलीलाई पनि प्रचण्डको सहारा नचाहिएको हैन । प्रचण्ड साँच्चै रिसाएर हिँडे भने पार्टी फुटाएको दोष ओलीको थाप्लोमा मात्रै आइलाग्छ । अहिलेसम्म बचेखुचेको नागरिकको विश्वास र मान प्रतिष्ठा स्वाहा हुन्छ । कथमकदाचित प्रचण्ड छुट्टिएर हिँडिहाले भने काम लाग्छ भनेर एमाले र सूर्य चिन्हको ‘ट्रेडमार्क’ सुरक्षित राख्नुबाहेक ओलीले पनि पार्टी विभाजनको कल्पना गरेका छैनन् । प्रचण्डसँग त पहिलेको माओवादीको त्यही ‘ट्रेडमार्क’ पनि बाँकी छैन ।

मिल्न पनि गाह्रो

दुवैथरीका आआफ्नै बाध्यता र स्वार्थका कारण नेकपा तत्काल फुट्दैन भनेर ढुक्क हुन जति सजिलो छ, नेकपाका आम कार्यकर्ता र अरु नागरिकको चाहनाअनुसार दुईथरी मिलेर अघि बढ्न झनै अप्ठेरो छ । एक त मिलेर हिँड्न नसक्नु कम्युनिष्टको जन्मजात स्वाभाव हो । अर्को पूर्व एमाले र पूर्व माओवादीको एकता संगठन र सिद्धान्तको आधारमा भएको होइन, दुई नेताहरुबीचको सत्तामोहको बाध्यात्मक गठजोड मात्रै हो । 

सबैलाई थाहै छ, संविधानसभा चुनावमा एमाले र माओवादी एकअर्काका सबैभन्दा बढी दुश्मन थिए । त्यसमा पनि पूर्व माओवादीका नेतादेखि कार्यकर्तासम्मलाई ओलीको नाम र अनुहार पनि मन पर्दैन थियो । अहिले पनि धेरैलाई मन पर्दैन । अनि पूर्व एमालेमा पनि माओवादीको सबैभन्दा बढी आलोचक ओली नै थिए । पहिलो संविधानसभा चुनावमा दुई पार्टीको मारमुङ्ग्री र चुनावी परिणाम त अहिले पनि सबैको मस्तिष्कमा ताजै छ । 

क त मिलेर हिँड्न नसक्नु कम्युनिष्टको जन्मजात स्वाभाव हो । अर्को पूर्व एमाले र पूर्व माओवादीको एकता संगठन र सिद्धान्तको आधारमा भएको होइन, दुई नेताहरुबीचको सत्तामोहको बाध्यात्मक गठजोड मात्रै हो । 

पहिलो संविधानसभा चुनावमा मिलेको सफलतालाई प्रचण्डले सदुपयोग गर्न सकेनन् । फलस्वरुप सबैभन्दा ठूलो पार्टी माओवादी खिएर सानो भयो । त्यतिबेला खुम्चिएर सानो भएको एमालेलाई ओलीले उकास्न थाले । तै पनि स्थानीय चुनावमा माओवादीलाई एमालेभन्दा बढी कांग्रेसकै भर लाग्यो । स्थानीय चुनावको नतिजा आउन थालेपछि मात्र माओवादीका प्रचण्डलाई लाग्यो, कांग्रेससँग भन्दा एमालेसँग मिल्दा फाइदा हुन्छ । एमालेका ओलीलाई पनि माओवादीलाई कांग्रेससँग मिल्न दिनुभन्दा आफैंले लिएर अघि बढ्दा सत्तामा पुग्न र टिक्न सहज हुन्छ भन्ने लाग्यो ।  

माओवादीलाई आफूले नचलाए कांग्रेसलाई चलाउँछ भन्ने कुरा ओलीले पटक पटक देखेका र बुझेका थिए । त्यसैले अब माओवादीलाई मै खेलाउँछु र चलाउँछु भन्ने ठानेरै ओलीले प्रचण्डसँग गठबन्धनको प्रस्ताव गरेका थिए । एक्लै हिँड्दा हराइने र कांग्रेससँग भन्दा एमालेसँग कम्युनिस्ट नामको जात मिल्ने र दंग्याउन पाइराखिने बुझेरै प्रचण्ड ओलीलाई नेता मान्न तयार भएका थिए । 

चुनावी गठबन्धनदेखि नै ओली र प्रचण्ड दुवैलाई एकअर्काप्रति विश्वास थिएन । दुवै रहरले नभई बाध्यताले मिलेका थिए । दुबैको आ–आफ्नो दाउ थियो, एकले अर्कालाई भरमग्दूर उपयोग गर्ने । तर, उपयोग गर्ने कलामा सधैं जित्दै आएका प्रचण्डलाई यसपालि ओलीले माथ गरेपछि नेकपामा खटपट शुरु भएको हो ।  

सबैलाई थाहा छ, ओलीको एउटा मुखमा दुईटा कला छन् । एउटा कला हो, हावादारी गफ दिने, अनि अर्को कला हो मित्रलाई शत्रु बनाउने । दुई तिहाईको बलमा सरकार हाँक्ने अवसर पाए पनि नागरिकले भने र खोजेजस्तो गर्न सकिंदैन भन्ने कुरा ओलीलाई पनि अब घामजत्तिकै छर्लङ्ग भैसकेको छ ।

आफ्नै पार्टीका माधव नेपाल र झलनाथलाई शत्रु बनाउने कुनै कारण थिएन, तर दुबैसित मिल्न सकेनन् । आफूलाई अप्ठ्यारोमा सघाउने बामदेवलाई सधैं चिढ्याइरहे । राजनीतिक दाउपेचमा मात्र होईन, वरियता र उमेरमा पनि ओली प्रचण्डभन्दा माथि छन् । पार्टी बैठकमा मिलेर अघि बढ्ने र प्रचण्डलाई पार्टीको जिम्मेवारी दिने कागज पनि गर्छन् । तर त्यो कागजमा गरेको हस्ताक्षरको मसी सुक्न नपाउँदै काम चाहिँ मनपरी गर्ने पुरानो बानी छाड्दैनन्। 

घिउ बेचुवा र तरबार बेचुवाजस्तै व्यवहार र प्रवृत्ति बोकेका ओली र प्रचण्डकै कारण नेकपा तत्काल फुट्न पनि सक्दैन । जुट्न त झन् सक्दै सक्दैन । 

प्रचण्ड पनि सरकार चलाउने जिम्मा ओलीलाई दिन सहमत हुन्छन् । तर मन्त्री र लाभको पदमा आफ्नो मान्छे राख्नु भनेर चिट थमाउन छाड्दैनन् । घिउ बेचुवा र तरबार बेचुवाजस्तै व्यवहार र प्रवृत्ति बोकेका ओली र प्रचण्डकै कारण नेकपा तत्काल फुट्न पनि सक्दैन । जुट्न त झन् सक्दै सक्दैन । 

अन्तिम अपडेट: पुस २०, २०७७

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया