लमजुङको दोर्दी गाउँपालिका : बेरोजगार युवालाई सीप सिकाउँदै, स्वरोजगार बनाउँदै

 कात्तिक २२, २०७७ शनिबार १०:१३:३० | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - लमजुङको दोर्दी गाउँपालिका बेरोजगार युवालाई सीप सिकाउँदै, स्वरोजगार बनाउन लागिपरेको छ ।

विदेशबाट फर्किएका, घर-गाउँमै रहेका बेरोजगार युवालाई सीपमुलक तालिम प्रदान गरी गाउँघरमै स्वरोजगार बनाउनका लागि अहिले गाउँपालिकाले युवालाई डकर्मी तालिम प्रदान गरिरहेको छ ।

अहिले गाउँपालिकाले प्रतिरोधी सहरी भवन निर्माणसम्बन्धी एक हप्ते (कात्तिक २१ देखि २७ गतेसम्म) डकर्मी तालिम सञ्चालन गरेको छ । गाउँपालिकाको रोजगार शाखाको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।

गाउँपालिकाका प्रत्येक वडाका तीन जना गरी २७ जना तालिममा सहभागी भएको रोजगार शाखाका संयोजक धर्म गुरुङले बताउनुभयो । ‘यस क्षेत्रमा धेरै भौतिक संरचना निर्माण हुँदैछन् । स्थानीय युवाको हातमा सीप भएमा उनीहरुले घरगाउँमै रोजगार पाउन सक्छन्’, उहाँले भन्नुभयो, ‘बेरोजगार युवालाई गाउँघरमै स्वरोजगार बनाउन उनीहरुलाई सीपमूलक तालिम प्रदान गरिएको हो ।’

ज्ञान, सीपबिना रोजगारी सिर्जना गर्न नसकिने भएकाले सीप सिकाइ स्थानीय युवालाई गाउँघरमै स्वरोजगार बनाउनका लागि तालिम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताउनुभयो ।

‘अन्य ठाउँबाट यस क्षेत्रमा आएर धेरैले डकर्मी काम गरी राम्रो कमाइ गरेका छन्’, उहाँले थप्नुभयो, ‘बिना कुनै ज्ञान, सीप रोजगारी सिर्जना हुन सक्दैन । त्यसैले बेरोजगार युवालाई गाउँघरमै सीप सिकाएर रोजगारी सिर्जना गर्ने उद्देश्यले तालिम चलाइएको छ ।’ यो क्रमलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।

यसैगरी, गाउँपालिकाका उपाध्यक्ष दिलबहादुर घलेले तालिममा सिकेका ज्ञान, सीप समुदायका अन्य व्यक्तिलाई पनि सिकाउनुका साथै व्यवहारमा उतारी आफ्नो जीवनस्तर उकास्न सहभागीलाई आग्रह गर्नुभयो ।

मापदण्डअनुसार भौतिक संरचना निर्माण गर्नुपर्ने र त्यसका लागि तालिम प्राप्त मानिस आवश्यक हुने भएकाले ध्यान दिएर सीप सिकेर व्यवहारमा उतार्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दोर्दी गाउँ कमिटीका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो ।

तालिममा सहभागीहरुलाई सुरक्षा सामग्री (पहेलो हेल्मेट र ज्याकेट) पनि प्रदान गरिएको छ । सहभागीलाई गाउँपालिकाका इन्जिनियर अतीत खनाल, सब ओभरसियर विश्वास पाण्डेले तालिम प्रदान गर्नुहुनेछ । 

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि दोर्दी गाउँपालिकामा यस वर्ष पाँच सय ९१ जनाको आवेदन दिएका थिए । गाउँपालिकामा यस वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दुई सय ७० जनालाई रोजगारी दिइने गाउँपालिकाले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया