नेपाल जोगाउन ओली, विश्व बचाउन ट्रम्प !

 कात्तिक २२, २०७७ शनिबार ८:१८:४८ | मिलन तिमिल्सिना
unn.prixa.net

काठमाण्डाै - धेरै नेपालीले आफ्नो वडाध्यक्ष र वडासदस्य चिन्दैनन् होला, तर अमेरिकाका ट्रम्प र वाइडेनलाई नजिकबाट चिन्छन् ।

कोही ट्रम्पलाई टप ठान्छन्, कोही वाइडेनलाई वाइड । तर टप हुन खोजे पनि ट्रम्पले योपालि टप्काउन खोजेको पदमा वाइडेनले वाइड रेञ्ज बनाएर दिए । वाइड रेञ्जमा वाइडेनले ट्रम्पलाई जिल्याएनन् मात्र, संसारकै वाहवाही पनि पाए ।

वाइडेनले ट्रम्पलाई बाइबाइ गरेपछि आम नेपालीको साझा मत छ, ट्रम्पले नेपालबाट सिक्न सकेनन्, नेपालको चुनावी राजनीति बुझ्न सकेनन् । हुन त नतिजा आफूतिर नआउने भएपछि उनले अलिअलि नेपाली पारा त झिक्न थालेका छन् । तर यति नै पारा पर्याप्त छैन भन्ने कुरा अझै बुझेका छैनन् । मतदानअघि तथा मतदान र मतगणना भैरहँदा नै धेरैथोक गर्न जान्नुपर्थ्यो । ज्ञान र अभ्यास थिएन भने नेपाली नेतालाई सोध्नुपथ्र्यो ।

चुनावी नतिजा आफ्नो पक्षमा पार्ने अनेक जुक्ति, बुद्धि र ट्याक्टिसले नेपाली नेताको ज्ञान भरिपूर्ण छ भन्ने उनले थाहै पाएनन् । यहाँका नेताबाट अलिकति सिकेको भए पनि ट्रम्पले अहिले टकटकिएर हिँड्नुपर्ने अवस्था आउने थिएन । टपमै रहेर अरुलाई टर्रो व्यवहार बनाउन पाउने छुट प्राप्त भैरहन्थ्यो । तर समयमै नेपाली नेताबाट सिक्न सकेनन् । अहिले पछुतो मानेर बस्नु परेको छ ।

हुन त अमेरिकामै जन्मेको र त्यहीँको चुनाव लडेको कारण उनलाई भाग्यले ठग्यो । नेपाली नेताले जस्तो चुनावी घोषणापत्रमा ठूल्ठूला सपना देखाउने मौका मिलेन । अमेरिकामा रेल पहिलेदेखि नै कुदेको छ । अमेरिकीले जन्मेदेखि नै पानीजहाज देखेका छन् ।

चिल्ला सडक, ठूला भवन, विकास निर्माण, सुविधा, समृद्धि सबैथोक छ । त्यसैले उनले रेल र पानीजहाज ल्याउँछु भन्न पाएनन् । ट्रम्पले भन्न नपाएपछि मतदाताले पत्याउन र भोट दिन पाएनन् । सारमा चुनावी नारा र घोषणापत्र बनाउन ट्रम्पलाई ओली र प्रचण्डलाई जस्तो सजिलो भएन । रेल, पानीजहाज र समृद्धिको सपना बाँड्न नपाउनु नै ट्रम्पको हारको कारण बन्यो । उनीमाथि यो ठूलो धोका भयो ।

चुनावी नारा र घोषणापत्रमा सपना देखाउने अवसर नभए पनि मतदान र मतगणनाको बेला धेरैथोक गर्न सक्ने मौका थियो । नेपालमा जस्तो मतदातालाई मासुभात र जाँडरक्सी खुवाउन सकिन्थ्यो । बुथ क्याप्चर गर्न सकिन्थ्यो । मत गन्दा गन्दै च्यात्न र चपाउन सकिन्थ्यो । नेपालका कांग्रेस र कम्युनिष्टका धेरै नेताको संगत गरेका भए ट्रम्पले मतदानकै बेला परिणाम आफ्नो पोल्टामा पार्न सक्थे । तर यति मामुली कुरामा पनि उनी पछि परे ।

मत आफूलाई नआए पनि नतिजा आफ्नोतिर पार्ने उपाय मतगणनाकै बेलामा पनि अपनाउन सकिन्थ्यो । भरतपुरकी मेयर रेणु दाहाल, उनका बुवा प्रचण्ड र तत्कालीन माओवादीका प्रतिनिधिसँग फोन गरेर सोधेको मात्र भए पनि ट्रम्पले मतपत्र च्यात्ने, थुक्ने, निल्नेसम्मका अमेरिकाले कहिल्यै नदेखेका चमत्कारिक चुनावी जादू सिक्न सक्थे । तर यसमा पनि उनी चुके । मतगणनाकै बेला धाँधली गरेर नतिजा आफ्नो पोल्टामा पार्ने महत्वपूर्ण मौका उनले गुमाए ।

नेपालको चुनावी पाठ सिक्न नसकेकै कारण ट्रम्प पछि परे । तर अझै पनि केही बिग्रिसकेको छैन । सबै परिणाम घोषणा भैसकेपछि धाँधली भयो, बाटोमा मतपत्र साटियो भन्ने मौका बाँकी नै छ । धाँधली गरेर हराइयो भनेर अमेरिकामै नेपाल बन्द गर्न सकिन्छ । टायर बाल्न र बार भत्काउन सकिन्छ । तर यो मतपत्र च्यात्नु जत्तिको प्रभावकारी हुन सक्दैन । एकैछिनको लागि पिसाबको न्यानो मात्रै हुनेछ ।
तर चुनाव हार्दैमा सबैथोक सकिँदैन भन्ने जल्दोबल्दो प्रमाण पनि नेपालमै छ । 

चुनाव हारेर पनि प्रधानमन्त्री भएका नेता नेपालमा जीवितै छन् । प्रतिनिधिसभा चुनाव हारेका नेता त अहिले पनि राष्ट्रियसभाको सदस्य नै छन्, त्यो पनि एकजना हैन, दुई दुई जना । चुनाव हारे पनि पद र पावर कसरी जोगाइरहन सकिन्छ भन्ने अनुभव ट्रम्पले माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबाट लिन सक्छन् । यता जस्तो उता राष्ट्रियसभा नभए पनि केही न केही सभा त होला नि । यताजस्तै उता पनि ढोका बन्द भएको बेला छिर्न सक्ने झ्याल पक्कै होलान् । नेपाली नेताबाट सिकेर ट्रम्प अझै कुनै टप ठाउँमै उभिएर टर्रो बोलिरहून् ।

किनकी यता ओलीलाई आफू नहुँदा देश खत्तम होला भन्ने पीर लागे जस्तै उता उनलाई पनि आफू नहुँदा विश्व नै बर्बादीमा फस्ने डर होला । नेपाललाई बर्बादीबाट जोगाउन ओली चाहिएजस्तै विश्वलाई बर्बादीबाट बचाउन ट्रम्प त चाहिन्छ नै । 

अन्तिम अपडेट: चैत २९, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

1 Comments

  • Sanjay

    Nov. 10, 2020, 5:51 p.m.

    एकदम ठीक, ....मलाई पनि त्यस्तै लागेको थियो /

  •  0 Reply

तपाईको प्रतिक्रिया