दुर्घटना न्यूनीकरण गर्न ‘चालकसँग एक मिनेट’

 कात्तिक २३, २०७७ आइतबार १७:२०:१४ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – दुर्घटना न्यूनीकरणका लागि ‘चालकसँग एक मिनेट’ कार्यक्रम सुरु  गरिएको छ । नवलपरासी ( बर्दघाट सुस्ता पूर्व) नवलपुरमा राजमार्ग तथा शहरी क्षेत्र केन्द्रित गरी यो कार्यक्रम सुरु गरिएको हो । राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि कार्यक्रम सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख मुनेन्द्र थापाले बताउनुभयो ।

गण्डकी प्रदेशभरि नै यो कार्यक्रम आजबाट एकैसाथ सुरु गरिएको प्रमुख थापाले बताउनुभयो । गण्डकी प्रदेशका ११ वटै जिल्लामा कार्यक्रम सुरु गरिएको र पहिलो चरणमा एक महिना सम्म कार्यक्रम सञ्चालन गरिने ट्राफिक प्रहरी कार्यालय प्रमुख थापाले बताउनुभयो ।

‘चालकसँग एक मिनेट ’कार्यक्रम अन्तर्गत सवारी साधनलाई रोकेर सम्मानपूर्वक नमस्कार गरी सवारी नियमको पालनाको बारेमा जानकारी गराइने उहाँले बताउनुभयो ।

‘पहिला प्रहरी र चालकबीचको सम्बन्ध सुधार गर्ने, त्यसका लागि सम्मानपूर्वक नमस्कारबाट सुरु गरी नियमहरुको बारेमा जानकारी प्रदान गरिनेछ’, जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख थापाले भन्नुभयो, 'अन्त्यमा पनि नमस्कार गरी बिदा गरिनेछ ।'

एक मिनेटमा सवारी साधन चलाउदा अनिवार्य रुपमा सिटबेल्ट लगाउन, मोटरसाइक, स्कुटर चलाउँदा अनिवार्य हेल्मेट प्रयोग गर्न, हेल्मेटको फित्ता  लगाउन भनिने प्रमुख थापाले भन्नुभयो ।

यस्तै जाँडरक्सी सेवन गरेर साधन नचलाउन र तीब्र गतिमा सवारी साधन नचलाउन आग्रह गरिने ट्राफिक प्रहरी कार्यालय प्रमुख थापाले बताउनुभयो ।

अहिले कोभिडको महामारीका कारण कम चलेका  सवारी साधान क्रमश धेरै चल्न थालेकाले यो समयमा सवारी दुर्घटनाको जोखिम समेत धेरै हुन सक्ने भएकाले अभियानको थालनी गरिएको उहाँले बताउनुभयो ।

चालकसँग एक मिनेट कार्यक्रमको क्रममा कोभिड १९ बाट बच्नको लागि अनिवार्य मास्क लगाउन , भौतिक दूरी कायम गर्न समेत आग्रह गरिने प्रमुख थापाले बताउनुभयो ।

‘अहिले कोभिडको जोखिम छ, हामीले बसका चालक सहित यात्रुलाई समेत अनिवार्य मास्क लगाउन समेत अनुरोध गर्ने गरेका छौँ' प्रमुख थापाले भन्नुभयो ।

नवलपुरमा ट्राफिक प्रहरी कार्यालय नवलपुर मार्फत जिल्लाका चार ठाउँमा यो कार्यक्रम सञ्चालन गरिने छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया