लमजुङको दोर्दीमा ‘हेलो आमा’ कार्यक्रम सञ्चालन : घरमा सुत्केरी हुने सङ्ख्या शून्यमा झार्ने लक्ष्य

 कात्तिक २५, २०७७ मंगलबार २१:३५:१५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको दोर्दी गाउँपालिकाले ‘हेलो आमा’ कार्यक्रम सञ्चालन गरेको छ । गर्भवती, सुत्केरी महिलालाई लक्षित गर्दै गाउँपालिकाले यस वर्षदेखि यो कार्यक्रम सञ्चालन गरेको हो । यस कार्यक्रमका लागि गाउँपालिकाले चार लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ ।

दोर्दी गाउँपालिकाको स्वास्थ्य शाखाले गर्भवती, सुत्केरी महिला तथा नवजात शिशुको स्वास्थ्यलाई ख्याल गर्दैै यस वर्षदेखि गाउँपालिकामा यो कार्यक्रम सञ्चालनमा ल्याइएको शाखाका हेल्थ असिस्टेन्ट सुजन सुनारले जानकारी दिनुभयो ।

गाउँपालिकाका अनुसार ‘हेलो आमा’ कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न पालिकाभित्र रहेका १० वटा स्वास्थ्य केन्द्रमा रहेका एक–एक जना अनमीलाई फोकल पर्सन तोकी खटाइएको छ । कार्यक्रमबारे उनीहरुलाई अभिमुखीकरण समेत गराइएको छ । 

फोकल पर्सनलाई रिचार्ज कार्डको व्यवस्था गरिएको छ । फोकल पर्सनले फोनमार्फत नै गर्भवती महिला, सुत्केरी महिलालाई आवश्यक स्वास्थ्य परामर्श दिनेछन् । स्वास्थ्यसम्बन्धी जानकारी महिलाहरुले फोकल पर्सनलाई फोनमार्फत नै सोध्न सक्ने छन् ।

नियमित गर्भ जाँच, सुत्केरी जाँच गराउनेलाई उपहार 

उहाँका अनुसार यस कार्यक्रम अन्तर्गत सरकारको प्रोटोकलअनुसार गाउँपालिकाभित्रका गभर्वती महिलाले स्वास्थ्य संस्थामा गइ चार पटक गर्भ जाँच गराएमा पाँच सय रुपैयाँ बराबरको अण्डा, चना उपहारस्वरुप प्रदान गरिनेछ । 

यस्तै  स्वास्थ्य संस्थामै गएर प्रसूति गराएमा पाँच सय रुपैयाँ बराबरको ‘हाइजिन किट’ उपहारस्वरुप उपलब्ध गराइनेछ । सरकारको प्रोटोकलअनुसार सुत्केरी महिलाले तीन पटक सुत्केरी जाँच गराएमा पनि पाँच सय रुपैयाँ बराबरको घ्यू उपलब्ध गराइनेछ ।

गाउँपालिका अनुसार यस वर्ष गाउँपालिकाभित्रका एक सय २० महिलालाई यस उपहार प्रदान गर्ने लक्ष्य राखिएको छ । 

यसैगरी आर्थिक अवस्था कमजोर रहेका महिलालाई ‘डेलिभरी’ का लागि प्रसूति केन्द्रसम्म ल्याउनका लागि नियमअनुसार यातायात खर्च उपलब्ध गराइने उहाँले बताउनुभयो ।

घरमै सुत्केरी हुने अवस्थालाई शून्यमा झार्ने लक्ष्य

यस वर्ष गाउँपालिकामा घरमै हुने सुत्केरीलाई न्यूनीकरण गर्ने र अर्को वर्षसम्म गाउँपालिकाभित्र घरमा सुत्केरी हुने अवस्थालाई शून्यमा झार्ने लक्ष्यका साथ यो कार्यक्रम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताउनुभयो ।

‘समय–समयमा स्वास्थ्य जाँच नगराउँदा, घरैमा सुत्केरी गराउँदा आमा र शिशुको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । जोखिम हुन सक्छ’, अध्यक्ष गुरुङले भन्नुभयो, ‘त्यसैले गर्भवती महिलालाई नियमित गर्भ जाँच, सुत्केरी जाँचका साथै प्रसूति केन्द्रसम्म गइ सुरक्षित सुत्केरी गराउन प्रेरित गर्ने उद्देश्यका साथ गाउँपालिकामा यो कार्यक्रम लागू गरिएको छ ।’ 

अन्तिम अपडेट: बैशाख ४, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया