तातोपानी नाकामा नेपाली व्यवसायीकाे सामान अलपत्र, लगानी जोखिममा

 कात्तिक २७, २०७७ बिहिबार १९:१६:९ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – तातोपानी नाका सञ्चालनमा आए पनि मालवाहक सामग्री नेपालमा चाहे जति भित्रिएको छैन । नेपाली व्यवसायीको दशैँ र जाडोलक्षित सामग्री अझै खासामै थन्किएर बसेको छ । जाडोको सामग्री गर्मीयाममा र गर्मीका सामग्री जाडोयाममा मात्रै तातोपानी नाका हुँदै नेपाल भित्रिने क्रम बढेपछि व्यवसायीको लगानी जोखिममा परेको हो ।

लामो समयदेखि बन्द रहेको तातोपानी नाका फेरि सञ्चालनमा आए पनि चीनको खासामा रोकिएका सामग्री ल्याउन अझै समय लाग्ने भएको छ । नाकाबाट तोकिएका मालवाहक मात्रै कन्टेनर नेपाल भित्रिँदा खासामा रहेका सामग्री काठमाण्डौ ल्याउन झण्डै डेढ महिना लाग्ने भएको हो ।

नेपाली व्यवसायीले दशैँअघि नै बिक्री गर्नुपर्ने सामग्री खासामा अड्किएका थिए । चिनियाँ पक्षले निश्चित मात्र गाडीमा सामान खासाबाट तातोपानी सुख्खा बन्दरगाहमा पठाउँदा खासामा थन्किएका नेपाली व्यवसायीको दशैँअघि स्टोर गरिएका सामान काठमाण्डौ आइपुग्न ढिलो हुने देखिएकोे सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष वेदबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

अलपत्र सामान ल्याउन नाका सञ्चालनमा आए पनि औसत तीन गाडीभन्दा बढी सामान ल्याउन नदिएपछि नेपाली व्यवसायीको लगानी डुब्ने अवस्थामा पुगेको छ । 

जतिसक्दो छिटो नाका खुलाउन माग

नेपाल–चीनबीचको उत्तरी नाका तातोपानीबाट सहज व्यापार गराउन नेपाल–चीन उद्योग वाणिज्य सङ्घ सिन्धुपाल्चोक शाखाले माग गरेको छ । झण्डै १० महिनादेखि नाकामा रोकिएका सामग्री सहजरुपमा नेपाल भित्र्याउनुपर्ने भन्दै सङ्घले माग गरेको हो ।

चीनबाट कन्टेनर बोकेका सामग्री नेपाल नभित्रिँदा व्यवसायीहरु मारमा परेको भन्दै सङ्घले यस सम्बन्धमा सरकारले कुटनीतिक पहल नगरेको टिप्पणीसमेत गरेको छ । सङ्घका अध्यक्ष जाङबु शेर्पाले १० महिनादेखि चिनियाँ नाकामा रोकिएका कन्टेनरहरु अझै सहजरुपमा नेपाल भित्रिन नसकेको भन्दै यथाशीघ्र पहल गर्न जोड दिनुभएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया