भनभन भाइ हो – के भन्ने ! ओलीलाई राजीनामा – दे भन्ने !!

 कात्तिक २९, २०७७ शनिबार ९:३६:२९ | मिलन तिमिल्सिना
unn.prixa.net

काठमाण्डाै - सरकारले यस वर्ष नागरिकलाई देउसीभैलो नखेल्नु भनेको छ । तर सरकारका मान्छे र नेताहरु चाहिँ तिहार सुरु हुनु छ महिना अघिदेखि नै देउसीभैलो खेल्दैछन् ।

नेकपामा प्रचण्डसहितका ठूला पाँच भाइ धेरैजसो खुमलटारमा देउसी भट्याउने गीत बनाउँछन्, र खुमलटारमा बनाएको गीत बालुवाटार पुगेर देउसी र भैलीको भाकामा भट्याउँछन् ।

आहै केराको थम्मा - देउसिरे
पाँचभाइ जम्मा - देउसिरे
आहै भनभन भाइ हो - के भन्ने ?
ओलीलाई राजीनामा - दे भन्ने
हामीलाई कुर्सी - ले भन्ने
बातचित र बैठक - खै भन्ने
अरुभन्दा जान्ने - मै भन्ने 

आहै हामी यसै आएनौं - बालुवाटारको याद आयो । 
पद र पावर नहुँदा - बाडुली लाग्यो बालुवाटारको  
कुर्सी र गाडी कम हुँदा - रजगजको दिन याद आयो 
कति बस्छौ ओली - बालुवाटार 
हामीलाई छाड्देउ - बालुवाटार
मागमाग भाइ हो - राजीनामा
गन्ती गर दिनको  - राजीनामा
आ है घोडा बान्ने तबेला - देउसिरे
राजीनामा किन अबेला - देउसिरे !

बेला न कुबेला राजीनामा किन अबेला भन्दै देउसी खेल्ने पाँच भाइलाई बाल दिनुको सट्टा ओली आफ्नै जुँगा र बाल ऐनामा हेरेर मख्ख पर्छन् । पाँच भाइ देउसी भट्याउँदैछन्, उनी जुँगा कालो भयो भनेर दंग पर्दैछन् । देउसी खेल्न ओली पनि के कम ? देउसी खेल्ने दौंतरीले साथ छोड्दै गएपछि उनी भाषण र उद्घाटनमा पुगेर देउसी खेल्छन् ।
आहै म त्यसै आइन - बालुवाटार
राजा खेद्ने जनताले पठाए - बालुवाटार
मैले किन छाड्ने - बालुवाटार
छोड्दै छोड्दिनँ - बालुवाटार
आहै दिंदै दिन्न - राजीनामा
सुन्दै सुन्दिनँ - राजीनामा
ए छानामाथि घिरौंला - देउसिरे
कसरी हटाउँछन् हेरौँला - देउसिरे
कुर्सी हल्ले नि - बाल छैन
पाँच भाइले खेदे नि - बाल छैन
नागरिकले दुःख पाउन् - बाल छैन
समृद्धिले हावा खाओस् - बाल छैन
आहै घोडा बान्ने तबेला - देउसिरे
राजीनामा दिने होइन बेला - देउसिरे !

सत्ताको डाडु पन्यौ लिएर बसेका नेकपाका एकथरीलाई बालुवाटार छिर्न नपाएर अबेला भएको छ । अर्कोथरीलाई बालुवाटार छोड्ने बेला भएको छैन । बेला भएन र अबेला भयो भनेर उनीहरु देउसिरे खेल्दैछन् । नागरिक चाहिँ कोरोनाको डर र महंगीको मारले आफ्नो देउसी कस्का अगाडि भट्याउने भनेर जिल्लाराम छन् ।
आहै यतै फर्के - कोरोना
उतै फर्के - कोरोना
उठीबास भइयो - कोरोना
बिल्लीबाठ भइयो - कोरोना
करभन्दा चर्को - कोरोना
डर छैन अर्को - कोरोना
सोझासिधा रुवाउने - कोरोना
टाठाबाठा हँसाउने - कोरोना
ढाँट्ने छल्ने निहुँ भो -कोरोना
भ्रष्टाचारको बीउ भो - कोरोना
बिदा चाहियो - कोरोना
सिदा चाहियो - कोरोना
काम खोस्ने बहाना -  कोरोना
माम खोस्ने मेसो  - कोरोना
खाम भर्ने पनि - कोरोना
हाम पार्ने पनि - कोरोना
ठूलालाई चैन हो - कोरोना
सानालाई ऐन हो - कोरोना
कहिले जाला भागी - कोरोना !

टाठाबाठाले कोरोनाको कारण मौकामा चौका हान्न पाइयोस् भन्दै देउसिरे भट्याइरहे पनि सोधासिधा नागरिक चाहिँ कोरोना भागीजाओस् भनेर देउसीभैलोमै कामना गर्दैछन् । सत्ता चलाउने नेता र सताइरहने कोरोनाबाट आजित उनीहरुले देउसीमा आशीष पनि मिसाएका छन् :
जेटको जस्तो - हाल नहोस्
पाइलटको जस्तो - चाल नहोस्
जनकपुरमा - रेल चलोस्
टनकपुरमा - झेल नहोस्
कोरोना सोरोना - हटी जा
लकडाउन र कर्फ्यु - मेटी जा
महँगीले आकाश - नछोओस्
जागिर र नोकरी - नगुमोस्
सरकारको आङमा - घाम लागोस्
घामपार्टीको नाकमा - डाम नलागोस्
नागरिकले सुन्ने - भाषण होओस्
भाषणभन्दा धेरै - रासन होओस् 
चुच्चे नक्सा - बुच्चे नहोस्
भारतको अघिल्तिर - फुच्चे नहोस् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया