कोरोना सङ्क्रमण मुक्त भएकाले पनि सावधानी अपनाउनुपर्छ - भाइरोलजिस्ट मिश्र

 कात्तिक २९, २०७७ शनिबार १२:९:२६ | डा.श्रवणकुमार मिश्र
unn.prixa.net

काठमाण्डाै - नेपालमा पनि कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक लाख ७० हजार नजिक छ ।

एक पटक कोरोना सङ्क्रमण भएर निको भइसकेकाहरु कोही शरीरमा एण्टिबडी बन्ने भएकाले अब सङ्क्रमण हुँदैन भन्नेमा ढुक्क भएको बताउँछन् भने कोही दोश्रो पटकको सङ्क्रमण झन जटिल हुने चिन्ताले सताएको बताउँछन् ।

केही भने सङ्क्रमण हुँदा सामान्य लक्षण मात्रै देखिएको भए पनि सङ्क्रमण मुक्त भइसकेपछि थकान महशुस हुने, छाती दुख्ने वा खोकी लागिरहने जस्ता समस्या आएको बताउँछन् । पुनः सङ्क्रमणको जोखिम तथा सङ्क्रमणमुक्त भएपछि शरीरमा हुने स्वास्थ्य अवस्थाबारे साथी भोजेन्द्र बस्नेतले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौका भाइरोलजिस्ट डा. श्रवणकुमार मिश्रसँग कुराकानी गर्नुभएको छ । 

पीसीआर पोजेटिभ भएर पछि नेगेटिभ आएपछि उसले अरुलाई सङ्क्रमण सार्न सक्छ कि सक्दैन ?  

सङ्क्रमितमा सीटी भ्यालु भन्ने हुन्छ । सीटी भ्यालु ३७ भन्दा पछाडि गयो भने हामी नेगेटिभ भन्छौँ । सामान्यतया सीटी भ्यालु ३२ भन्दा पछाडि गयो भने उसले अरु व्यक्तिलाई भाइरस सार्ने वा सङ्क्रमण दर घटेर आउँछ भनेर विभिन्न अनुसन्धानले देखाएको छ । 

सङ्क्रमणमुक्त भएका कतिपय व्यक्तिहरुले अब मलाई कोरोना सङ्क्रमण हुँदैन र अरुलाई सार्दिन भन्ने गरेको पाइन्छ । के यो सत्य हो ? 

एक पटक कोरोना सङ्क्रमण भएर पीसीआर नेगेटिभ भइसकेपछि ९० प्रतिशत भन्दा बढीको हकमा सर्दैन । तर फेरि बुझ्नुपर्ने कुरा मास्क लगाउने, दूरी कायम गर्ने, हात धुने जस्ता स्वास्थ्यका मापदण्ड उनीहरुले पनि पालना गर्नुपर्छ । पुनः सङ्क्रमण हुन सक्छ कि सक्दैन भन्ने कुरामा चाहिँ हामीले एन्टिबडीकाे जाँचबाट मात्र भन्न सकिन्छ ।

सङ्क्रमणमुक्त हुँदा कसैमा उसलाई रक्षा गर्नसक्ने गरी एण्टिबडी बनेको हुन्छ भने कतिपयमा एण्टिबडी नबनेको वा सामान्य मात्र बनेको पनि हुन सक्छ । एण्टिबडी नबनेको वा कम बनेको अबस्थामा पुनः सङ्क्रमण स्वभाविक हो । त्यसैले यो कुराका लागि एण्टिबडीको जाँच आवश्यक हुन्छ ।

एण्टिबडी बनेको मानिसको शरिरमा त्यो एण्टिबडी लामो समय बस्छ कि केही समयमा घट्ने पनि हुन्छ ? 

यो कुरा अध्ययन बिना भन्न सकिन्न । विभिन्न देशमा गरिएका अध्ययनमा समयसँगै एण्टिबडी घटेको पनि देखाएको छ । तर अरु देशको अध्ययन हाम्रो देशमा लागू नहुन पनि सक्छ । नेपालमा पनि एण्टिबडीको अवस्था कस्तो छ भनेर सेरो सर्भेलेन्स भइरहेको छ ।

सङ्क्रमण भएर एक महिना वा तीन महिनापछि एण्टिबडीको अवस्था हेरिन्छ । तर एण्टिबडी घट्ने नघट्ने भन्दा पनि कोरोना सङ्क्रमणबाट बच्ने सुरक्षाका उपायहरु सामान्य छन्, यी उपायहरु सङ्क्रमणमुक्त भएका वा सङ्क्रमण नभएका सबै व्यक्तिले अपनाउनु नै बुद्धिमानी हुन्छ । विश्वका धेरै देशमा दोश्रो लहर, तेश्रो लहर देखिएको छ, त्यहाँ पुनः सङ्क्रमण पनि हुन सक्छन्, समयसँगै भाइरसको मोडालिटी पनि परिवर्तन हुन सक्ने भएकोले सुरक्षित रहनु आवश्यक हुन्छ ।

नेपालमा पनि पुनः सङ्क्रमण भएका चर्चाहरु सुनिन्छ, केही स्पष्ट उदाहरण छन् ? 

एक पटक पीसीआर नेगेटिभ देखिएकाहरुमा पुनः पीसीआर पोजेटिभ दखिएको छ । तर यसको अर्थ नयाँ सङ्क्रमण हो वा शरीरमा भएका पहिलेकै भाइरसको अवशेष हो भन्ने हेर्नुपर्ने हुन्छ । यसको लागि भाइरसको कल्चर गर्नुपर्छ । भाइरस जीवित वा मृत के हो भनेर गरिने भाइरस कल्चरको सुविधा अहिले नेपालमा छैन ।

सङ्क्रमण भएर पीसीआर नेगेटिभ भएका कतिपयले खोकी लाग्ने, थकान हुने जस्ता समस्या आइरहेको बताउँछन् । उनीहरुले के गर्ने ? 

यसमा भाइरसको सङ्क्रमण भएपछि भाइरसको संख्या घट्दै गएर पीसीआर नेगेटिभ आउनु एउटा पाटो हो भने भाइरसले विशेषगरी फोक्सो र अरु अङ्गहरुमा कति क्षति गरेको छ भन्ने कुरा दोश्रो पाटो हो । नेपालमा पनि पीसीआर नेगेटिभ आइसकेपछि पनि फोक्सोले काम गर्न नसकेर मानिसको ज्यान गएको घटनाहरु भएका छन् ।

पीसीआर नेगेटिभ आए पनि फोक्सोमा भएको क्षति निको हुन केही महिना लाग्छ । कडा लक्षण देखिएका व्यक्तिहरुमा फोक्सो ठिक हुन तीनदेखि छ महिनासम्म लाग्ने भएकोले त्यस्ता व्यक्तिमा श्वासप्रश्वासमा समस्या हुने, खोकी लाग्ने, थकान लाग्ने जस्ता समस्याहरु देखिन सक्छन् । त्यस्ता व्यक्तिहरु फोक्सोका विज्ञ अर्थात पल्मोनोलोजिष्टहरुको सम्पर्कमा रहनुपर्ने हुन्छ ।

कतिपयमा भने  थकाइ लाग्ने, शरीरको तापक्रम बढ्ने, खोकी, भ्रम र शंका लाग्नेजस्ता समस्या भएको गुनासो आए पनि रिपोर्टहरू भने सामान्य हुन सक्छन्, उनीहरुमा मानसिक समस्या भएको हुन सक्छन् । उनीहरुलाई घरपरिवार वा साथीभाइले सम्झाउने वा आवश्यक परेमा मनोविज्ञहरुबाट पनि सुझाव लिनुपर्छ । संक्रमणमुक्त भए पनि ठूला लक्षणहरु देखिएमा डाक्टरहरुको सल्लाह लिनुपर्छ । सामान्य लक्षणहरु बिस्तारै हराउँदै जान्छन् ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

डा.श्रवणकुमार मिश्र

डा मिश्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौका भाइरोलजिस्ट हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया