'वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशाेर प्रधान र चन्द्र ढकाललाई मिलाउने प्रयास भइरहेकाे छ'

 मंसिर ३, २०७७ बुधबार २०:३३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले वरिष्ठ उपाध्यक्षका दुवै उम्मेदवार किशाेर प्रधान र चन्द्र ढकाललाई मिलाउने प्रयास भइरहेको बताउनुभएको छ ।

दुवै व्यक्ति महासङ्घका लागि आवश्यक भएकोले आउँदाे चुनावमा मिलेर जानुको विकल्प नरहेको अध्यक्ष राणाले बताउनुभएको छ । बुधबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष राणाले दुवै व्यक्ति महासङ्घका लागि चाहिने व्यक्ति भएकाले महासङ्घमा अट्नुपर्छ भन्ने लागेर नै आफूले मिलाउने प्रयास गरिराखेको स्पष्ट पार्नुभयो । आफूले एक पटक फेरि दुवै उम्मेदवारलाई एक ठाउँमा राखेर कुरा गर्नेसमेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अध्यक्षको रूपमा मैले दुवै जनालाई एउटा सशक्त उम्मेदवारको रूपमा देख्छु । दुई जना नै महासङ्घमा अट्नुपर्छ भन्ने मेरो व्यक्तिगत विचार छ । मलाई लाग्छ महासङ्घले पनि त्यो धारणा लिएर अगाडि बढ्नुपर्छ र उहाँहरूसँग सहमतिको लागि कुरा भइरहेको छ । अब चुनावकाे समय पनि आयो । तिहार सकिएकाे अवस्था छ, छठपछि एकचोटि दुई जनालाई राखेर कुरा गरेर सहमतिको वातावरण बनाउँछु भन्ने मैले सोचेको छु । त्यो प्रयास नेतृत्वमा पुगेको व्यक्तिले गर्नु पनि पर्छ ।’ 

महासङ्घको हितको लागि भए पनि दुवै जनाले त्याग गर्न सक्नुपर्ने उहाँले बताउनुभयो । कोभिडको परिस्थितिमा महासङ्घका कामहरूलाई प्रभावकारी बनाउन पनि दुवै व्यक्तिको आवश्यकता पर्ने भएको र त्यसका लागि दुवै व्यक्तिले त्याग गर्न सक्नुपर्ने अध्यक्ष राणाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुवै जनालाई एक पछि अर्को गरेर मिल्नको लागि आउनुस् भनेर आह्वान पनि गरेको छु । त्यसैले गर्दा दुवै पक्षले महासङ्घको हितको लागि त्याग गर्न सक्नु पर्‍याे । त्यसकारणले एक जनालाई पनि नगुमाउन चाहन्छौँ, एकपछि अर्को गरेर गर्नको लागि मेरो फेरि एकचोटी अन्तिम प्रयास रहनेछ ।’

महासङ्घको ५४ औँ वार्षिक साधारण सभा तथा निर्वाचन यही मङ्सिर ११, १२ र १३ गते काठमाण्डाैमा हुँदैछ । चुनावका लागि किशाेर प्रधान र चन्द्रप्रसाद ढकालले आ–आफ्नो प्यानलसहित वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

गएकाे चैतमा हुनुपर्ने महासङ्घको ५४ औँ साधारण सभा तथा चुनाव काेभिड–१९ का कारण स्थगित भएको थियो । पटक–पटक साधारण सभा तथा निर्वाचनको मिति तोकिए पनि कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण साधारण सभा हुन सकेको थिएन ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया