ओखलढुङ्गाको पर्यटकीय गाउँ ठाडेका होमस्टे खुल्न थाले

 मंसिर ५, २०७७ शुक्रबार ९:१३:४४ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुङ्गा - ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा रहेको पर्यटकीय गाउँ ठाडेका होमस्टे खुल्न थालेका छन् ।

कोरोना सङ्क्रमणको जोखिम बढेपछि बन्द भएका होमस्टे स्वास्थ्य सुरक्षा सर्तकतासहित खुल्न थालेका हुन् । ओखलढुङ्गालगायत छिमेकी जिल्लामा समेत कोरोना सङ्क्रमण जोखिम बढेको, सरकारले समेत होटलजन्य उद्योग सञ्चालनमा रोक लगाएका कारण ओखलढुङ्गाको एक मात्र होमस्टे रहेको गाउँ ठाडेका होमस्टे चैतदेखि बन्द भएका थिए ।

पछिल्लो समय कोरोना सङ्क्रमित पनि नभेटिएको र बजार तथा होटलहरु खुल्नथालेसँगै होमस्टे पनि खुलेका हुन् । होमस्टेमा पाहुनाहरु समेत आउन थालेका व्यवसायीहरु बताउँछन् । स्वास्थ्य सुरक्षा अपनाएर होमस्टेको सेवा सुरु गरिएको ठाडे मगर सामुदायिक होमस्टेका अध्यक्ष पारस मगरले बताउनुभयो । पर्यटकले भौतिक दूरी कायम गर्नुपर्ने, होमस्टे प्रवेश गर्नुअघि र समूहमा बस्दा अनिवार्य मास्क लगाउनुपर्ने अध्यक्ष मगरको भनाइ छ ।

सहरमा बस्ने धेरैजसो अहिले गाउँमा रहेकाले अर्ग्यानिक परिकारको स्वादमा रमाउन चाहने आन्तरिक पर्यटक होमस्टेमा आउने गरेका छन् । ठाडेबजार समुद्री सतहबाट झण्डै २ हजार ९ सय मिटर उचाइमा छ । सगरमाथाको प्रवेशमार्गमा पर्ने ठाडे बजार सोलुखुम्बुको पत्ताले नजिक पर्दछ ।

ठाडेबाट विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत अन्य दर्जनौँ हिमशृङखलाको दृश्यावलोकन गर्न सकिन्छ । ठाडेमा स्थानीय मगर समुदायले सामुदायिक होमस्टे गएकाे वर्षदेखि सुरु गरेका हुन् । ओखलढुङ्गा सदरमुकामबाट गाडीमा झण्डै ३० मिनेटमा ठाडेको होमस्टेमा पुग्न सकिन्छ ।

ठाडेको होमस्टेमा पुग्ने पाहुनालाई आलुको ढिडो (रिल्दुक), गोर्मालिक (गहुँको पिठो दूधमा पकाएको परिकार), स्याक्पा, सिमी, मकै, फापरको ढिँडो लगायत स्थानीय परिकार खुवाउने र मगर समुदायको संस्कार अनुरुप पाहुनाहरुलाई सत्कार स्वागत गरिन्छ ।

होमस्टेले दृश्यावलोकन, स्थानीय परिकारको स्वाद लिन मात्रै होइन हाेमस्टेले मगर संस्कृतिलाई समेत प्रवर्द्धन गर्न सहयोग गरेको सिद्धिचरणका मेयर मोहनकुमार श्रेष्ठले बताउनुभयो । सिद्धिचरण नगरपालिकाले नीति तथा कार्यक्रममै ठाडेलगायत ज्यामिरे, रुम्जाटार, लगलगेलगायतका ठाउँमा होमस्टे सञ्चालन गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने प्रस्ताव गरेको उहाँको भनाइ छ । ठाडे सिद्धिचरण राजमार्गसँगै जोडिएको र पुरानो पर्यटकीय गाउँ भएकाले स्थानीय आफैँले सामूहिक रुपमा होमस्टे सुरु गरेका हुन् ।

 

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया