थन्क्याइएकाे अलैँचीले बजार मूल्य पायाे, किसान खुसी

 मंसिर १०, २०७७ बुधबार १६:१८:५१ | सुजता सुनुवार
unn.prixa.net

प्रतिकात्मक तस्बिर

इलाम – थन्क्याइएको अलैँची बिक्री भएपछि इलामका किसान हर्षित भएका छन् । गएको वर्ष र यो वर्षको अलैंची एकैसाथ बिक्री गर्न पाउँदा उनीहरु हर्षित भएका हुन् । 

अलैँची मसलाको रुपमा सबैभन्दा बढी तेस्रो देश निर्यात हुने मुख्य नगदेबाली हो । तेस्रो देशसहित नेपालमा समेत कोरोना महामारीले पारिरहेको प्रभावका कारण अलैँची बिक्री नहुने हो कि भन्ने चिन्तामा रहेका किसानलाई अहिले राहत भएको माईजोगमाई गाउँपालिका २ का किसान वीरबहादुर महतले बताउनुभयो । 

उहाँ भन्नुहुन्छ, ‘बिक्दैन कि भन्ने डर थियो तर बिक्यो, साँच्चै नै खुसी लाग्यो । स्थानीय व्यापारीले गएको वर्ष किनेकै अलैँची थन्क्याएर राखेकाले यो वर्ष किन्दैनन् भन्ने पिर लागेको थियो ।’ नेपालले पाकिस्तानसँग अलैँची सम्बन्धी व्यापार सम्झौता गरेको चर्चासँगै व्यावसायिक रुपमा अलैँची खेती गरिरहेका इलामका किसान अझै मूल्य वृद्धि हुनेमा आशावादी छ । 

गएको वर्षभन्दा यो वर्ष वीरबहादुरको अलैँची उत्पादन बढेको छ । गएको वर्ष सुक्का चार मन उत्पादन भएको अलैँची यो वर्ष बढेर सात मन पुगेको छ । केही समयअघि प्रतिमन (४० केजी) को २१ हजार मूल्यमा किनबेच भइरहेको अलैँची अहिले २४ हजारसम्म किनबेच भइरहेको छ । 

माईजोगमाईका कुल किसानमध्ये ६० प्रतिशत किसानले व्यावसायिक अलैँची खेती गर्दै आएको किसान महतले जानकारी दिनुभयो । जसमा १५ प्रतिशत किसान भने जीविकोपार्जनका लागि यही बालीमै आश्रित छन् । 

अलैँची गरम मसलामा अधिक मात्रामा प्रयोग हुने गर्छ । कोरोना महामारीका कारण होटल बन्द भए, पर्यटक कम आए र विवाहलगायतका कार्य कम भएकाले विश्वको अर्थतन्त्र नै ठप्प भएको समयमा अलैँचीको अहिलेको बजार मूल्य चित्तबुझ्दो भएको नेपाल अलैँची व्यवसाय महासङ्घका उपाध्यक्ष तथा व्यापारी इन्द्र बिन्दल बताउनुहुन्छ । 

उहाँका अनुसार, अहिले नेपालको अलैँची भारत, पाकिस्तान र बङ्गलादेशसम्म निकासी हुन थालेको छ, जसमा सबैभन्दा बढी भारतमा ७० प्रतिशत निकासी भइरहेको छ । 

उत्कृष्टताका आधारमा अलैँचीलाई तीन ग्रेडमा छुट्याइन्छ । जम्बुजेट (उत्कृष्ट), मिडियम र चालु छन् । यीमध्ये नेपालमा प्रशोधित अलैँची सबै चालु मात्रै भएको अलैँची व्यवसायी महासङ्घ जिल्ला समिति इलामका अध्यक्ष विजय खाकीले जानकारी दिनुभयो । 

उत्पादन बढ्यो, अन्तर्राष्ट्रिय खपत बढेन

अहिलेको अलैँचीको बजार भाउ चित्तै नबुझ्ने भाउ भने होइन, किसान निराश नै बनिहाल्नुपर्छ भन्ने नदेखिएको अध्यक्ष खाकीको भनाइ छ ।  

प्रदेश १ का १४ जिल्लामध्ये हिमाली र पहाडी जिल्लामा ठूलो क्षेत्रफलमा खेती हुँदै आएको छ । यही प्रदेशबाट सबैभन्दा बढी अलैँचीको उत्पादन पनि हुने गर्दछ । कुल उत्पादनको ८३ प्रतिशत अलैँची प्रदेश १ मा उत्पादन हुने गरेको छ भने कुल अलैँची खेती हुने क्षेत्रफलमध्ये ९२ प्रतिशत प्रदेश १ मा पर्दछ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार देशभर १२ हजार पाँच सय आठ हेक्टरमा अलैँची खेती हुँदै आएको छ, जसमा प्रदेश १ का हिमाली तथा पहाडी जिल्लामा ११ हजार ६ सय सात हेक्टर क्षेत्र रहेको छ ।

नेपालमा अलैँचीको कुल उत्पादन वार्षिक रुपमा ६ हजार पाँच सय २० मेट्रिकटन रहेको छ, जसमा ९३ दशमलव ४९ प्रतिशत अलैँची प्रदेश १ मा मात्रै उत्पादन हुने गरेको पाइन्छ । यसमा पनि इलाममा १६ सय हेक्टरमा अलैँची खेती हुँदै आएको तथ्याङ्कले देखाउँछ, कुल उत्पादन पाँच सय ७६ मेट्रिकटन रहेको छ । यसबाट पाँचदेखि ६ अर्ब रुपैयाँको व्यापार हुने गरेको सरकारी तथ्याङ्क छ । 

अहिले नेपालमा खेती विस्तार हुँदै ५० जिल्लामा अलैँची उत्पादन गर्न सुरु गरिएको अध्यक्ष खाकीले जानकारी दिनुभयो, जसमध्ये ९० प्रतिशत उत्पादन पूर्वी नेपालका ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, सङ्खुवासभा र भोजपुर जिल्लामा हुन्छ । 

आर्थिक वर्ष २०७५/०७६ मा ५२ लाख ४० हजार तीन सय २९ किलो अलैँची निर्यात भएकोमा आव २०७६/०७७ मा ५० लाख १२ हजार ६ सय ९४ किलो मात्र निर्यात भएको व्यापार तथा निकासी केन्द्रको तथ्याङ्क छ । आव २०७५/०७६ मा चार अर्ब २८ करोड ४१ लाख ९९ हजार रुपैयाँको अलैँची निर्यात भएकोमा गएको आव २०७६/०७७ मा चार अर्ब एक करोड ९२ लाख १४ हजार रुपैयाँको मात्र निर्यात भएको तथ्याङ्क छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया