हामीसँग युवा जाेसदेखि दशकाैँ लामाे व्यावसायिक अनुभवले खारिएकाे टिम छ, याे नै जितकाे आधार हाे : चन्द्र ढकाल

 मंसिर १०, २०७७ बुधबार १८:१३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – देशका निजी व्यवसायीहरूको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनससीआई) को आसन्न चुनावलाई लिएर यतिखेर सिङ्गो व्यावसायिक क्षेत्र तरङ्गित छ । यही मङ्सिर ११ गतेदेखि सुरु भइ १३ गते महासङ्घको आउँदो कार्यकालका लागि चुनाव हुने भएको छ ।

यस चुनावमा वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल उम्मेदवार हुनुहुन्छ । यसै सेरोफेरोमा रहेर ढकालका चुनावी एजेण्डा र उहाँको विचारसँग केन्द्रित रहेर ढकालसँग गरिएको कुराकानीको केही अंश :

तपाईँ अहिले महासङ्घको चुनावमा वरिष्ठ उपाध्यक्षको उम्मेदवार हुनुहुन्छ । महासङ्घमा १० वर्ष बिताउँदासम्म के–के काम गर्नुभयो ? 

मेरो मान्यता म आफैले के गरेँ भनेर भन्ने होइन हो । मेरो कामको मूल्याङ्कन मेरा अग्रजहरूबाट पनि भएकै छ । म कार्यकारिणी समिति सदस्यमा पहिलो पटक आउँदा अध्यक्ष रहनुभएका आदरणीय सुरज वैद्यदेखि आजसम्म मैले संस्थाको लागि के दिन सकेँ र देशको उद्योग व्यवसाय क्षेत्रका साथीहरुले मेरो भूमिकालाई कसरी मूल्याङ्कन गर्नुभएको छ भन्ने नै मेरो संस्थागत सम्पत्ति हो । त्यो नै मेरो उपलब्धि हो ।

मलाई संस्थाले दिएको उपलब्धि अब्बल दर्जामा रहेर पूरा गर्न सकेँ भन्ने छ । यहाँ रहँदा १० वर्षसम्म गरेको कार्यलाई अहिले नै पूरै स्मरण गर्न त नसकौँला तर पछिल्लो एक उदाहरणका रूपमा रोजगारदाता परिषद्को सभापतिका रूपमा न्यूनतम पारिश्रमिक विवादको समाधानलाई पनि लिन सकिन्छ । लकडाउन अवधिको तलबमान निर्धारणका विषयमा म आफू नै त्यस परिषद्को सभापति भएकोले एफएनससीआईको प्रतिनिधित्व गर्नुपर्दथ्यो, गरेँ ।

सरकार र मजदुर साथीहरूका प्रतिनिधिहरूसँग बसेर नेगोशिएसन गर्नुपर्ने थियो र गरियो । यहाँलाई पनि थाहै छ कि यसमा सरकारको निर्णयभन्दा एक कदम अगाडि सरेर मजदुर प्रतिनिधिलाई ५० प्रतिशत तलबमा सहमत गराउने काम मेरै समन्वयबाट भएको हो, यो कुरा मिडियामा आइनै सकेको छ । यसरी यसलाई सिङ्गो निजी क्षेत्रको नेतृत्व गर्न पाएको अवसरका रूपमा पनि मैले लिएको छु । 

त्यसैगरी दुर्गमका जिल्ला, नगरदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत महासङ्घको उपस्थितिका लागि अहोरात्र खटेको छु । हामीलाई अर्थात् व्यवसाय क्षेत्रलाई नीति निर्माणका तहमा निजी क्षेत्रका आवाज मुखरित गरेकै छु । महासङ्घको प्रादेशिक संरचनाअनुसार स्थापना भएको प्रदेश उद्योग वाणिज्य सङ्घको पूर्वाधारको व्यवस्थालगायत जिल्ला, नगरका हरेक विषय र जिल्लाका साथीहरूका गुनासालाई सुल्झाउने प्रयास गरेको छु । यी सबै कामको साक्षी महासङ्घका साथीहरू हुनुहुन्छ । त्यसैले मैले आफ्नोबारेमा आफैले केही नभनौँ भन्ने लागेको हो । 

महासङ्घको वरिष्ठ उपाध्यक्षमा तपाईँको उम्मेदवारी किन ? यहाँले आफ्नो उम्मेदवारीलाई कसरी पुष्टि गर्नुहुन्छ ?  

यहाँलाई विदितै छ कि निजी क्षेत्र देशको समृद्धिको यात्राको दरिलो खम्बा हो । तर त्यही निजी क्षेत्रले राज्यको तर्फबाट अपेक्षाअनुसार सम्मान पाउन भने सकेको छैन । जुन बेला देशको निजी क्षेत्रलाई आवश्यक परेको छ, अभिभावक चाहिएको हुन्छ, त्यसबेला भने अभिभावकको भूमिका प्राप्त गर्न सकेको छैन भन्ने हाम्रा कतिपय अनुभवहरू छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ नेपालको समग्र उद्योग व्यवसायीहरूको प्रतिनिधित्व गर्ने आधा शताब्दीभन्दा लामो गौरवपूर्ण इतिहास बोकेको छाता संस्था हो ।

हो, मेरो उम्मेदवारी देशको यो क्षेत्रले त्यो सम्मान पाउन सक्ने अवस्था दिलाउनका लागि हो, राज्यबाट अभिभावकत्व पाउनका लागि हो । यसका लागि हामीले सङ्घर्ष र संवाद दुवै गर्नुपर्ने हुन सक्छ । तर म चाहिँ संवादमा बढी विश्वास गर्छु । आज लडाइँ होइन, संवाद गरेर हाम्रा हक खोज्नुपर्छ । हिजो हामीले पाएको सम्मानमा आज ह्रास आएको छ । हामीले त्यो सम्मान फिर्ता ल्याउनुपर्छ । त्यसका लागि म र हाम्रो टिमले सशक्त रूपमा काम गर्नेछ ।

निजी क्षेत्रलाई राज्यले बोलीमा त देशको विकास र समृद्धिको स्टेकहोल्डर ठानेको छ, त्यसलाई व्यवहारमै आत्मसात् गर्न सक्ने बनाउनुपर्छ । त्यसैले पनि हामी महासङ्घको नेतृत्वमा पुग्नुपर्ने अवस्था छ । यसका साथै कोरोनाले थलिएको निजी क्षेत्र र देशको अर्थतन्त्र माथि उकास्न पनि सक्षम र सबल नेतृत्व चाहिन्छ र यसैका लागि हामी महासङ्घ नेतृत्वका लागि अघि बढेका हौँ ।

निजी क्षेत्र आर्थिक विकास र रोजगारी सिर्जनाको पनि एक सशक्त इञ्जिन हो । यो इञ्जिनलाई सञ्चालनमा ल्याउन, सफल बनाउन र यसबाट बढीभन्दा बढी लाभ लिन सक्ने बनाउन निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक छ । मैले यही महसुस गरेर नै राज्य र निजी क्षेत्रबीच नै हातेमालो हुनु आवश्यक छ भनेको हो । हामीले औद्योगिक र व्यापारिक वातावरण बनाउन अझै थुप्रै काम गर्न बाँकी छ । ती के काम हुन् भनेर हामीले पहिचान गरिसकेका पनि छौँ । एजेण्डाका रूपमा अगाडि बढाएका पनि छौँ । हामी नेतृत्वमा आउनासाथ ती क्षेत्रमा काम थाल्नेछौँ । यसले सिङ्गो निजी क्षेत्रप्रतिको धारणा बदल्ने गरी काम गर्ने हाम्रो प्रयास रहनेछ । यसैले नै हामीले समृद्धिको आधार नै राज्य र निजी क्षेत्रको साझेदारी भनेर हाम्रो मूल नारा तय गरेका हौँ ।

अर्काे कुरा म महासङ्घमा द्वि–राष्ट्रिय र एसोसिएटबाटै प्रतिनिधित्व गरेको भए पनि जिल्ला, नगरका साथीभाइसँग सबैभन्दा बढी भिजेको छु । यहाँले देखि नै रहनुभएको छ कि म अहिले पनि ताप्लेजुङदेखि दार्चुलासम्मका सबै जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घका साथीहरूलाई सम्बन्धित जिल्लामै गएर भेट्ने महासङ्घको म नै एक पदाधिकारी हुँ भन्दा मलाई गर्व लाग्छ ।

यसैले मैले हामी नेतृत्वमा आएपछि घरेलु नवीकरणका लागि उद्योग वाणिज्य सङ्घको सिफारिस चाहिने कुरालाई उठाउने छौँ भन्ने कुरा जिल्ला नगरका साथीहरूलाई म विश्वास दिलाउन चाहन्छु । नगरपालिकाको व्यावसायिक करमा उद्योग वाणिज्य सङ्घलाई सहभागी गराउन पहल गर्ने र निम्न आय भएका उद्योग वाणिज्य सङ्घलाई कम्तीमा वार्षिक पाँच लाख रूपैयाँको आम्दानीको स्रोत जुटाउनका लागि मोडल बनाउने काम हामीले गर्नेछौँ ।

हामीले पहिले पनि भनेका छौँ कि गाउँ–गाउँमा उद्यमशिलताको विकासका लागि अरू पहलहरूका अतिरिक्त एक गाउँ एक उत्पादन जस्ता कार्यक्रमलाई फेरि लागू गर्ने विषय पनि हाम्रो प्राथमिकतामा छ । त्यसैगरी जिल्ला, नगरका समस्या समाधान गर्न महासङ्घसँग सिधै जोडिने गरी संयन्त्र बनाउने योजना अगाडि सारेका छौँ ।

यी र यस्ता अनेकन समस्या छन् हाम्रा । यसमाथि पछिल्लो समय फेरि कोरोना महामारीले समग्र देशकै उद्योग र व्यवसाय क्षेत्रलाई नै सबैभन्दा बढी मार पारेको छ । हामीले इतिहासमै यसअघि कहिल्यै नभोगेको र नसोचेको क्षतिको अवस्था भोग्न बाध्य भएका छौँ । मैले यी विचारहरू यहाँसँग राखिरहँदा पनि हामी यो महामारीको चपेटामै छौँ । अझै पनि यो महामारीले कुन रूप लिने हो भन्ने कुराको स्पष्टता कतै आएको अवस्था छैन । यसकारण पनि यो जटिल चुनौतीसँग जुध्नका लागि महासङ्घमा दरिलो नेतृत्वको खाँचो महसुस भएको हो । यही सङ्कटसँग जुध्नका लागि हाम्रो उद्योग, व्यवसाय क्षेत्रमा हामी देशका सबै व्यवसायी साथीहरूलाई बलियो काँध चाहिएकोले उहाँहरूले मलाई अघि सार्नुभएको हो । त्यसैले म नेतृत्वमा पुगेपछि यी समग्र समस्याको समाधानका लागि लागि पर्ने प्रतिबद्धता पनि यहाँ व्यक्त गर्न चाहन्छु । 

चुनावमा तपाईँको टिमले विजय हासिल गर्ने ‘स्ट्रेन्थ’ के हो ? 

हाम्रो टिमको कुरा गर्नुहुन्छ भने यो नेपालको उद्योग व्यवसायको क्षेत्रको अनुभवले खारिएको टिम छ । मलगायत उहाँहरू सबैमा वास्तवमा यो क्षेत्रका लागि र यसमार्फत देशका लागि केही गरौँ भन्ने उत्साह छ । युवा जोसदेखि दशकौँ लामो व्यावसायिक तथा चेम्बर आन्दोलनको अनुभवले भरिपूर्ण टिम हाम्रो मात्र छ । व्यावसायिक होस् कि भौगोलिक या अरू नै हिसाबले किन नहोस्, हाम्रो टिम बढी समावेशी छ र यसले व्यावसायिक र क्षेत्रगत सन्तुलन पनि समेटेको छ ।

उत्पादनमूलक, सेवा, व्यापार, जलविद्युत्, कृषि, पर्यटन, साना–मझौलालगायत सबैखाले व्यवसायको सुनिश्चित प्रतिनिधित्व हाम्रो टिममा छ । यसैले हाम्रो टिमले देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी भित्र्याउन, नयाँ–नयाँ प्रविधि भित्र्याउन, निजी क्षेत्रको सिर्जनात्मक भूमिका बढाएर व्यावसायिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्न र व्यवसायीका हकहित तथा अधिकारका लागि सरकारसँग लबिङ या पोलिसी डायलग गर्न पनि यो टिम सक्षम र सशक्त छ ।

हाम्रो मान्यता पनि के हो भने महासङ्घमा रियल स्टेकहोल्डरले मात्र नेतृत्व गर्नुपर्छ भन्ने हो । जस्तो हेरौँ न, हाम्रो टिममा सानो व्यवसायदेखि ठूलो कर्पाेरेट लेभलमा व्यवसाय गरेकाहरूको प्रतिनिधित्व छ । जस्तो कि राज्यले दिने सीआईपी सम्मान पाउने नै हामी चार जना पदाधिकारीका उम्मेदवारमध्ये दुई जना नै छौँ । यो पनि हामीले चुनाव जित्ने धेरैमध्येको एक आधार हो ।       

अहिले कोरोना महामारीले देशको उद्योग, व्यवसाय सङ्कटमा परेको छ । यस्तो बेलामा देशको समग्र व्यवसाय क्षेत्रलाई नै पुनर्स्थापनाका लागि तपाईँको टिमले के–कस्तो पहल गर्छ ?

हो, यतिखेर महामारीले देश नै आक्रान्त छ, मलाई लाग्छ उद्योग र व्यवसाय क्षेत्र सबैभन्दा बढी मारमा छ । हामी इतिहासमै यसअघि कहिल्यै नआएको र नसोचेको क्षतिको अवस्था भोग्न बाध्य भएका छौँ । अझै पनि यो महामारीले कुन रूप लिने हो स्पष्ट भएको छैन । त्यही कारण यो सङ्कटसँग जुध्न पनि हामीलाई बलियो र सशक्त नेतृत्व चाहिएको हो ।

वास्तवमा कुनै पनि क्षेत्रका लागि यस्तै सङ्कटकै बेलामा बलियो नेतृत्व चाहिने हो । हामीले बेला बेलामा भन्ने गर्छौँ नि नेतृत्व भनेको सङ्कटको सारथी हो भनेर । हो, हामीले त्यही सारथीको काम गर्ने जिम्मेवारीमा जाँदैछौँ । चुनौतीसँग जुधेर देशको समग्र निजी क्षेत्रको मनोबल उँचो पार्ने काममा दरिलो आत्मविश्वासका साथ हामी लाग्नुपर्ने अवस्था छ र नेतृत्वमा पुगेपछि मेरो प्रयास पनि यसैमा केन्द्रित रहनेछ । यहाँले भन्नुभएजस्तै पछिल्लो समयमा महामारीले पनि हामीमाथि अकल्पनीय चुनौती थपिदिएकोले त्यसको ट्याकल गरी देशको उद्योग व्यवसाय क्षेत्रलाई राहत प्रदान गर्न र अहिलेको अवस्थालाई माथि उठाउन पनि हामीसँग कार्ययोजनाहरू छन् ।

हामीले ‘एफएनसीसीआई भिजन २०२५’ को मस्यौदा बनाएर सार्वजनिक पनि गरेका छौँ, हामी त्यसैमार्फत अघि बढ्छौँ । त्यसमा कारोना महामारीका कारण देशको उद्योग, व्यवसायका क्षेत्रमा सिर्जित समस्याको समाधानका प्रशस्त कार्यक्रमहरू छन् ।   

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया