काेराेना भाइरस : पहिलो चरणमा अमेरिकामा ६४ लाख खाेप वितरणको तयारी

 मंसिर १०, २०७७ बुधबार १८:४९:३७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – संयुक्त राज्य अमेरिकाले पहिलो हप्तामा फाइजरले निर्माण गरेको कोभिड–१९ को खोप वितरण गर्ने योजना अघि सारेको छ । अमेरिकी नियामक निकायबाट आपत्कालीन प्रयोगका लागि स्वीकृति पाएलगत्तै सम्भवतः डिसेम्बरमा यो खोप पहिलो चरणमा ६४ लाख व्यक्तिमा लगाइने छ । 

अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) को एक कमिटीको आउँदाे डिसेम्बर १० मा बस्ने बैठकले यसबारेमा निर्णय गर्नेछ । अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिको ज्यान गएकाे सङ्ख्या र नयाँ सङ्क्रमितको सङ्ख्या बढेका कारण पनि खोपलाई आपत्कालीन प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भइसकेको विज्ञहरूले बताएका छन् । 

अमेरिकी सरकारको 'अपरेशन वार्प स्पीड' का प्रमुख अपरेशन अधिकृत जनरल गुस्ताभ पर्नाले डिसेम्बरको अन्त्यसम्ममा झण्डै खोपको चार करोड खेप (मात्रा) उपलब्ध भइ सक्ने बताएका छन् । 

त्यस तथ्याङ्कमा मोडर्नाले तयार पारेको खोप पनि समावेश छ । गएकाे हप्ता निकै प्रभावकारी रहेको भन्दै विवरण सार्वजनिक भएकाले मोडर्नाको खोपलाई पनि आपत्कालीन प्रयोगमा ल्याइने सम्भावनाका बारेमा छलफल भइरहेको पर्नाले बताए ।  

फाइजरको खोप निकै चिसो अर्थात् माइनस ७० डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने हुन्छ । त्यही कारण कम्पनीले १५ दिनसम्म खोपलाई सुरक्षित राख्न मिल्ने गरी विशेष भण्डारणको व्यवस्था मिलाएको छ । 

पर्नाले सबै अमेरिकी राज्यहरूलाई जनसङ्ख्याका आधारमा समानुपातिक रूपमा खोप वितरण गरिने पनि जानकारी दिए । 

सङ्घीय सरकारले कसलाई प्राथमिकता दिनुपर्ने भन्नेबारेमा सिफारिस गर्नेछन् जसमा सम्भवतः वृद्ध, उच्च जोखिम, र अग्रणी कामदारहरू रहने छन् ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया