बेपत्ता नागरिकको न्यायको छानबिन गर्न आयोगको टोली जुम्लामा : देशभरबाट तीन हजार २ सय २३ उजुरी

 मंसिर १२, २०७७ शुक्रबार १३:८:१२ | नेत्र शाही
unn.prixa.net

जुम्ला - बेपत्ता पारिएका व्यक्तिको न्यायको लागि छानबिन गर्न बेपत्ता आयोगको टोली जुम्लामा पुगेको छ ।

आयोगका सदस्य डा.गंगाधर अधिकारी नेतृत्वमा टोली जुम्ला पुगेको हो । कर्णालीलाई प्राथमिकता राखेर जुम्ला पुगेको आयोगको टोलीले बेपत्ताहरुको छानबिन, अनुसन्धान र पहिचानका कार्य अगाडि बढाउने र चार दिनसम्म जुम्लामा बसेर छलफल गर्नेछ । आयोगका सदस्य अधिकारीसहित चार सदस्यीय टोलीले जुम्लामा भोलिदेखि काम सुरु गर्नेछ ।

नेपालमा सशस्त्र विद्रोहदेखि विस्तृत शान्ति सम्झौतासम्म राज्य तथा विद्रोही पक्षबाट बेपत्ता पारिएका नागरिकहरुको पहिचान र छुटेका व्यक्तिहरुको उजुरी लिने उद्देश्यले टोली कर्णालीमा पुगेको डा.अधिकारीले बताउनुभयो । उहाँले आयोगको कार्य क्षेत्र भनेकै छानबिन तथा अनुसन्धान भएकाले भविष्यमा द्वन्द्व दोहोरिन नदिने उद्देश्य रहेको पनि बताउनुभयो ।

देशभरबाट आयोगमा तीन हजार २ सय २३ उजुरी परेको बताउँदै उहाँले कर्णालीमा ४०४ उजुरी परेको जानकारी दिनुभयो । उहाँका अनुसार साविकको कर्णालीको कालीकोटमा ४५, जुम्लामा २०, मुगु २५, डोल्पा ६ र हुम्लामा चार जना बेपत्ताको उजुरी परेको छ । आयोगले भोलि छलफल कार्यक्रम राखेको र छुटेका भएमा पनि उजुरी लिइने भएकाले सम्पर्क गर्न अनुरोध गरेको छ ।

अन्तिम अपडेट: चैत २३, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया