पृथ्वीनारायण शाहको भूमिमा आउन पाउँदा खुसी लागेको छ : भारतीय विदेश सचिव

 मंसिर १२, २०७७ शुक्रबार १४:४६:३५ | किरण लोहनी
unn.prixa.net

गोरखा – नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव हर्षवर्द्धन शृङ्गलाले गोरखामा पुनर्निर्माण भएका तीन वटा विद्यालयको उद्घाटन गर्नुभएको छ । भारत सरकारको सहयोगमा पुनर्निर्माण भएका गोरखा नगरपालिकाका महालक्ष्मी मावि, तारा मावि र रत्नलक्ष्मी माविको उद्घाटन गरिएको हो ।

विदेश सचिव शृङ्गलासहित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले संयुक्त रुपमा विद्यालय भवनको उद्घाटन गर्नुभएको हो । गोरखा नगरपालिका लक्ष्मी बजारको महालक्ष्मी माध्यमिक विद्यालयमा आयोजित उद्घाटन कार्यक्रममा बोल्दै विदेश सचिव शृङ्गलाले नेपालभर दुई सय ७७ वटा विद्यालय र क्याम्पस भवन पुनर्निर्माण गर्न लागेको बताउनुभयो । त्यसका लागि ६ सय करोड नेपाली रुपैयाँ भारत सरकारले सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।

भारतले पछिल्लो समय गुजरात भूकम्पमा ठूलो क्षति बेहोरेको बताउँदै उहाँले त्यहाँको सिकाइ नेपालका लागि उपयोगी हुन सक्ने बताउनुभयो । ‘भूकम्पले तहसनहस भएको गुजरात पुनर्निर्माणपछि अहिले भारतको एउटा प्रमुख आर्थिक केन्द्र बनेको छ’, विदेश सचिव शृङ्गलाले भन्नुभयो, ‘भूकम्प प्रभावित नेपालले पनि छिट्टै त्यस्तै अवस्था हासिल गरोस् ।’

शृङ्गलाले नेपाली र अङ्ग्रेजी भाषामा सम्बोधन गर्नुभएको थियो । नेपाली भाषामा सम्बोधनका क्रममा उहाँले आधुनिक नेपालको स्थापना गर्नुभएका राजा पृथ्वीनारायण शाहको भूमिमा आउन पाउँदा खुसी लागेको बताउनुभयो । गोरखाका मानिसहरू आफ्नो बहादुरीका लागि दुनियाँभरमा चिनिने गरेको पनि विदेश सचिव शृङ्गलाको भनाइ छ ।

विदेशसचिवका साथमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा पनि हुनुहुन्थ्यो । विद्यालय भवन उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव रामकृष्ण सापकोटा, जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङ, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त र महालक्ष्मी मावि व्यवस्थापन समिति अध्यक्ष शिव केसीले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध यस प्रकारको सहयोग आदन–प्रदानले थप प्रगाढ बनेको बताउनुभयो । 

दुई दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाण्डाै आउनुभएका शृङ्गला आज (शुक्रबार) दिउँसाे ३ बजे स्वदेश फर्किने कार्यक्रम छ ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया