४० फिटे कन्टेनरमा तातोपानी नाकाबाट सामान आउन थाले

 मंसिर १२, २०७७ शुक्रबार १९:४२:४९ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – नेपाल र चीनबीचको छोटो, स्थल व्यापारिक नाका तातोपानी हुँदै नेपालतर्फ ४० फीट लामो कन्टेनरमा सामान ल्याउने प्रक्रिया सुरु भएको छ । त्यो कन्टेनरमा आएको सामान भन्सार जाँचपछि काठमाण्डौ लैजाने व्यवस्था गरिएको छ । अब विभिन्न ठाउँमा लोड अनलोड गर्दा सामान बिग्रने तथा कामदारको पारिश्रमिक दिनु नपर्ने भएको छ । 

चिनियाँ पक्षले नै व्यापार व्यवस्थापन गर्न यो सर्त राखेपछि नेपाली सिल्क ट्रान्सपोर्टको चालिस फुटे कन्टेनरले सामान ढुवानी गर्ने भएको हो । तातोपानी नाकामा व्यापार व्यवसाय व्यवस्थित गर्न लागिरहेको सिल्कले चीन तथा नेपाल सरकारबीच सहजीकरण गरेर व्यवस्थित तथा आधुनिक प्रक्रियाबाट काम सुरु गर्न लागेको हो । सिल्कका अध्यक्ष रमेश शेर्पा तथा तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले यो कामलाई औपचारिक रुपमा सुरुवात गर्नुभएको हो । 

पहिलो पटक सिल्क ट्रान्सपोर्टले तीन वटा ४० फीटको कन्टेनर नेपालतर्फ ल्याएसँगै अब नियमित रुपमा ४० फीटको कन्टेनरमा चीनले नेपाली भूमिसम्म सामान ल्याइदिने भएको छ । चीनको मुसा ट्रान्सपोर्ट कम्पनीसँग नै समन्वय गरेर सिल्कले काम गरिरहेको सिल्कका प्रमुख रमेश शेर्पाले जानकारी दिनुभयो । कोभिडको असर बढिरहेको अवस्थामा त्यसबाट बचेर सामान आयात निर्यात गर्नका लागि पनि नयाँ प्रक्रिया अपनाइएको पनि शेर्पाले बताउनुभयो । 

कोभिडका कारण नेपाली व्यवसायीका ११ सय कन्टेनरभन्दा धेरै सामान चीनतर्फ नै अड्किएका छन् । ती सामानलाई पहिलो प्राथमिकतामा राखिएको शेर्पाले बताउनुभयो । चिनियाँ पक्षले ४० फीटको कन्टेनरको प्रयोग गर्न भनेपछि नेपालतर्फको बाटोका कारण भने समस्या परेको छ । नेपालतर्फको सडक बिग्रिएको अवस्थामा छ । तत्काल अरनिको राजमार्गको सुधार गर्नका लागि सरकारले योजना बनाउनुपर्ने व्यापारीहरुले बताएका छन् ।   

अन्तिम अपडेट: बैशाख १३, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया