‘मन्त्रिपरिषद् कागजरहित भयो, सिंहदरबार र बालुवाटारमा एक्सन रुम बनायौँ’

 मंसिर १३, २०७७ शनिबार १४:१२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल डिजिटल युगतर्फ अघि बढिरहेको बताउनुभएको छ ।

काठमाण्डाैमा भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले कोरोना महामारीपछि धेरै क्षेत्र ध्वस्त भए पनि डिजिटल अर्थतन्त्रको खोज र विकासमा सरकार र निजी क्षेत्र लागेको बताउनुभयो । कोरोनाले हरेक मानिसबीच दूरी बढाइदिएको समयमा डिजिटल कमर्श, डिजिटल पेमेन्टलगायतका पक्षहरु हामीलाई जोड्ने माध्यम बनिरहेका भन्दै प्रधानमन्त्री ओलीले नेपालको युवा जनशक्तिमा नवप्रवर्तनप्रतिको बढ्दो लगावले नेपालमा डिजिटल क्षेत्रको विकासमार्फत आर्थिक विकासलाई अगाडि बढाउन सकिने अझ बढी संभावना देखेको पनि बताउनुभयो ।

मन्त्रिपरिषदको बैठकलाई कागजको प्रयोगरहित अर्थात् पेपरलेस बनाएको, सिंहदरबार र बालुवाटारमा एक्सन रुमहरु स्थापना गरी भर्चुअल प्रविधि प्रयोगको शुरुवात र अभ्यास गरेको, सिंहदरबारबाट ७५३ स्थानीय तह, ७७ जिल्ला र ७ वटै प्रदेशका उद्घाटन, शिलन्यास, अन्तरक्रिया, समन्वयात्मक छलफल, परामर्श र सम्बोधन गर्न सकिने लगायतका प्रविधिको विकास भएको ओलीको दावी छ ।

सरकारले डिजिटल नेपालको अभियानअन्तर्गत सबै आर्थिक र गैरआर्थिक गतिविधिलाई डिजिटल माध्यममा रुपान्तरित गर्ने प्रयास गरिरहेको उहाँको भनाई छ । सरकारले पहिलो पटक डिजिटल नेपालको खाका तयार पारी ई–गभर्नेन्सका लागि नीतिगत आधार तयार गरी कार्यान्वयनमा ल्याइसकेको प्रधानमन्त्री अ‍ोलीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया