काठमाडाैँ महानगर र रामग्रामबीच भगिनी सम्बन्ध, डेढ करोड रुपैयाँ दिने विद्यासुन्दरको घोषणा

 मंसिर १४, २०७७ आइतबार १४:२३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाडाैँ महानगरपालिका र रामग्राम नगरपालिकाबीच अन्तरस्थानीय तह भगिनी सम्बन्ध स्थापना भएको छ । आपसी समन्वय, सहकार्य र साझेदारीमार्फत दुई नगरबीच अनुभव आदान–प्रदान गर्ने उद्देश्यले यी नगरबीच भगिनी सम्बन्ध स्थापना भएको हो ।

काठमाडाैँ  महानगरपालिकाका तर्फबाट प्रमुख विद्यासुन्दर शाक्य र रामग्राम नगरपालिकाका तर्फबाट प्रमुख नरेन्द्र कुमार गुप्ताले सहमति–पत्रमा हस्ताक्षर गरी दुई नगरहरुका बीच भगिनी सम्बन्ध स्थापना गरी मैत्रीपूर्ण तथा दिगो संस्थागत सम्बन्ध स्थापना गर्ने, संस्थागत प्रणालीलाई अझ सुदृढ र सबल बनाउने, आपसी हित र सहकार्यलाई बढावा दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नवलपरासी पश्चिम अन्तर्गतको रामग्राम नगरपालिकासँग भगिनी सम्बन्ध स्थापित गरेसँगै काठमाडौँ महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत रामग्राम नगरपालिकालाई धार्मिक तथा पर्यटकीय स्थलका रुपमा विकास गर्न ‘कोलिय शान्ति उद्यान’ निर्माणका लागि रु। १ करोड ५० लाख रकम दिने घोषणा गरेको छ ।

सम्झौता अनुसार निर्माण भएको ऐतिहासिक तथा पर्यटकीय कोलीय शान्ति उद्यानको प्रवेशद्वारमा र अन्यत्र उपयुक्त स्थानमा ‘काठमाडौँ महानगरपालिका र रामग्राम नगरपालिकाको साझेदारी कार्यक्रम अन्तर्गत निर्मित उद्यान’ उल्लेख गर्नुपर्नेछ । हस्ताक्षरपछि सम्बाेधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले बौद्ध दर्शका दृष्टिले काठमाडौं र रामग्रामका बीच गहिरो सांस्कृतिक सम्बन्ध रहेको स्मरण गराउनुभयो ।

उहाँले काठमाडौं पनि दक्षिण र उत्तर कोलियोग्राम रहेको भन्दै यहाँको कोलियग्रामका बीचमा विगतमा केही सम्बन्ध हुन सक्ने बताउनुभयो । रामग्रामका प्रमुख गुप्ताले विदेशी शहरसँगभन्दा आफ्नै देशका शहरसँगका सम्भावना र चुनौती दुवै मिल्दा हुने भएकोले विदेशी नगरसँगभन्दा देशभित्रकै नगरसँग स्थापना हुने भगिनी सम्बन्ध लाभदायी हुने विचार व्यक्त गर्नुभयो । उहाँले काठमाडौँ महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापित गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया