हेटौँडा अस्पतालमा आईसीयू र एचडीयूका १७ शय्या सञ्चालनमा

 मंसिर १५, २०७७ सोमबार १७:२०:१५ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मकवानपुरको एकमात्र सरकारी अस्पताल हेटौँडा अस्पतालले सोमबारदेखि थप सेवा दिन सुरु गरेको छ । अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) तथा उच्च उपचार कक्ष (एचडीयू) सञ्चालनमा ल्याइएको हो ।

आईसीयूका सात शय्या र एचडीयूका १० शय्या सोमबारदेखि सञ्चालनमा ल्याइएको हो । अस्पतालमा सोमबारबाटै चार वटा भेन्टिलेटर पनि सञ्चालनमा ल्याइएको छ । आईसीयू अभावका कारण हेटौँडाका निजी अस्पताल र भरतपुर रेफर हुँदै आएका बिरामीको अब भने हेटौँडा अस्पतालमा नै उपचार हुने भएको हो ।

दुवै कक्षको उद्घाटन गर्दै वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आठ वर्षअघि आईसीयू कक्ष सञ्चालन गर्ने सपना बल्ल पूरा भएको बताउनुभयो । एक जना मात्र डाक्टरले सञ्चालन गरेको इतिहात सम्झँदै मुख्यमन्त्री पौडेलले अब हेटौँडा अस्पतालमा स्वास्थ्य सेवा उच्च रहने बताउनुभयो । रेफर गर्ने र बदनामको रुपमा रहेको अस्पताल विभिन्न सेवा प्रदानपछि देशकै चर्चित अस्पतालको रुपमा चिनिने उहाँको भनाइ छ । 

कार्यक्रममा मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानका रजिस्ट्रार राजेश प्रसाईँले आईसीयु सञ्चालनपछि अब निकट भविष्यमा काइडोलोजी र प्याथोलोजी सेवा प्रदान गरिने बताउनुभयो । मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानका निर्देशक डाक्टर हरि खड्काले आर्थिक अवस्था कमजोर भएकाहरुको लागि आईसीयू कोष स्थापना गरी सेवा दिने बताउनुभयो ।

एक दिनको लागि एचडीयू शय्याको एक हजार पाँच सय, भेन्टिलेटरसहितको आईसीयूको चार हजार र विना भेन्टिरलेटरको आईसीयूको दुई हजार रुपैयाँ लाग्ने अस्पताल स्रोतले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया