स्वास्थ्य मापदण्ड पालना नगरे पालिकाले कारबाही गर्ने

 मंसिर १५, २०७७ सोमबार १९:७:३३ | सुजता सुनुवार
unn.prixa.net

इलाम – स्वास्थ्य कार्यलयले कोभिड लक्षित जारी गरेको स्वास्थ्य मापदण्ड पालना नगरे इलामको इलाम नगरपालिकाले सर्वसाधरणलाई कारबाही गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिने क्रम बढेसँगै पालिकाको आग्रह अटेर गर्नेलाई पालिकाले कार्वाही गर्ने भएको हो । 

हाटबजार, यातायात सञ्चालन भएकाले भिड बढ्ने क्रम जारी छ । भिड बढेसँगै जोखिम पनि बढिरहेको छ । हिँडडुलका क्रममा जारी गरिएका मापदण्ड सबै नागरिकलाई पालना गर्न पालिकाले सूचना जारी गरी आग्रह गर्दै आइरहेको पालिका प्रशासकीय अधिकृत राम शाहले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘पालिकाको आग्रहलाई अटेर गरे प्रचलित सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार कारबाही हुनेछ ।’ सङ्क्रमणको लक्षण देखिएमा स्वास्थ्यकर्मीसँग सल्लाह लिन, सङ्क्रमणको जोखिम छ भन्ने स्वास्थ्य कार्यालय र अस्पतालमा सम्पर्क गर्न पालिकाले आग्रह गरेको छ । 

जोखिमका आधारमा स्वाब सङ्कलन गरिएका सबै व्यक्ति आफ्नो परीक्षण रिपोर्ट नआएसम्मका लागि होम आइसोलेशनमा बस्न पालिकाले सबैलाई आग्रह गरेको छ । आइसोलेशनमा बसेको समय नियम पालन गरेर बस्ने र नियम थाहा नभए पालिकाको वडा कार्यलयमा सम्पर्क गर्न भनिएको छ । 

ऐनमा रोग नियन्त्रण ऐन २०२० अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्तिमाथि एक महिनासम्म कैद वा एक सय रुपैयाँ जरिबाना अथवा दुवै सजाय हुने व्यवस्था छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया