'विदेशमा विना तलब कहिलेसम्म काम गर्नु ?’

 मंसिर १६, २०७७ मंगलबार ११:२२:३० | मेरो कथा मेरो भोगाई
unn.prixa.net

राधिका (नाम परिवर्तन)/ हाल कुवेत ।

विना तलब, साहुको गाली सुन्दै काम गर्नुको पीडा कति हुन्छ, त्यो मलाई जति कसलाई थाहा होला ? बितेका एक वर्षदेखि म यही तितो अनुभव बटुलिरहेकी छु ।

म कुवेत आएको २८ महिना भयो । नेपालमै ब्युटीपार्लरको काम सिकेर यहाँ आएकी हुँ । सीप सिकेर जाँदा राम्रो काम पाइन्छ, दुःख हुँदैन भनेरै उतैबाट सीप सिकेर आएँ । सीप सिकेर आए अनुसार यहाँ पनि मैले ब्युटीपार्लर(सैलुन) मै काम पाएँ । काम भने अनुसारकै भए पनि मेहनत भने सोचेभन्दा बढी गर्नुपर्ने भयो ।

१२ घण्टासम्म काम गर्नुपर्ने । त्यति काम गरे पनि साहुबाट स्याबासी पाउनुको साटो गाली मात्रै पाउनुपर्ने अवस्था त छँदै थियो । त्यसैमा झन् पीडा बनेर आयो कोरोना महामारी । कोरोना सुरु भएदेखिको तलब दिएको छैन । सेवा सुविधाहरुको लागि पैसा दिँदैन ।

कम्पनीले बैंक कार्ड बनाएको छ, बनाएर पनि हामीलाई दिएको छैन । कम्पनीले नै राखेको छ । हामीलाई बैंक कार्ड किन नदिएको भन्दा अरुले नै चलाएको छ भन्छ । यत्रो लकडाउनमा ६, ७ महिना भयो हामीलाई पैसा दिएन ।

न्यूनतम तलब पनि दिएन, खान पनि पैसा दिएन । अरु कम्पनीमा न्यूनतम तलब त दिएको छ । सरकारले दिलाएको सेवा सुविधाबाट पनि हामी बञ्चित भयौँ । हामीले दूतावासमा उजुरी गर्दा त्यहाँको मान्छेसँग कुरा गर्दै कम्पनीको साहुको श्रीमतीले पचास साठी कुवेती दिनार महिनैपिच्छे दिने गरेको भन्ने रहिछन् ।

आफू काम गर्ने सैलुनको म्यानेजरसँग कुरा गर्दा उनीहरुले पनि केही गर्न सकिँदैन भन्छन् । त्यही साहूको धेरै वटा सैलुनहरु छन् । साहुको श्रीमतीको व्यवहारले सबै कामदारहरु पिल्सिएका छन् । केही भन्यो भने मुख छाडेर गाली गर्ने ।

लकडाउनभन्दा पहिलेको तलब पनि दिएको थिएन । हाम्रो त्यो पैसा देउ भन्दा पनि दिएनन् । गाली नै गर्यो, टाउको फुटाउँछुसमेत भने । तीन महिनापछि कराउँदा कराउँदा बल्ल हामीलाई १० कुवेती दिनार ल्याएर दियो । त्यो पैसाले के मात्र गर्नु ? त्यसपछि हामीले दूतावासलाई भन्यौं ।

दूतावासमा गएको थाहा पाए पनि गाली गर्छन् । जति काम गरे पनि काम गरेनन् नै भन्छन् । बिदा पनि दिएको छु भनेको रहेछ दूतावासलाई । अहिले पनि पैसा दिएको छु पनि भनेको छ । हामी आठ बजे आउँछौं, बेलुका ९ बजे डिउटी सकिन्छ । ग्राहक भए भने १० बजेसम्म पनि बस्नुपर्छ । जान चाहेकोलाई, दुई वर्षको रोजगार करार सकाएर जान दे न भन्दा पनि जान नदिने ।

म जानै दिन्न भनेर भन्ने । क्यान्सिल जान्छु भने पनि तीन महिनाको पैसा तिरेर जानुपर्ने भन्छ । एक जना दिदीले ‘मेरो पाँच महिनाको तलब देउ म तीन महिनाको पैसा पनि तिर्छु र घर पनि जान्छ’ भन्नुभयो । त्यो पनि हुँदैन भन्यो । अनि हुन्छ चाहिं के त ? केही गर्दा पनि नहुने । जे भने पनि नहुने ।

हामी घर फर्कन चाहन्छौं 

यो समय एकदमै कठिन छ । यहाँ चिनेका आफन्तहरुबाट सापट गरेर पेट भरिरहेका छौं । दूतावासमा घर जानको लागि फारम पनि भरियो, नाम पनि निस्क्यो । दूतावासमा जान नसकेपछि त्यो कुरा त्यत्तिकै स्थगित भयो । मेरो तलब एकसय ८० दिनार छ ।

हामीले काम गरेको पैसा दिएर हामीलाई घर फर्काइदिए हुन्छ । बरु हामीलाई बोनस लगायत कुनै सेवा सुविधा चाहिएन, तर काम गरेको पैसा भने हामी छोड्दैनौं । पासपोर्ट उसैले राखेको छ, त्यो चाहियो । दुःख गरेर झिकेको पासपोर्ट हो । यहाँबाट जान पनि पीसीआर र जहाजको टिकट चाहियो । मेरो कन्ट्याक्ट पनि सकिएको छ । तर पैसा भने दिएको छैन ।

हिजो देला नि त भन्यो तर दिएन । आज दिन्छ कि भन्यो दिँदैन । मेरो पैसा बाँकी छ । मार्चदेखि अगस्टसम्मको पैसा दिएको छैन । लकडाउनभन्दा अगाडिको पैसा पनि भ्याएको छैन । यस्तै पाराले लग्यो भने हामीले कसो गर्ने ? बरु अहिल्यै काम छोडेर जाऔँ, पछि एक वर्ष दुःख गरेर किन जाने त भन्ने हाम्रो भनाइ हो ।

छोडे पनि दुई तीन महिनाको तलब छोडिएला, नत्र त एक वर्ष दुःख गरेर कसरी छोडेर जाने ? एक महिनाको पैसा त चार महिनापछि दिन्छ भने यो चार महिनाको पैसा कहिले दिन्छ त ? यस्तै तरिकाले जाने हो भने त चार महिनाको तलब पाउन दुई वर्ष कुर्नुपर्छ ।

हाम्रो माग भनेको हामीले यत्रो समय दुःख गरेर बस्यौं, सकेसम्म हाम्रो दुःख गरेको पैसा दिओस् । होइन भने चारै महिनाको दिन सक्दैन भने पनि दुई महिनाको पैसा देओस् । तर हामीलाई घर पठाओस् भन्ने हाम्रो माग हो । यताको १८० दिनार भनेको हाम्रो नेपाली ८० हजार रुपैयाँ हुन्छ, त्यतिको पैसा त त्यतिकै छोडेर जान सकिँदैन नि त ।

हामीले एजेण्टलाई पटकपटक फोन गरेर तलब दिलाउनको लागि कुरा गरिदेउ भनेर भन्दै आएका छौं । तर उसले पनि कुरा सुन्दैन । अब हामीले श्रम नै नगरेर सित्तैमा मागेजस्तो देउ देउ भनेर कति भन्ने ?

आफूले श्रम गरेको पैसा पनि भिख मागेजस्तो गरेर कसरी माग्ने ? हामी त्यही श्रम बेच्न आएको त्यसकै पैसा पाइँदैन भने के खान बस्ने यो देशमा ? तिमीहरु नेपाल गएर के गर्छौ भन्थ्यो, मैले त भन्दिएको, ‘नेपालमा केही काम नपाएर यहाँ आएको होइन, भनेर ।’ हातमा सीप छ केही त गरेर खाइहालिन्छ नि !

अन्तिम अपडेट: मंसिर १९, २०७७

तपाईको प्रतिक्रिया