नेकपा सचिवालय बैठक आज पनि बस्ने, ओली सहभागी नहुने

 मंसिर १७, २०७७ बुधबार ७:५३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज पनि बस्दै छ ।

दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी नहुने बुझिएको छ । हिजोको सचिवालय बैठकमा नै बैठक बसिरहनुको औचित्य नरहेको भन्दै उहाँले आजको बैठकमा सहभागी नहुने जानकारी गराउनुभएको थियो । बैठकमा हिजोदेखि दुई अध्यक्षको प्रतिवेदनमाथि औपचारिक छलफल सुरु भएको छ ।

मंसिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कात्तिक २८ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि औपचारिक छलफल सुरु भएको हो। बैठकमा अध्यक्षद्वयले आ-आफ्नो धारणा राखेपछि औपचारिक छलफल सुरु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

आजको बैठक बस्नुअघि नेताहरुबीच अनौपचारिक छलफल पनि हुने उहाँले बताउनुभयो । यस्तै स्थायी कमिटी बैठक पूर्वनिर्धारित समयमै हुने पनि प्रवक्ता श्रेष्ठले बताउनुभएको छ । यसअघि नै मंसिर १८ गते अर्थात भोलिका लागि बैठकको मिति तय भएको पूर्वनिर्धारित मितिमै बैठक बस्ने उहाँको भनाइ छ । कार्यकारी अध्यक्षको प्रस्तावलाई लिएर ओली असन्तुष्ट बन्नुभएको छ ।

प्रस्ताव फिर्ता नलिएसम्म बैठक बस्नुको औचित्य नभएको ओलीले बताउँदै आउनुभएको छ भने प्रस्तावबारे निर्णय गर्ने अधिकार पार्टी बैठकको रहेकोले फिर्ता नगर्ने अडान प्रचण्डको छ । सबै समस्याको समाधान बैठकमार्फत खोज्नुपर्नेमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल,बामदेव गौतमलगायत सचिवालय सदस्यहरुको अडान रहेको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया