महिला श्रमिकलाई परदेशमा हिंसा र दुर्व्यवहारबाट बचाउन राज्यले पहिलो कदम चाल्नुपर्छ

 मंसिर १७, २०७७ बुधबार ९:२८:० | मञ्‍जु गुरुङ
unn.prixa.net

महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाइरहेका छौं । आज पनि रोजगारीका लागि विदेश पुगेका नेपाली महिलाहरु त्यहाँ पुगेपछि विभिन्न हिंसा र दुर्व्यवहार भोग्न बाध्य छन् । विदेश पुगेपछि श्रमिकले भोगेका समस्याहरु अनगिन्ती छन् ।

भनेको बेलामा तलब नपाउनु, जुन यहाँ भनेको काम थियो त्यो काम नहुनु, तोकिएको अनुसारको देश नै नहुनु, एक देश भनेर अर्को देशमा लैजानु लगायतका धेरै समस्या छन् ।  लामो समयसम्म काम गर्नुपर्ने श्रम शोषण, आर्थिक शोषण, यौनजन्य हिंसा लगायतका समस्या धेरै महिलाहरुले भोगिरहेका छन् । 

पछिल्लो समय कोरोनाको कारण देशको आधारमा, लिंगका आधारमा विभिन्न विभेदहरु भएको  छ । राष्ट्रियताको आधारमा गरिब देशका नागरिकलाई हेर्ने दृष्टिकोण नै फरक भएको पाइएको छ । स्वास्थ्य सेवाको पहुँच, सूचनाको पहुँच नभएको लगायत श्रमिकहरुको गुनासो छ । 

माइती दह्रो भए घरकाले हेप्दैनन्

नेपाली समुदायमा एउटा उखान छ नि माइती दह्रो भयो भने घरकाले हेप्दैनन् भन्ने । हो हाम्रो नागरिकले परदेशमा दुःख भोग्नुको पछाडि यो भनाइ ठ्याक्कै मिल्छ । राज्यले महिला श्रमिहरुलाई हेर्ने दृष्टिकोण र उनीहरुको समस्यालाई सम्वेदनशील र प्राथमिकीकरण गरेर सम्बोधन नगर्दा उब्जिएको समस्या हो ।

महिला भएकै कारणले नेपालभित्र नै विविध समस्या भोग्न बाध्य छन् । एक हिसाबले दोस्रो दर्जाको नागरिक भएर बस्नुपर्ने बाध्यात्मक अवस्था छ । यहाँ विभेद लिंगको आधारमा, वर्गको आधारमा, जातीयताको आधारमा, भौगोलिकताको आधारमा, दर्शनको आधारमा, संस्कृतिको आधारमा हुने गरेका छन् । परदेश पुगेपछि हुने समस्या त परिणाम मात्र हो । समस्या त नेपाल भित्रै छ, जसको परिणाम विदेश गएपछि निस्किएको हो ।

आजकै दिनमा पनि ६ देखि ७ जना महिला तथा बालबालिका बलात्कृत भइरहेको तथ्याँक बाहिर आइरहेको छ । विभिन्न हिंसाकै कारणले आत्महत्या गर्नुपर्नेसम्मको अवस्था आएको छ । यसको पछाडि चाहिँ महिलालाई हेर्ने दृष्टिकोण र व्यवहार हो ।

कस्ता महिला त्यो काममा जान तयार भएका छन् या उनीहरुलाई कसरी तयार पार्ने त ? भौतिक रुपले, आत्मिक रुपले र मानसिक रुपमा पनि तयार पारेर पठाउन आवश्यक छ । 

यस्तो हुन नदिन सबैभन्दा पहिला त सरकारले नै कदम चाल्नपुर्छ । विश्व श्रम बजारमा कस्तो किसिमको माग छ र कुन बाटो हुँदै कसरी  जान्छन् भन्ने कुराको अध्ययन गर्नुपर्छ । हामीसँग कस्तो श्रमिकहरु छन् र उनीहरुलाई कस्तो ठाउँमा पठाउनुपर्छ भनेर विचार गरेर अध्ययन गर्नुपर्छ ।

अर्कोकुरा बर्सेनि श्रम बजारमा आउने युवाको व्यवस्थापनाका लागि हाम्रो योजना के छ ? त्यसतर्फ पनि सोच्नुपर्छ । रोजगार  नीति कसरी बनाइएको छ, त्यो रोजगार नीतिमा पनि लैङ्गिक मैत्री र महिला मैत्री छन् छैन हेर्न आवश्यक छ भने वैदेशिक रोजगारीको कुरा गर्दा कुन देशमा हाम्रो महिला कामदारहरुको कस्तो किसिमको काममा माग भएको छ भनेर विश्लेषण गर्न आवश्यक छ ।  

कस्ता महिला त्यो काममा जान तयार भएका छन् या उनीहरुलाई कसरी तयार पार्ने त ? भौतिक रुपले, आत्मिक रुपले र मानसिक रुपमा पनि तयार पारेर पठाउन आवश्यक छ । 

अर्को महत्वपूर्ण कुरा भनेको चाहिँ हाम्रो सरकारले श्रमिक पठाउने देशसँग श्रम समझदारी गर्नुपर्‍यो । दुईपक्षीय श्रम सम्झौताहरु गर्नुपर्छ । कम्तिमा पनि आईएलओको ८ वटा सिद्धान्त र मानवअधिकारको आधारभूत सिद्धान्तलाई अङ्गिकार गर्न आवश्यक छ । कुनै पनि देशमा हाम्रो नागरिक जाँदा मानवअधिकारको सामान्य अधिकार पनि प्राप्त हुन्छ कि हुँदैन भन्ने जस्ता कुराहरुमा ख्याल गर्न आवश्यक छ ।

गन्तव्य देशमा हाम्रो कुटनैतिक नियोग चुस्त दुरुस्त हुन आवश्यक छ । कुटनैतिक नियोगको पनि सशक्तिकरण र सबलीकरण गर्न आवश्यक छ । कतिपय अवस्थामा हामीले भोगेका समस्यालाई विष्लेषण गर्दा समस्यमा पर्दा दूतावासले सहयोग गरेन भन्ने कामदारको गुनासो छ ।

नियोगहरु किन त्यस्तो निराशावादी भए ? उनीहरुले किन काम गर्न सकेन भनेर हेर्न जरुरी छ । हाम्रो दूतावासमा जम्मा एक जना कर्मचारी श्रमिकको सेवामा खटिएका हुन्छन् । उनीहरुले कतिलाई सहयोग गर्ने ? सरकारले श्रमिकको सङ्ख्याको आधारमा दूतावासहरुको क्षमता अभिवृद्धिमा पनि लाग्न आवश्यक छ । 

अर्को कुरा भनेको कामदारको न्यूनतम तलबदेखि आधारभूत स्वास्थ्यदेखि सामाजिक सुरक्षाको प्रत्याभूत हुनेगरी श्रम सम्झौता हुनु पर्‍यो । 

वैधानिक बाटो बन्द गर्दा अवैधानिक बाटो रोजे

अहिले विदेशमा गएर श्रमिकहरु हिंसामा पर्नुको पछाडिको एउटा कारण सरकारले नै वैधानिक बाटो बन्द गर्नु हो । वैदेशिक राजगार ऐन २०६४ ले के भनेको छ भने लिंगको आधारमा कुने पनि श्रमिकलाई विभेद गरिने छैन, गर्न हुँदैन भनेर दफा ८ मा उल्लेख गरेको छ । तर व्यवहारमा त्यसो भएको छैन ।

व्यवहारमा के छ भने महिला भएकै कारण महिला कामदारलाई विभेद गरिएको छ  । नेपालबाट जाने अधिकांश महिला कामदारहरु चाहिँ घरको काममा जानुभएको छ । तर उहाँहरुलाई प्रतिबन्ध लगाएको छ । जसको कारण महिलाहरु लामो समयदेखि दोस्रो बाटो अबलम्बन गरेर गइरहनुभएको छ । यो बाध्यात्मक अवस्थाको कारण महिलाहरु बेचबिखनमा, मानव तस्करीमा पर्ने उच्च जोखिम रहेको छ । 

समय समयमा त्यसरी भारत लगायत विभिन्न बाटो हुँदै परदेश हिँडेकालाई सरकारले उनीहरुको इच्छा विपरीत फर्काएर पनि ल्याएको छ । नेपाल सिडको पक्ष राष्ट्र भैसकेकोे छ । नेपालको संविधानले पनि रोजगारीको हक प्रत्याभूत गरेको छ ।

व्यक्तिले आफ्नो पेशा रोजगारी चयन गर्न पाउने अधिकार छ । हामी अधिकारमुखी पद्धतीबाट काम गर्छौं । तर राज्यले जहिले पनि सुरक्षामुखी कल्याणकारीमुखी पद्धतीबाट काम गरिरहेको हुन्छ । कल्याणकारीमुखी पद्धती कहिलेकाहीँ राम्रो हो । यसले पनि हित नै गर्छ ।

नेपालको संविधानले पनि रोजगारीको हक प्रत्याभूत गरेको छ ।

तर सुरक्षामुखी कुराले मानिसको अधिकारलाई कुन्ठित पार्छ । जस्तै एउटा महिलाले महिला भएकै कारण पुरुष सरह अधिकारहरु उपभोग गर्न नपाउने अवस्था छ भने विभागबाट ससम्मान श्रम स्वीकृति लिएर जान पाउने अवस्था अहिले पनि छैन । 

यसले गर्दा कतिपय महिलाहरु अनागरिक हिसाबले जोखिम मोलेर विदेश गइरहनुभएको छ । जोखिम दोब्बर भइरहेको छ । उहाँहरुले गन्तव्य देशमा पुगेपछि पनि धेरै समस्या भोग्नुपर्ने कारण पनि यही हो । धेरै महिलाहरु सरकारबाट पाउने सेवा सुविधाबाट पनि बञ्चित भइरहनुभएको छ ।

जस्तै वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम तिरेर गएमा मृत्यु भएको खण्डमा, अलपत्र परेको खण्डमा, बिरामी भएको खण्डमा, अंगभंग भएको अवस्थामा जुनसेवा वैदेशिक रोजगार बोर्डबाट पाइन्छ त्यसबाट बञ्चित हुन परेको छ । यहाँ फर्किएकाको सीप परीक्षण गर्ने लगायत विभिन्न पुनःएकीकरणको कार्यक्रम छ । तर कुनै पनि महिलाहरुले यो सेवा सुविधा उपभोग गर्न पाउनु भएको छैन ।

विदेश जाने सोचमा हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुहोस् :

कोही पनि महिला श्रमिकले परदेश जाने सोचमा हुनुहुन्छ भने चाहिँ मेरो संस्था पौरखी नेपालमा सम्पर्क गर्नुहोस् । यो वैदेशिक रोजगारीबाट फर्किएर महिला श्रमिकहरुले खोलेको संस्था हो । यो संस्थाले हटलाइनको व्यवस्था गरेको छ । ९८४९१३५२०६ नम्बरमा फोन गरेर आफूलाई चाहिने सही सूचना र जानकारी लिन सक्नुहुन्छ । जुनै पनि बेला सूचना लिन सक्नुहुन्छ ।

हामीसँग धेरै जना विदेशमा घरेलु श्रमिकको रुपमका काम गरेर फर्किएर हामीसँग आवद्ध भएर स्वयमसेवकको रुपमा काम गरिरहनुभएको छ । जानुपूर्व म कहाँ जाँदै छु, के कामका लागि जाँदैछु, त्यहाँ गएर मैले के काम गर्नुपर्छ, त्यहाँ गएर समस्या भयो भने मैले कहाँ कसलाई सम्पर्क गर्ने, मेरो जाने प्रक्रिया के हो, मेरो वैधानिक कागजात के छ, अधिकार कर्तव्य के हो भनेर बुझेर, मैले त्यहाँ गएपछि कस्तो भाषा, संस्कृति, कस्तो रहनसहन भएको ठाउँमा के काम गर्नुपर्छ भनेर बुझ्न आवश्यक छ । त्यहाँको धर्म, संस्कृति के हो त्यसलाई मैले कसरी सम्मान गर्नुपर्छ भन्ने कुरा पूर्ण रुपमा बुझ्न पर्छ । 

मलाई केही भयो भने, म अप्ठेरोमा परे भने के गर्नुपर्छ भनेर थाहा चाहिँ पाउन आवश्यक छ । यस्ता कुरा चाहिँ जानुअघि नै जान्न आवश्यक छ । 

जाँदा आफ्नो पासपोर्ट, आफ्नो करार सम्झौता लगायतका कागजातको फोटोकपी चाहिँ आफ्नो घरमा अलिकति बुझेको जानेको मानिसलाई दिएर जानुपर्छ । जहिले पनि निरन्तर आफ्नो परिवार र आफूले विश्वास गेको मानिसलाई आफ्नो अवस्था बारेमा जानकारी दिनुपर्छ ।

आफ्नो बारेमा जानकारी गराइरह्यो भने उद्धार गर्न पनि सजिलो हुन्छ । अहिले हामीले उद्धार गर्ने क्रममा कस्तो समस्याहरु आइदिन्छ भने हामीसँग केही पनि आधार हुँदैन । न पसापोर्ट नम्बर, न फोन नम्बर, न कुन देश हो भन्ने जानकारी यस्तो हुँदा उद्धार गर्न एकदमै समस्या हुन्छ । कतिपय महिला दिदीबहिनीलाई त यस्तोसम्म हुन्छ कि आफू कुन देशमा कुन सहरमा छु भन्नेसम्म पनि थाहा हुँदैन । यस्तो अवस्थामा उद्धार गर्न एकदमै कठिन हुन्छ ।

 त्यसकारण मलाई केही भयो भने, म अप्ठेरोमा परे भने के गर्नुपर्छ भनेर थाहा चाहिँ पाउन आवश्यक छ । यस्ता कुरा चाहिँ जानुअघि नै जान्न आवश्यक छ । 

अनि अर्को कुरा तपाईँहरुले विदेश जानुअघि नै मैले विदेश गएर कमाएको पैसा फर्किएपछि कहाँ लगानी गर्छु, मेरो उदेश्य के हो भनेर योजना बनाएर जान आवश्यक छ । यति भयो भने तपाईँले परदेशमा कमाएको रकमको सही सदुपयोग र सही ठाउँमा लगानी पनि हुन्छ ।

(गुरुङसँग कार्यक्रम देश परदेशका लागि सन्जिता देवकोटाले गर्नुभएको कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: मंसिर १९, २०७७

मञ्‍जु गुरुङ

मञ्‍जु गुरुङ पौरखी नेपालकाेसहसंस्थापक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया