बुझेर आउनुहोस्, खाडीमै पनि सम्भावना प्रशस्त छन्

 मंसिर १७, २०७७ बुधबार १५:४४:४६ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

आगन्तुक खरेल,ब्युटीपार्लर व्यवसायी, यूएई ।

मानिसपिच्छे परदेशिनुको कारण फरक फरक हुन्छ । कोही दुःख पार लगाउन परदेशिन्छन् त कोही सुन्दर भविष्यको कल्पनामा । म परदेशिनु पनि एक परिस्थिति थियो । नेपालमा भूकम्प गयो । नेपालमा गरिरहेको व्यवसायमा त्यसको धक्का लाग्यो ।

त्यसको असर परिवार र सानी छोरीमा पनि पर्यो । अनि म र मेरो श्रीमानले यूएई आउने निधो गर्यौं । त्यति लामो समय बसिएला भन्ने त थिएन त्यो बेलामा । करिब दुई वर्ष उतै बसौं भनेर हामीले सुरुमा योजना बनाएका थियौं । तर यहाँ आएपछि परिस्थिति फरक भइदियो । यहाँको वातावरणले हामीलाई लोभ्यायो ।

खाडीको देशमा के होला कसो होला भन्ने नभएको हैन । तर यहाँ पनि  गर्न सक्ने कुराहरु धेरै रहेछन् । 

मेरो यहाँ ब्युटीपार्लर व्यवसाय छ । राम्रो चलिरहेको छ । आफूले आफ्नो काम राम्रो गरेपछि भगवानले पनि हेर्छन् । तर त्यसो भन्दैमा सबै यसै हुन्छ भन्ने होइन । सबैभन्दा ठूलो कुरा लगनशील हुनुपर्छ । मैले पनि ठूलो मेहनतले नै यो व्यवसाय खडा गरेको हुँ ।

यहाँ म आफू मात्र होइन, अरुलाई पनि काम दिन पाएको छु । मैले नेपाली र फिलिपिन्सका नागरिकलाई काम दिएको छु । मलाई चाहिँ के लाग्छ भने, चाहे आफ्नै देशमा गर्नुस् या बाहिरको देशमा गएर गर्नुस्, कुनै पनि काम सजिलो छैन । पहिले म संगितको क्षेत्रमा थिएँ, त्यहाँ पनि कतिपय तनावका कुराहरु हुन्थें । काम गाह्रो त हुन्छ, तर त्यसलाई कसरी सजिलो बनाउने भन्ने कुरा आफ्नो हातमा हुन्छ । नेपालबाट यहाँ आएर काम गर्न मलाई खासै समस्या त भएन । मेरो श्रीमान् पनि सपोर्ट गर्नुहुन्छ, हामी परिवार नै साथमा भएका कारण खासै समस्या भने भएन । भएका अप्ठेरालाई पनि हामी मिलेर नै पार लगाउँछौं ।

जहाँ पुगे पनि आफ्नो धरातल बिर्सन हुँदैन

संसारको जुन कुनामा जुन पदमा पुगे पनि हामीले आफ्नो धरातल बिर्सन हुँदैन । आफू कुन देशबाट आएको, आफ्नो संस्कार के हो भन्ने कुरा यदि बिर्सिनुभएको छैन भने खाडीमा तपाईंले धेरै कुरा गर्न सक्नुहुन्छ । तर यहाँ आइसकेपछिको समस्या भनेको यहाँ धेरै कुराले परिवर्तन गरिरहेको हुन्छ, त्यसले गर्दा आफू को हुँ, कहाँबाट आएको हुँ भन्ने कुरा बिर्सने कारण पनि समस्या हुने गर्दछ ।

परदेश आइपुगेपछि समस्यामा पर्ने कारण एक मात्र छैन । तर पहिलो कारण हामी आफैं हौं । किनभने हामी आफैं परदेशका बारेमा शिक्षित नभइ आउँछौं ।

सरकारले पनि  आफ्नो नागरिकलाई विदेश पठाउनुभन्दा पहिले राम्रोसँग दक्ष बनाएर पठाउँदैन । के कामको लागि जाँदैछु, किन जाँदैछु भन्ने पनि थाहा हुँदैन । गाउँको १८ वर्षको एउटा केटीलाई ल्याएर अर्काको देशमा कसैको घरमा लगेर राखिन्छ । उसलाई न त यहाँको भाषा नै थाहा हुन्छ, न त अंग्रेजी नै बोल्न आउँछ, न अरेबिक । केही हुँदा उसले आफ्नो कुरा राख्नसमेत सक्दैन । समस्याको मुख्य जड यही हो । त्यसैले यसबारेमा सरकार र जो परदेश आउँदै हुनुुहन्छ उहाँहरुले सोच्न आवश्यक छ  ।

यही देशमा विश्वका कति देशबाट आएर काम गरिरहनुभएको छ । हाम्रै देशकोभन्दा अरु देशबाट आएका नागरिकले किन बढी तलब पाउँछन् भन्दा उनीहरुको हातमा सीप र साथमा ज्ञान हुन्छ । सरकारले नै तालिम दिएर पठाएको छ । समस्या यहाँ आउने श्रमिकको होइन, नेपाल सरकारको र म्यानपावरको हो । म्यानपावरले बढी पैसा लिइदिने । यहाँ आएर सात आठसयमा काम गर्नुपर्ने, त्यही पनि नराम्रो काम गर्नुपर्ने । त्यसरी त उसले कहिले ऋण तिर्ने ? कहिले पैसा कमाउने ? 

यहाँ आउने नेपालीहरुलाई सामान्य तालिम पनि दिएको हुँदैन । ओभन चलाउन आउँदैन, वासिङ मेशिन पनि चलाउन आउँदैन । घरेलु काममा आउनेले त्यो चलाउन नजान्दा घरमा गाली खानुपर्छ ।

सरकार वा म्यानपावरले आफूले पठाउने मान्छेलाई किन यस्ता कुराहरु सिकाएर पठाउँदैन ? नेपालमा एक्लै बसेको मान्छेलाई यहाँ आएर ४, ५ जना बच्चा स्याहार्न लगाइन्छ, अनि कसरी उसलाई सजिलो होला ?

मलाई पनि पहिला देश विदेशमा कार्यक्रम गरेर हिँडिरहेको मान्छे यहाँ आएर बस्नुपर्दा त्यतिबेला अर्कै महसुस हुन्थ्यो । जबकी म आफ्नो खुट्टामा आफैं उभिन सक्ने थिएँ । मेरो भविष्य खै त ? भन्ने प्रश्न आउँथ्यो मनमा । अहिले म मेरो संगीत यात्रालाई पनि निरन्तरता दिइरहेकी छु ।

मेरो एल्बम आउँदै थियो, कोरोनाको कारणले त्यो रोकिएको छ, अब बिस्तारै आउँछन् । पछिल्लो समय नेपाल गएर तीजको गीत निकालेको थिएँ । तर अहिले पहिलाको जस्तो संगीतमा सबै समय दिन सक्दिनँ । अहिले मसँग बच्चा छ, आफ्नो व्यवसाय पनि छ । यसैमा रमाइरहेको छु । 

अन्तिम अपडेट: पुस २१, २०७७

तपाईको प्रतिक्रिया