यसरी सुरु भयो तनहुँमा पुलमाथिको राजनीति

 मंसिर १८, २०७७ बिहिबार ११:४७:३४ | समुद्र पौडेल
unn.prixa.net

तनहुँ - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुधबार गृह जिल्ला तनहुँमा पुल उद्घाटन गर्न पुग्दा प्रहरीले नियन्त्रणमा लियो । जिल्ला प्रशासन कार्यालय तनहुँको निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै पक्राउ परेका वरिष्ठ नेता पौडेललाई बुधबार साँझ नै प्रहरीले छोडेको छ ।

सदरमुकाम आडैको व्यास १, १० र ११ जोड्ने तालघारी-दुम्सीचौर पोख्रेलफाँट मोटरमार्ग अन्तर्गतको बुल्दी खोला पुल उद्घाटनका लागि उपभोक्ता समितिले पौडेललाई आमन्त्रण गरेको थियोे । तर पुल उद्घाटनको विषयमा विवाद बढेपछि जिल्ला पूर्वाधार विकास कार्यालयले मंगलबार पुलको उद्घाटन रोक्न जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयले बुधबार नै उपभोक्ता समितिलाई पुलको उद्घाटन रोक्न पत्राचार गरेको थियो । तर जिल्ला प्रशासन कार्यालयको पत्रलाई बेवास्ता गर्दै उपभोक्ता समितिले पौडेललाई पुल उद्घाटनको लागि बोलायो । पौडेल पनि प्रशासनको आग्रह विपरीत पुल उद्घाटन गर्न पुग्नुभयो ।

पुलको उद्घाटन रोक्न माग गर्दै नेकपा समर्थित राष्ट्रिय युवा संगठनले बुधबार मोटरसाइकल र्यालीसहित विरोधका कार्यक्रम तय गरेपछि जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले पुल आसपासको क्षेत्रमा बिहान १२ बजेदेखि साँझ ६ बजेसम्मको लागि निशेषाज्ञा जारी गर्नुभएको थियो । 

प्रमुख जिल्ला अधिकारी आचार्यले भन्नुभयो, ‘सम्बन्धित कार्यालयले उद्घाटनको कार्यक्रम रोक्न अनुरोध गर्दै पत्राचार गरेपछि हामीले समितिलाई पत्राचार गरेर उद्घाटन नगर्न अनुरोध गरेका हौं ।’ स्थानीय विकास मन्त्रालयमार्फत २०७३ वैशाखमा बुल्दी खोला पुलको सम्झौता भएपछि पुलको निर्माण कार्य अघि बढेको तालघारी-दुम्सीचौर-पोख्रेलफाँट मोटरमार्गका अध्यक्ष खड्गबहादुर अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पुलको दुईतर्फी खण्डमा कालोपत्रे नभएका कारण पुलको उद्घाटन अहिलेसम्म नगरिएको हो ।’

४५.६ मिटर लामो पुलको सूर्य एण्ड सन्स निर्माण कम्पनीले २ करोड ५४ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरेको थियो । २०७५ कात्तिक ९ गते पुलको निर्माण सम्पन्न भएपछि पुल सञ्चालनमा आइसकेको छ। 

स्थानीय विकास मन्त्रालयबाट निर्माण भएको पुल मन्त्रालयले साविक जिल्ला प्राविधिक कार्यालय तनहुँ (अहिलेको जिल्ला पूर्वाधार विकास कार्यालय) लाई जिम्मा लगाइएको थियो । पूर्वाधार विकास कार्यालयले जिल्ला समन्वय समितिलाई सुम्पेको थियो । 

समितिको मंसिर १४ गते बसेको बैठकको निर्णय अनुसार नै पुल उद्घाटनका लागि कांग्रेस नेतालाई आमन्त्रण गरिएको समितिका अध्यक्ष अधिकारीले बताउनुभयो । ‘पुलको लागि डेलिकेशन जाने क्रममा नेता पौडेलले नै हामीलाई लिएर स्थानीय विकास मन्त्रालयमा जानु भएको थियो’, उहाँले भन्नुभयो, ‘त्यही योगदानलाई सम्झँदै समितिले नेता पौडेलबाट उद्घाटन गर्ने सर्वसम्मत निर्णय गरेको हो ।’

मंसिर १७ गते पुल उद्घाटनका लागि मंसिर १४ गते निर्णय गरेको समितिले मंसिर १६ गते जिल्लाका कार्यालयलाई पत्राचार गरेर निमन्त्रणा गरेको थियो । ‘नेकपा पार्टी कार्यालयमा समेत हामीले उपस्थितिका लागि पत्राचार गरेका थियौँ,’ अधिकारीले भन्नुभयो, ‘पूर्व सभामुखसमेत रहेका रामचन्द्र पौडेल आउने कार्यक्रममा सांसद किसान श्रेष्ठ आउनु हुन्न भनेर खबर गरेनौँ ।’ अरु सांसदहरुलाई पनि पत्राचार नगरेको समितिले जनाएको छ । 

‘समितिले नेता पौडेलको उपस्थितिमा पुल उद्घाटन गर्ने निर्णय गरिसकेकाले यो निर्णयबाट पछि हट्न मिल्दैन,’ अधिकारीले भन्नुभयो ‘पौडेलबाटै उद्घाटन हुन्छ, हिजो नभए आज हुन्छ, आज नभए भोलि ।’ उद्घाटनका लागि समिति जुनसुकै समय पनि तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । 

उपभोक्ता समितिलाई पुल उद्घाटन गर्ने अधिकार भएकोले समितिको निर्णय अनुसार नै पुलको उद्घाटन गरिने समितिका सचिव गणेशकुमार विकले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाटोको सामाजिक काम भएकाले सर्वसम्मतमा निर्णय गरेका हौं ।’ 

बुधबारको विवादपछि नेपाली कांग्रेस तनहुँले विज्ञप्ति जारी गर्दै बिहीबार पुल उद्घाटन गर्ने कार्यक्रम तय गरेको छ । पुल उद्घाटन कार्यक्रमका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेल, आमन्त्रित सदस्य ध्रुव वाग्ले लगायतका नेता आउने कार्यक्रम तय भएको छ ।

पुल उद्घाटन विवादको सुरुवात

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मंगलबार व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने मोटर पुलको उद्घाटन गरेसँगै  कांग्रेस र नेकपा कार्यकताबीच विवाद बढेको हो । सडक डिभिजन दमौली तनहुँले निर्माण गरेको १ सय ५ मिटर लामो यो पुल व्यास नगरपालिका र ऋषिङ गाउँपालिकाको आयोजनामा उद्घाटन गरेपछि नेकपा तनहुँले आपत्ती जनाएको थियो । 

राजनीतिक विवाद सुरु भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले व्यास नगरपालिकालाई पुलको उद्घाटन कार्यक्रम रोक्न पत्राचार गरे पनि नगरपालिकाले नेता पौडेलको प्रमुख आतिथ्यतामा मंगलबार पुलको उद्घाटन गराएको थियो । 

२०७७ वैशाख ३० गते निर्माण सम्पन्न भएको पुल ९ करोड ५१ लाख ४४ हजार ३ सय ९६ रुपैयाँको लागतमा एडभेन्चर कन्स्ट्रक्सन कम्पनी प्रा.लि.ले निर्माण गरेको थियो । जिल्ला प्रशासन कार्यालयले उद्घाटन नगर्न पत्राचार गरे पनि मंगलबार पौडेलले पुल उद्घाटन गर्नुभयो । यसबाट रुष्ट भएका नेकपा कार्यकर्ताले बुधबार अर्को पुल उद्घाटन कार्यक्रम कुनै हालतमा हुन नदिने अडान लिए । 

दुई पक्षबीच तनाव बढ्ने अवस्था देखेर जिल्ला प्रशासन कार्यालयले बुधबार निषेधाज्ञा लगायो । तर निषेधाज्ञाकै बीच पुल उद्घाटन गर्ने पौडेलको प्रयासले बुधबारको घटना भएको प्रशासनको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

समुद्र पौडेल

समुद्र पौडेल तनहुँका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया