हिजो तनावपूर्ण बनेको तनहुँ आज शान्त, सयौँ कार्यकर्तासहित नेता रामचन्द्र पौडेलद्वारा पुलको उद्घाटन

 मंसिर १८, २०७७ बिहिबार १४:५५:३८ | समुद्र पौडेल
unn.prixa.net

तस्बिर : शैलेन्द्र मिश्रकाे ट्विटरबाट

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिकाको १, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल उद्घाटन गर्नुभएको छ ।

बुधबार (हिजो) प्रहरीले पक्राउ गरेर तीन घण्टा हिरासतमा राखे पनि पौडेलले बिहीबार (आज) पुल उद्घाटन गरेरै छाड्नुभएको हो । पौडेलसहितका जिल्ला नेता र सयौँ कार्यकर्ता सरकारविरुद्ध चर्को नाराबाजी गर्दै बुल्दी खोलामा पुगेका छन् ।

अहिले पुलको नजिकै आमसभा भइरहेको छ, सभालाई वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पुल निर्माण गरेको निकायले उद्घाटनमा रोक लगाउन माग गर्दै जिल्ला प्रशासनलाई पत्र लेखेपछि प्रशासनले बुधबार पुल उद्घाटनमा रोक लगाएको थियो । तर कांग्रेस वरिष्ठ नेता पौडेलले जसरी पनि पुल उद्घाटन गरेरै छाड्ने अडान लिएपछि बुधबार अवस्था तनावपूर्ण बनेको थियो, प्रशासनले दिउँसो १२ देखि बेलुकी ६ बजेसम्म निषेधाज्ञा नै जारी गरेको थियो । निधेषाज्ञा तोडेर पुल उद्घाटनको तयारी भए पनि नेता पौडेल पक्राउ पर्नुभएको थियो ।

स्थानीय विकास मन्त्रालयमार्फत २०७३ वैशाखमा सम्झौता भएर २०७५ कात्तिक ९ गते निर्माण सम्पन्न भएको पुल निर्माणमा आफूहरुको महत्त्वपूर्ण हात रहेको दाबी गर्दै नेपाली कांग्रेस र नेकपाका नेताहरुबीच विवाद बढेको हो ।   

अन्तिम अपडेट: चैत १२, २०८०

समुद्र पौडेल

समुद्र पौडेल तनहुँका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया